शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

शालिकको विकल्प छैन ?

एन.पी. भण्डारी २०७९ असार २७ गते ९:२६

शालिक किन र के का लागि ? के शालिकहरूबाट निरन्तर बाँचिरहन सम्भव छ ? के शालिकहरूका विकल्प छैनन् ? जस्ता केही प्रश्नहरू छन् । शालिक बनाएर मृत्युपछिको जीवनको निरन्तरता खोजिने सिधा परम्परा हो । यो परम्परा कति ठिक कति बेठिक छ भन्ने बहस हुन आवश्यक देखिन्छ । नेपालकै परिवेशमा हेर्दा बरिष्ठ नेता गणले आफन्त र प्रियजनका शालिक बनाउन तल्लिन देखिनु भएको छ । एकजना पूर्वप्रमले आफ्नो छोराको शालिक सार्वजनिक स्थलमा बनाउँदै उद्घाटन गरेको र साथीको शालिक बनाउने काठमाडांैका मेयरको उद्घोषसम्म देखिए । उनीहरूले केवल परम्परालाई नै पिछा गरेको मान्नसम्म सकिन्छ। अन्यथा लिन सकिन्न किनभने अन्तर्राष्ट्रिय रूपमा पनि यस्ता अभ्यास चलेकै छन्। त्यसैले यो परम्परामाथि प्रश्न गर्नुसम्म पनि मूर्खकै अभ्यास नहोला भन्न सकिन्न ।

मूलतः शाशकहरूले शालिकबाट नै बाँच्ने उपाय गर्ने गरेका छन् । यो परम्परा नै बनेको छ । शासक बाहेकका कतिपय मानिसहरू मरेर पनि आफै बाँच्न सक्ने भएर युगौँसम्म मरेकै छैनन् । जस्तै राष्ट्रिय विभूतिहरू, लेखकहरू मरेपछि पनि आफैँ बाँचिसकेका छन् र उनीहरूको सम्झनामा पनि शालिक बनाइएका छन् । शालिक नबनाए पनि उनीहरू बाँच्न सक्ने थिए तर पनि उनीहरूका शालिक बनाइए र मानिसले खासै अवरोध गरेको पनि पाइदैन। अतः यी पहिलो प्रकारका मानिसका शालिक शासकीय शक्तिका आधारमा बनाइएका होइनन् । दोस्रो प्रकारका मानिसका पनि शालिक छन् जुन शक्तिका आधारमा जबरजस्त बनाइए र अझै यो क्रम भङ्ग भएन । उत्तर आधुनिकतावादी जस्तो लाग्ने स्वतन्त्रसम्मका नेताले पनि यो बाटो समातेको पाइयो । त्यसैले शालिकहरूलाई बर्गिकरण गरेर हेर्नु पर्ने रहेछ भन्ने देखियो।

स्वभाविक रूपमा मानिस आफू मरेपछि पनि बाँचिरहन अनेक प्रयास गर्छन् । मरेका आफन्तलाई पनि शालिक बनाउने र बचाउने कोशिश गर्छन् । अर्थात् हामी सबै एक वा अनेक तरिकाले (चन्दा र दान दातब्यबाट समेत गरीकन) बाँच्ने प्रयास गरिरहेकै हौँला । अनेक शक्तिशाली सपनाका बीच मानिस आफ्नै जीवनकालमा पनि आफ्नो शरीरको शालिक बनाउन चहान्छन् । तर कसैले आफ्नो शालिक वा आफ्ना मानिसको शालिक सार्वजनिक ठाउँमा ठड्याउने काम गर्दछन् भने त्यो गलत हुन्छ ।

शक्तिशालीहरू समयान्तरमा शासकका शालिक खुम्चिदै र घेरामा पर्दै जान्छन् । शालिक कसरी कमजोर हुन्छन् र शालिक कहाँ पुग्छन् ? भन्ने कुरा कुनै समयका रोमका शक्तिशाली सम्राट जुलियस सिजरको शालिक अर्धकधको आकारमा दराजको खोपीमा रहनुले पनि देखाउँछ

त्यसैगरी, आफन्तले आफन्तकै शालिक बनाउनु र सार्वजनिक स्थानमा राख्नु त झनै गलत हुन पुग्छ । ति यस्ता शालिक हुन् जुन केवल शक्तिका भरमा ठडिएका ‘शालिकभरका शालिक’ हुन् । ति शालिकहरूको दीर्घ जीवन देखिदैन तर शक्तिमा भएका शासकले अन्य विकल्प नदेखेर शालिक बनाउनमा नै शक्ति लगाउछन् । शक्ति छ, पहुच छ, धन छ, बल छ भनेर केवल शालिकबाट बाँच्न र बचाउन चाहान्छन् । अझै भन्नुपर्दा शासकहरू मृत्युपछि पनि शाशन नै गर्न चाहना राख्ने रहेछन् । त्यसैले त तरवार वा हतियार वा झण्डा लिएर उभिएको शालिक बनाउँन चाहान्छन् । यसले भविष्यसम्मको उनीहरूको शाशकीय रवाफ र निरङ्कुशताको पाइन्छ ।

