मंगलबार, १४ असार २०७९
DainikNepal.com
मंगलबार, १४ असार २०७९

योग भनेको केही आसनमात्र होइन, आहार–विहारबारे पनि ध्यान दिनुपर्छ

डा. अरुणा उप्रेती २०७९ असार ७ गते ७:३३

‘गाउँघरका महिलाले योगका सबै आसन गरेको देखिन्छ । उनीहरू निहुरेर, टुक्रुक्क बसेर काम गर्छन् । घाँस, दाउरा गर्न कता–कता जान्छन् । उनीहरूले भिन्नै व्यायाम गर्नु पर्दैन । सहरका महिला त एक किलोमिटर पर पुग्न पनि मोटर चढ्न खोज्छन् । लुगा धुन मेसिनको प्रयोग गर्छन् । टुक्रुक्क त बस्नै पर्दैन । यस्ता महिलालाई चाहिँ व्यायाम र योगासन जरुरत पर्छ,’ योगको एक कार्यक्रममा जाँदा गुरुजीले भनेका थिए ।

अहिले सहरका महिलाको जीवन धेरै सजिलो भएको छ । तर, महिलाले आफ्नो स्वास्थ्य, व्यायाम, खानपिनमा ध्यान नदिने हो भने शारीरिक समस्या देखापर्न सक्छ । समस्या भइसकेपछि औषधि, डाक्टर र अस्पतालको खर्च त छँदैछ, त्यसमाथि हुने मानसिक तनावको कतै लेखाजोखा नै हुँदैन । मैले योगासन र व्यायाम गर्छौ कि गर्दैनौ भनेर सोध्दा साथीहरू ‘हामीलाई कामले फुर्सद नै हुँदैन’ भन्छन् ।

डा. अरुणा उप्रेती

घरपरिवारको विचार, बाहिरको काम, खाना पकाउने काम, अफिसको तथा सामाजिक काम आदिका कारण समयको त चाप नै हुन्छ । तर म साथीहरूलाई भन्छु, ‘तिमीले परिवार र अफिसको काम भनेर आफ्नो शरीरलाई विचार गरेनौ भने पछि बिरामी परेपछि, ढाड र घुँडा दुखेपछि कसरी सम्हाल्न सक्छौ त ? मन्दिर वा मस्जिदमा दियो जलाउनुअघि घरमा दियो जलाउनुपर्छ ।’ तर प्रायः महिलाले अरुको सुखसुविधालाई ध्यानमा राखेर आफूलाई चाहिँ बेवास्ता गरेको पाइन्छ ।

अफिसमा लामो समय एकै ठाउँमा बसेर काम गर्दा ढाड र गर्दन दुख्ने समस्या हुन्छ । एक रिपोर्टअनुसार यसरी कम्प्युटरमा बसेर काम गर्ने १ पुरुषलाई समस्या हुँदा १० जना महिलालाई त्यस्तो समस्या हुन्छ । एउटै ठाउँ बसेर ८–१० घन्टा कम्प्युटरमा काम गर्दा शरीर थाक्छ, जीउ दुख्न शुरू हुन्छ । त्यस्तो बेला उठेर हिँड्नु र सानो–सानो योगासन गर्नुको साटो महिलाहरू दुखाइ कम गर्ने औषधि खान थाल्छन् । कुनै दिन जब असह्य भएर ढाड, गर्धन दुखेर चल्न नै सकिन्न, अनि बल्ल केही समस्या पर्यो कि भनेर खोजी हुन्छ ।

लामो समय कम्प्युटरमा काम गरिरहँदा हुने काँध दुखाइको समस्याबाट छुटकारा पाउन र पछि नहोस् भनेर पनि योगासन सिकेर तिनलाई दिनदिनै प्रयोगमा ल्याउनुपर्छ । विदेशमा काम गर्ने सिलसिलामा जाँदा मलाई भनिएको थियो, ‘हरेक एक–दुई घन्टा कम्प्युटरमा काम गरेपछि १० मिनेट उठेर हिँड्नु । नाडीको मसाज गर्नु । हात चलाउनु । नत्र पछि समस्या पर्छ । अफिसमा लामो समय काम गर्ने महिलाहरू ढाड दुखाइको सिकार बन्छन् ।’ यो भनाइलाई मैले मन्त्रजस्तै मनन गरेर एकै ठाउँमा लामो समय बस्नुपर्ने काममा एक–दुई घन्टामा उठेर हिँड्छु । शरीर सोझ्याउँछु ।

