शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

माधव–झलनाथः ओलीको रिस, आफैँ बेवारिस

निर्मल भट्टराई २०७९ असार २५ गते २१:११

-निर्मल भट्टराई

आज भन्दै भोलि भन्दै सङ्घीय र प्रदेशको निर्वाचन आउँदैछ । असारको यही हप्ता वा साउनको पहिलो हप्ता निर्वाचन आयोगको सिफारिस (आफनो ज्योतिषको सल्लाहसमेत)को आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मितिो घोषणा गर्ने पक्कापक्की नै छ ।

भन्न परोइन, सङ्घीय र प्रदेशसभाको चुनाव स्थानीय निर्वाचनजस्तो कार्यकर्ताको चुनाव होइन । यो हरेक पार्टीका शीर्ष नेता लड्ने चुनाव हो ।

देशको राष्ट्रिय शक्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) विरूध्द स्थानीय तहमा नेपाली काङ्ग्रेसको कित्तामा उभिएका केही साना वामपन्थी दलका नेताहरू आगामी आम निर्वाचनमा आफूलाई कसरी प्रस्तुत गर्छन्, अहिले निक्कै चासोको रूपमा हेरिएको छ ।

विचार र सिध्दान्तको आधारमा न भै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको शिखर व्यक्तित्व असीमित डाह, ईर्ष्या र रिसको कारण एमालेबाट चोइटिएको माधव–झलनाथको समूह आगामी आम निर्वाचनमा कसरी होमिएलान् भन्ने चासो देखिन्छ ।

जीवनभर एमाले, जनताको बहुदलीय जनवाद र सूर्य–चिन्हको सामर्थ्यमा चुनाव लडेका माधव नेपाल, झलनाथ खनाल र उनीहरूसंगै बाहिरिएका केही नेताहरू टुक्रे पार्टी, विश्रृङ्खलित विचार र कमजोर ‘कलम’ बोकेर कसरी आफ्नो सीट कसरी सुरक्षित गर्लान् ?

एमाले, जबज र सूर्य–चिन्हको बलमा पटक–पटक प्रधानमन्त्री, मन्त्री र सांसद बनेका यी नेताहरू जीवनको उत्तरार्धमा सबै कुरा छोडेर एक किसिमले नाङ्गै जनताको अभिमत प्राप्त गर्न नसक्ने निश्चित प्रायः छ ।

हजार तर्क गरे पनि एमालेजस्तो क्रान्तिकारी, राष्ट्रवादी र युगान्तकारी पार्टी विभाजन गर्न र नेपाली काङ्ग्रेसको पाउ पर्नुको औचित्य पुष्टि यिनीहरूले कहिल्यै गर्न सक्दैनन् ।

यिनीहरूलाई आस होला, नेपाली काङ्ग्रेस र माओवादीले आफ्नो मतको डालो घोप्ट्याएर माधव, झलनाथ र अरू थुप्रै नेतालाई संसदको सीट सुरक्षित गरि दिनेछन् ।

यो सोम शर्माको सपना शिवाय केही हुन सक्दैन । काङ्ग्रेस र माओवादीले माधव–झलनाथको समूहलाई यो आम निर्वाचनमा एमाले हराउन अन्तिम पटक प्रयोग गर्दैछन् । काम पर्‍यो भाँडो, आफल तेरो ठाँडो !

त्यसो त प्रचण्डलगायतका माओवादी नेताहरू पनि ०७४ सालको वाम गठबन्धनपश्चात् एमालेको मत सोहोरेर हजारौं मतान्तरले विजयी भए जसरी यो पटक नेकाको मत पाइएला कि नपाइएला भन्नेमा रणभुल्ल नै छन् ।

एक्लै माओवादीले कहिल्यै नजित्ने ठाउँमा जितेर मन्त्री बनेका माओवादी नेतालाई वर्तमान परिस्थिति कहालीसमेत लाग्दो हो । ‘निर्वाचनपछि पार्टी एकता गर्ने’ उद्घोषका साथ उत्साहका साथ पाएको वामपन्थी मतले जितेका ती नेताले र करबलले काङ्ग्रेसी कार्यकर्ताले दिएको मतले पुनः जितिहाल्लान् भन्न सकिन्न ।

आफू बेवारिस हुनु अगावै एमालेको पूर्ववत् छहारीमा घुस्रिहाल्ने उनीहरूको सपना त्यतिवेला पूरा हुनसक्छ, जतिवेला उनीहरू आफ्ना विगतका महान भूलहरूको आत्मालोचना गर्नेछन्, वर्तमान विजातीय गठबन्धन तोडेको औपचारिक घोषणा गर्नेछन् ।

नेकपा(एमाले) यो आम निर्वाचनमा आफ्नो थैली कस्ने पक्षमा छ । आफ्नो पार्टी सङ्गठनलाई मजबुत बनाएर, जनताका विकास र समृध्दिका योजना पस्केर आफ्नै बलबुताले निर्वाचनमा जाने तयारीमा छ । वाम तालमेलको नाँउमा आफ्नो सरकार ढालेर प्रतिक्रियावादी क्याम्प मजबुत बनाउन निकृष्ट हरकत गर्ने नेतालाई अनावश्यक स्पेस दिने पक्षमा एमाले किमार्थ छैन ।

भलै आजभोलि माधव नेपालको एमालेविरोधी जिब्रो मठारिएको छ । ओलीले वार्ताको ढोका खोलिदिए हुन्थ्यो, मिलेर जान पाए हुन्थ्यो जस्ता मधुरवाणी सुनिन थालेका छन् । पार्टी विभाजनताका झलनाथको मच्चिएको मथिङ्गल मथ्थर भएको छ ।

देशको ठूलो कम्युनिष्ट पार्टीको अध्यक्षको नाताले नेकपा(एमाले)का अध्यक्ष के पी शर्मा ओलीले वाम एकताको सार्थक पहल गरिदिए हुन्थ्यो जस्ता ओपचारिक अनौपचारिक सन्देश पठाइरहेछन् ।

रिस, आवेग वा अरू कुनै कारणले परिवारबाट अकारण अलग भएको मनुवा रिस मरेपछि घर फर्कन जसरी वातावरण बनाउँछ, त्यसरी नै एमालेका भूतपूर्व नेताहरू घर फर्कने वातावरणको खोजीमा छन् । एमालेभित्र आफ्नो स्पेसको खोजीमा छन् । आफ्ना सात खत माफ गरिदिएर एमालेले रातो कार्पेटमा स्वागत गरोस् भन्नेमा छन् ।

नेपाली काङ्ग्रेससंगको अवैध सहवासको औपचारिक समाप्ति हुनु अगावै माधव–झलनाथ समूहलाई एमालेले सुनपानी छर्कि देवोस् भन्ने ध्याउन्नमा उनीहरू लागेको प्रष्ट देख्न सकिन्छ ।

आफू बेवारिस हुनु अगावै एमालेको पूर्ववत् छहारीमा घुस्रिहाल्ने उनीहरूको सपना त्यतिवेला पूरा हुनसक्छ, जतिवेला उनीहरू आफ्ना विगतका महान भूलहरूको आत्मालोचना गर्नेछन्, वर्तमान विजातीय गठबन्धन तोडेको औपचारिक घोषणा गर्नेछन् ।

र, बरालिएका सबै आफ्ना नेता कार्यकर्ताहरूलाई निर्मलीकरण गरेर समेट्ने काम त नेकपा(एमाले)को काँधमा छँदैछ ।

प्रतिक्रिया
सम्बन्धित