शक्तिको बलमा जवरजस्त ठडिने यस्ता दोस्रो प्रकार र दोस्रो दर्जाका शालिकबाटकताकता अति सम्मानित भएर शालिकहरूमा रहेका राष्ट्रिय विभूतिहरूको अपमान गर्दै पहिलोलाई नै गिज्याइरहेको पो हो कि भन्ने देखिन्छ । यसरी पहिलो प्रकारका शालिकलाई दोस्रो प्रकारका शालिकले दिग्भ्रमित गरिरहेको जस्तो लाग्छ । कतै ति विभूति पनि यस्तै जवरजस्त शालिकभर अर्थात् मात्र शालिकबाट बाँच्न प्रयासरत शक्तिका आफन्त नै हुन् कि भन्ने भान समेत हुनपुग्छ । यसले विभूतिका सवल पाटाहरूलाई छायाँमा पारिन्छ र दर्शक अलमलिन पुग्छन् ।

सेक्सपियरले लेखेको Not the Marble Nor the Gilded Monument भन्ने  Sonnet (कविता) मा दिइएको सन्देश छ कि शालिक बनाएर मानिसलाई चीर कालसम्म जीवन्त बन्न र बनाउन सकिदैन । उनले विकल्प पनि दिएका छन् । त्यसै गरी शक्तिशालीहरू समयान्तरमा शासकका शालिक खुम्चिदै र घेरामा पर्दै जान्छन् । शालिक कसरी कमजोर हुन्छन् र शालिक कहाँ पुग्छन् ? भन्ने कुरा कुनै समयका रोमका शक्तिशाली सम्राट जुलियस सिजरको शालिक अर्धकधको आकारमा दराजको खोपीमा रहनुले पनि देखाउँछ। उता पश्चिमा उपल्लो तहका पादरीहरुको रूचि शालिक बनाउनमा भन्दा सुनको जलप र बाशाल्ट जस्ता अमुल्यधातुबाट आफ्नो चिहान बनाउनमा छ भन्ने कथा र कविताहरूमा पाइन्छ । आध्यात्मिक जगतमा लागेका मानिसमा पनि मरेपछि आफ्नो चिहान कति मुल्यवान् हुने भन्ने प्रतिस्पर्धा हुदो रहेछ । यो पनि बाँच्ने नै प्रयास हो । यी शालिक र चिहान तुलना गर्दा मेरो विचारमा त शालिक भन्दा त चिहान दिगो हुने लाग्छ ।

शालिककै कुरा गरौँ।

शक्तिको आडमा बनाईने दोस्रो प्रकारका शालिकहरू उद्घाटनकै समयमा मानिसका कटाक्षले नै आधा खुईलिन्छन् । तर पनि शक्तिशालीले कटाक्षको गहिराईमा खासै ध्यान दिदैनन् । शक्ति कमजोर हुनासाथ र सत्ता उलटपुलट हुँदा शालिकहरू क्रेन र डोजर लगाएर भत्काइन्छन् र भत्किएका छन् । यस्ता शालिकलाई सानातिना आन्दोलनमा सहभागी आन्दोलनकारीले पनि पछार्ने गरेका छन् । शालिकप्रति प्रकृति पनि सकारात्मक पाइदैन । स्थापना गरिएको केही समयपछि शालिक भएको स्थान र आसपासमा सफा गर्ने मानिस पनि पाईदैनन, रूखहरूले घेरिन्छन्, झोडिले पुरिन्छन् । प्रकृतिको घेरामा पर्दै जान्छन्, शालिकहरू । निरन्तरको घामपानीले पनि शालिक केही बर्ष नपुग्दै हेर्न नसकिने गरी कुरूप हुन्छन् । निरन्तर चल्ने बतासले पनि शालिकलाई घृणा गर्दै बिस्तारै खुईल्याउँछन् । आँधि हुरीले अझै तिब्र गतिमा शालिक नस्ट गर्छन् । असली अनुहार बदलिन्छन् र शालिकको रूप बदलिएर कुरूप हुन्छन्।सकल स्वरूप कुरूप बनेर रहनु भन्दा त शालिक नै नरहनु उत्तम हुदैन र ?