संसारले योग दिवस भनेर मनाउनुअघि नै नेपालमा डा. हरिप्रसाद पोखरेल र उमेश श्रेष्ठजस्ता व्यक्तिहरूले योगको महत्वबारे जनमानसलाई धेरै जानकारी दिएका थिए र उनीहरूबाट प्रेरणा लिएर हामी थुपै्रले योगलाई जीवनको अंग बनाएका छौं । समस्या के छ भने नेपाल सरकारले डा. पोखरेल र श्रेष्ठको ज्ञान र अनुभव वास्तै गर्दैन । तर भारतबाट रामदेव आउँदाचाहिँ दौडी–दौडी जान्छन् । नजिकमा भएको ज्ञानलाई अपहेलना गरेको सायद घरकी मुर्गी दाल बराबर भएर होला ।

कति साथीहरूचाहिँ बिहान वा बेलुका योगासनचाहिँ गर्छन्, अनि समोसा, जेरी, स्वारी, चाउचाउ, विभिन्न चिसो पेयपदार्थ खाएर मोटोपनको सिकार बन्छन् । ‘खोइ योग गरेर मलाई त केही फाइदा भएन, मोटोपन घटेन, घुँडा र ढाड दुख्न छाडेको छैन’ भन्छन् । उनीहरूले के विचार गर्दैनन् भने योग भनेको केही आसनमात्र होइन, आहार–विहार आदिबारे पनि त्यतिकै विचार गर्नुपर्छ ।

गर्भवती र सुत्केरी महिलाले पनि योगका केही साधारण आसन गर्नाका साथै स्वस्थ खानपिनमा ध्यान दिनुपर्छ । विदेशमा गर्भवती महिलाका लागि विशेष योगासन कक्षा सञ्चालन गरिन्छ । नेपालमा अहिले त्यस्तो कक्षा सञ्चालन गर्ने कार्यक्रम त सुनिएको छैन, तर मेरा केही स्त्रीरोग विशेषज्ञ साथीले गर्भवती महिलालाई खुट्टा, ढाड र हातको योगासन गरे वेश हुन्छ भन्छन् ।

गर्भवती महिलाहरू सुत्केरी भएपछि अन्य कुनै शारीरिक समस्या छैन भने केही साधारण योगासन त एक–दुई सातामा शुरू गर्न सक्छन् । यसले उनीहरूलाई सुत्केरीबाट छिटो तङ्ग्रिन मद्दत गर्छ । सुत्केरी अवस्थामा खानपिनमा ध्यान नदिएर धेरै चिल्लो, बढी मासुभात आदि खाइयो भने त बच्चा ६ महिनाको नहुँदै आमाको शरीरमा मोटोपन धेरै बढ्छ र त्यसपछि गर्दा ढाड र घुँडा दुख्ने समस्या पैदा हुनसक्छ ।

हामीसँग केही मालसामान छ भने हामी बडो जतन गर्छौं । लुगा फोहोर भए धोएर इस्त्री लगाउँछौं, सुतीको लुगामा माड राख्छौं । मोटर, मोटरसाइकल र साइकल पनि जतन गर्छौं । समय–समयमा मोबिल फेर्छौं, हावा छ कि छैन भनेर जाँच गर्छौं, चाडपर्वमा वाहनको पूजा पनि गर्छौं, ताकि दुर्घटना नहोस् । तर ती सबैको आनन्द लिने शरीरलाई वास्ता गर्दैनौं । शरीर स्वस्थ भए सुन्दरता यसै बढ्छ, सुन लगाउनै पर्दैन भन्ने सिक्न समय लाग्छ । शरीरभरि सुन लगाएर हिँड्दा गर्व गर्ने महिलालाई सुन नलगाऊ, बरु फटाफट हिँड्न सक्षम बन भनेर आफ्नो स्वास्थ्यमा ध्यान दिने कि ?

प्रतिक्रिया
सम्बन्धित