बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आईजी सिंहले नै टाल्न सुरू गर्नुपर्छ बे(थिति)का प्वालहरू

विनोद ढकाल २०७९ साउन ५ गते ११:३४

जागिरे जीवनका उत्तरार्धतिर आएपछि मानिसहरू कसरी समय बिताउने भन्ने परिकल्पनामा रुमल्लिने गर्छन्। उल्लासका बर्षहरू सम्झन्छन् र ‘रिफ्रेसमेन्ट’मा रमाउँछन्।

अहिले बेलायतमा रहनुभएका तर नेपाल प्रहरीमा हालका प्रहरी महानिरिक्षक धीरजप्रताप सिंहलगायतको नै ब्याची शिवजी श्रेष्ठले संगठनभित्रका कतिपय बे(थिति)का विषयमा कलम चलाउँदै आउनुभएको छ। उहाँ काठमाडौं उत्रिएको बखत नै होला आफ्ना ब्याचीसँगको मधुर भेट गरेको तस्बिर सामाजिक सञ्जालमा राख्नु भएको थियो, केही बर्षअघि।

केही दिनअघि मात्र नेपाल प्रहरीका एक जना प्रहरी उपरिक्षक (एसपी)ले सामाजिक सञ्जालमा आफ्ना ब्याचीहरूसँग रमाएको तस्बिर राख्नुभएको थियो। जागिरे जीवनको खुसीयालीसहित समूहमा रहेका अधिकारीहरू हर्षित मुद्रामा देखिएका थिए।

यी मनहरू कहाँनेर कुँडिनेछन्? यसको पनि एउटा खराब विधि रहेछ, त्यसबारे चर्चा हुनेछ।

तर त्यसअघि केही मिठास् अन्दाजहरूमाथि बहस गरौं।

प्रहरी अधिकारीले ३० बर्षअघिको यौवनकाल, त्यो जागिरे जीवनका सुरुआती दिन स्मृतिपटलमा ल्याउँदा मित्रताको विषयमा सामान्य भनाई सम्झिँदा हुन् कि नसम्झिँदा हुन्?

मेरो अगाडि नहिँड्नुहोस्, म पछ्याउन सक्दिन

मेरो पछाडि नहिड्नुहोस्, म नेतृत्व गर्न सक्दिन

मेरो छेउमा हिड्नुहोस्, केवल मेरो साथी बन्नुहोस्

मित्रताको परिचय यहि हो। पद अस्थायी हो। नेतृत्व भनेको सामूहिक हुन्छ। संगठनको प्रकृति र प्रक्रिया ‘चेन अफ कमान्ड’ भनिए पनि सहज मित्रताका विषयमा प्रहरी अधिकारीहरूले बुझ्न आवश्यक रहेछ।

यो आलेख अमुक व्यक्ति विशेष भन्दा पनि यहि परिदृश्यमा देखिएको प्रवित्तिगत उदाहरणसँग जडित छ। नियतको कसीमा जोडिएको छैन।

मन कुँडिने खेलको कारण पहिल्याऔं।

जब–जब प्रमुख नेतृत्व अर्थात आईजी नियुक्तिको बेला हुन्छ अनि मुद्दा मामिला र झमेला देखिन्छ। यसको कारण के हो? ‘चेन अफ कमान्ड’मा अब संगठन छैन भन्ने नै हो। राजनीतिक दल र तिनका नेता भनिनेहरूको स्वार्थको कसीमा प्रहरीका तीन दशकअघिका ‘कलिग’बीच फाटो ल्याएको स्पष्ट नै छ।

भर्खरै मात्र आईजी नियुक्तिका विषयमा विश्वराज पोखरेलले हालेको रिट सर्वोच्च अदालतले खारेज गरिदियो। उहाँले राजीनामा दिएका खबर पनि सतहमा आइसकेका छन्।

यो यस बेलामा मात्र भएको प्रकारान्तरको कठोर परिदृश्य होइन, नेपथ्यमा अनेक कारण छन्। तर त्यसअघि सर्वेन्द्र खनाललाई नियुक्ति गर्दा रमेश खरेलले झोंकमा दिएको राजीनामा, नवराज सिलवाललाई आईजी बनाउनुपर्नेमा जयबहादुर चन्दको नियुक्ति, विवाद र प्रकाश अर्यालसम्मको प्रकरण हेर्दा कति नमिठो परिदृश्य देखिएको थियो।

तर गीतामा भनिएको छ नि– समयभन्दा अघि र भाग्य भन्दा धेरै कसैले पाउँदैन। यस्तै यस्तै घटनाक्रम देखिएको थियो।

यो खेल उच्च ओहदा (एसपी) बन्दादेखि नै हुँदो रहेछ। त्यसपछिका बढुवामा कृपावाद, नातावाद र अहिले त हुँदा–हुँदा पोस्टिङमा पनि सत्ताको ठूलो हात हुन्छ। आईजीको कमान्डमा रहनुपर्ने संगठन किन यस्तो भयो?