समय आफैँ पनि क्रुर हुन्छ । शालिक जतिसुकै महङ्गो मार्वल र सुनबाट बनाए पनि खिया लाग्छन्, मक्किन्छन्, भत्किन्छन् र बेसाहारा भइ जमिन र सडकमा डङरङ्ग लड्छन् । त्यसपछि त शालिकका रूपमा रहेका मानिसका शरीरमाथि मानिसमात्र होइन पशुहरूबाट समेत अनेक प्रकारका दुरर्व्यबाहार हुन पुग्छन् । त्यो दृष्य बडो नरामाइलो हुन्छ । अन्ततः ढलेका र चिथोरिएका शालिकहरू पत्रकार र लेखकको निशानामा हुन्छन् र नराम्रा चित्रसहित पाठकसमक्ष पुग्छन्।

शक्ति परिवर्तनका कारण राजा महाराजाका शालिक र मन्दिर समेत भत्किएका देखेका र सुनेका छौँ । शालिक आफैँले कुनै प्रसिद्धि पनि त दिदैनन् । अर्कोतर्फ, जो प्रशिद्ध छन् उनीहरू शालिकबाट भन्दा भिन्न कारणबाट बाँचिरहेका छन्।

जुन युगसम्म पुस्तकहरूको अस्तित्व रहन्छ अर्थात् जुन वेलासम्म मानिसले पुस्तक र कृतिहरू पढ्छन त्यो युगसम्म लेखक र पात्रहरू बाच्न सक्छन् । पुस्तक जस्ता कृतिको अस्तित्व पुरै ब्रम्हाण्डकै महाप्रलय नहुँदासम्म रहनेछ तब कृति बाँच्दा लेखक र पात्र बाँचिरहेका हुन्छन् । त्यसैले शालिकको विकल्प खोजौँ

मानिसले आफन्तहरू (हजुरबा र हजुरआमाको)को शालिक बनाएर आफ्नै घर आगनमा पनि राखेका देखिएका छन् तर उनीहरूले पनि शालिकमा देखिने ति मरेका आफन्तलाई पुस्तान्तरणका भिन्नताले होला खासै गतिलो गरी रेखदेख गर्नसकेका छैनन् ।

अब विकल्प हेरौँ ।

शालिकको विकल्प छैन ? शालिकको विकल्प छन् तर सजिलो छैन । कसैलाई मरेपछि पनि बचाएर राख्ने र बाच्ने दृढ इच्छ र विचार छ भने नजिकका नातेदार (छोरा, छोरी, आमा, बा, दिदी, दाजु, भाइ, बहिनी,श्रीमती वा प्रेमी वा साथीभाइ वा चेलाहरू)ले मृतकको नाम र सम्झनामा राम्रो पुस्तक, कविता, नाटक, उपन्यास वा कथा लेखेर प्रकाशन गरिदिनु राम्रो हुन्छ ।

उ आफैले त्यो काम गरे त झनै राम्रो । मार्मिक कहानी बोकेकोपुस्तक भविश्यमा पनि अवश्य पढिनेछ र जतिपटक पढिनेछ उति नै पटक लेखक र पात्रहरूको सम्झना हुनेछ तव लेखक र पात्र दुबै बाँच्नेछन् । थाहै छ मोटे कार्की कथाकै पात्र भए पनि बाँचेकै छ । अझ गतिलो उदाहारणका लागि लक्ष्मीप्रसाद देवकोटाको मुना मदनलाई लिन सकिन्छ । जतिपटक ‘मुना मदन’ पढिन्छ उति नै पटक लेखक ‘लक्ष्मीप्रसाद’ पढिन्छ र जतिपटक त्यो पुस्तक पाठकबाट पढिन्छ उति नै पटक पात्रहरू ‘मुना’ र ‘मदन’ पनि पढिन्छन र उनीहरूको सम्झना हुन्छ ।

त्यसैगरी अनेकौँ लक्ष्मीप्रसाद, मुना, र मदनहरू पाठकहरूमाँझ बाँचिरहेका हुन्छन् । अझ रोचक यथार्थ त के छ भने प्रकाशित कृतिहरू कुनै पनि बाढि, हुरी, पहिरो, भुकम्प रसत्ता पलटले समाप्त गर्न सक्दैनन् । पुस्तकालय नै जले पनि बाँचिरहन्छन् ।

अतः युगौँ युगसम्म पनि लेखक र पात्र दुबै जीवन्त रहन सक्छन् । जुन युगसम्म पुस्तकहरूको अस्तित्व रहन्छ अर्थात् जुन वेलासम्म मानिसले पुस्तक र कृतिहरू पढ्छन त्यो युगसम्म लेखक र पात्रहरू बाच्न सक्छन् । पुस्तक जस्ता कृतिको अस्तित्व पुरै ब्रम्हाण्डकै महाप्रलय नहुँदासम्म रहनेछ तब कृति बाँच्दा लेखक र पात्र बाँचिरहेका हुन्छन् । त्यसैले शालिकको विकल्प खोजौँ ।

(लेखक सुकुना बहुमुखी क्याम्पस र कसेनी माध्यमिक विद्यालयको शिक्षक हुनुहुन्छ ।)

प्रतिक्रिया
सम्बन्धित