अघि बढ्ने होडमा आफ्ना समकालिन साथीहरूको मन रित्याउँदै गति लिने त्यो च्याँखे थाप्ने परिदृश्यमा त समाचार आएका थिए।  अन्यलाई अन्याय भए होस् मै मात्रै अग्रगतिमा हुनुपर्छ भन्ने बाठोपनले मित्रतालाई धुमिल पार्छ भन्ने त स्वभाविक अर्थमा परिणाममा देखियो नै। प्रहरीको सर्वोच्च पद एउटा मात्रै हुन्छ भन्ने सबैमा जानकारी नै छ। त्यहाँ पुग्ने इच्छा र अभिलाषा सबैको हुन्छ नै। तर कर्मअनुसारको बाटो तय गर्दा न्याय हुन्छ, छिचोलिएर जानेक्रममा चिप्लिन पनि सकिन्छ भन्ने उदाहरण त अहिलेको प्रकरणमा देखियो नै।

यो प्रकरणले ३० बर्षअघिदेखिको मित्रताबीच एउटा चिसो घेरा तय गरिदियो। सहकार्य, समभावमा नै जीवनका उत्तरार्धहरू पनि गतिलो हुन्छन् भन्ने सोच्नु आजको आवश्यक अवस्था बनिदियो।

‘चेन अफ कमान्ड’मा कहाँनेर प्वाल छन्? ति प्वालको खोजीनीति गरी टाल्ने काममा सक्रिय रहेको खण्डमा संगठनले लय समात्न सक्छ। आजको पुस्ताले होइन भोलीका लागि पनि प्रहरीको दरिलो संगठन बन्न सक्छ। ऐन र नियमावलीमा सुधार छन् भने त्यसमा पनि हेर्नुपर्छ

एउटा प्रश्न उठ्छ– यस्तो किन भयो?

विधि, पद्दती र चेन अफ कमान्ड प्रहरीमा उहिले नै ध्वस्त भइसकेको थियो भन्ने उदाहरण हो। जहाँ मौका मिल्छ, त्यहाँ सक्नले गर्ने भन्ने पद्दती बन्यो। प्रहरी नियमावली, ऐन र कानुनको के अर्थ भयो र, अब?

संगठनमा अनुकुलताका आधारमा कुनै पदहरू कृत्रिम बनाउने थितिकै निरन्तरता त जसले पनि गर्न सक्दो रहेछ भन्ने गतिलो शिक्षा संगठनले बुझेको छ। संगठन कुनै व्यक्ति विशेषका निम्ति होइन, संगठनका लागि नै बन्नुपर्छ भन्ने नठान्दा अनेक प्रकारका र फरक परिणामहरू देखिँदा रहेछन् भन्ने ज्ञान सबैले पाएको हुनुपर्छ।

एउटा जिल्लाको कमान्डका लागि उसको दक्षता, क्षमता र संगठन प्रमुखको रोजाई होइन, बालुवाटार, खुमलटार, बालकोटतिरका ताकत, गृहमन्त्री, अन्यमन्त्री राष्ट्रपति, प्रधानमन्त्री, प्रधानमन्त्रीका नातेदारको चाहना र योजनामा जब संगठन प्रमुख चेपुवामा परिरहन्छन् मन कुँडिने खेलसम्म यो प्रकारान्तरले पुगिरहन्छ।

तर यसलाई चिर्न सकिन्छ। संगठनलाई थिति र विधिमा दौडन सक्ने बनाउने जिम्मेवारी बाहलवाला प्रमुखले गर्न सक्दछ। गिजोलिएको संगठनभित्र थोरै अवधिमा यो ठूलो चुनौति हो तर सुधारका निम्ति अवसरका रुपमा पनि उपयोग गर्न सकिन्छ।

आईजी सिंहले जागिरे जीवनमा पूर्वाद्र्धमा जे जति अब्बलताका साथ आफूलाई निखारेर यहाँसम्म ल्याउनुभएको थियो, संगठनलाई पनि निखारिएको बनाउने दायित्व बहन गर्न सक्ने क्षमता राख्नुहुन्छ, राख्नुपर्छ।

‘चेन अफ कमान्ड’मा कहाँनेर प्वाल छन्? ति प्वालको खोजीनीति गरी टाल्ने काममा सक्रिय रहेको खण्डमा संगठनले लय समात्न सक्छ। आजको पुस्ताले होइन भोलीका लागि पनि प्रहरीको दरिलो संगठन बन्न सक्छ। ऐन र नियमावलीमा सुधार छन् भने त्यसमा पनि हेर्नुपर्छ।

सबैभन्दा ठूलो सुधारचाहिँ तल्लो तहसम्म ट्रयाक छाडेको आचरणमा हो। जस्तो हालै मात्र प्रहरी प्रधान कार्यालयले काज सरुवाका विषयमा गरिएको कडाई एउटा उदाहरण हो। तल्ला तहका प्रहरी कर्मचारीका गुनासा र व्यथालाई प्रत्यक्ष रुपमा सुनेर चुनौति र अवसरको समानताको एउटा ढाँचा स्थापित गर्न आईजी सिंहको योगदान रहे एउटा लय समात्न सक्छ।

तत्कालिन गृहमन्त्री बामदेव गौतमले तत्कालिन आईजी अच्युतकृष्ण खरेलका समयमा भत्काएको सांगठनिक संरचनाले लय समात्ने कुरा चानचुने त छैन तर असम्भव पनि होइन। राजनीतिक स्वार्थका लागि गौतमले त्यसबेला जसरी बाहलवाला आईजी हुँदा हुँदै द्वीमुख बनाउने प्रयत्न गरे, त्यहाँदेखि चर्किएको संगठनमा बेथितिको चुहावट जारी नै छ। त्यो चुहावट न्युनिकरणका लागि सिंह सफल बन्नुहुनेछ। यी बेथितिका प्वालहरू टाल्न सुरू भएनन् भने आगामी दिनमा यी ठूला र भयानक भ्वाङहरू बन्नेछन्।

प्रहरी जनतासँग सिधा ठोक्किने सरकारको सर्वकालिन इकाई हो। यसको सुधार र थितिले नै समाज मात्र होइन, देशले पनि थितिको लय समात्न सक्छ।

प्रतिक्रिया
सम्बन्धित