शनिबार, १५ असोज २०७९
DainikNepal.com
शनिबार, १५ असोज २०७९

लिलिपुट माधव, प्रचण्डको बोली र भोलिका ओली

निर्मल भट्टराई २०७९ जेठ १४ गते १७:३३

-निर्मल भट्टराई

स्थानीय तहको मतगणना लगभग सकिएको छ ।

स्थानीय तहको निर्वाचनमा सङ्‌ख्याको आधारमा एमाले सबभन्दा ठूलो पार्टी भएकोमा नेपाली काङ्‌ग्रेस र माकेलाई सहिनसक्नु भएको छ । चौतर्फी घेराबन्दीका बाबजुद ओलीको राष्ट्रव्यापी प्रभाव देखेर उनीहरू हैरान छन् । एमालेले पाएको पपुलर मत देखेर उनीहरू तर्सिएका छन् ।

पाँचदलीय गठबन्धन भनिए पनि यो गठबन्धन मूलतः नेपाली काङ्‌ग्रेस र माओवादी केन्द्रबीचमा भएको सत्ता सौदावाजी हो । माधव नेपालको पार्टी र उपेन्द्रको पार्टी त बहुमत पुर्या उन जोडिएका मात्र हुन् ।

यो गठबन्धनबाट स्थानीय तहको चुनावमा सबभन्दा बढी फाइदा नेपाली काङ्‌ग्रेसले लियो भने दोश्रो ठूलो फाइदा माओवादी केन्द्रले पाएको छ । गठबन्धनका अरू दलको हैसियत खुम्चिएको छ ।

गठबन्धनका सहयात्री उपेन्द्र यादव र माधव नेपाल स्थानीय तहको निर्वाचन ‘आफूले सोचेजस्तो नभएको’, ‘गठबन्धनबाटै धोका भएको’ बताइरहेका छन् । हुन पनि कुनै वेला काङ्‌ग्रेसको गढ मानिएको मधेश प्रदेश र तराईका अन्य जिल्लामा काङ्‌ग्रेसको गढ भत्काएर उदाएको मधेशवादी शक्ति तिनै प्रदेशमा तेश्रो शक्तिमा खुम्चिएका छन् ।

स्थानीय निर्वाचनको नतिजामा फ्लप भएपछि माधव कोटरीका केही नेताले एमाले सम्झन थालेका छन् । र, कथित कार्यगत एकताको कुरा गर्न थालेका छन् । अर्थात् आफूले छुट्टै बनाएको ओछ्यान भिजेपछि पुरानो न्यानो ओछ्यान खोज्न थालेका छन् ।

एमालेको ओली मिसन सफल हुँदा मधेश प्रदेश र तराईका अन्य जिल्लामा एमालेले आफूलाई एक प्रमुख शक्तिको रूपका स्थापित गरेको छ । मधेशमा माओवादी मरिच चाउरिएझैं चाउरिएको छ ।

एमाले सिध्याउने एकमात्र मिसन बोकेका माधब नेपाललाई स्थानीय तहको निर्वाचनले लिलिपुटमा परिणत गरिदिएको छ । काङ्‌ग्रेस र माकेको भोट इमान्दारीपूर्वक पाएको कारण र एमालेको आन्तरिक व्यवस्थापकीय कमजोरीको कारण पोखरा महानगरपालिका र हेटौडा उपमहानगरपालिकाको प्रमुख पद आफ्नो पोल्टामा पारेता पनि माधव नेपालको पार्टी देशका अधिकांश वडामा निल भएको छ । यही स्थिति कायम रहेमा आगामी आम निर्वाचनमा एस पार्टीका कसैले जमानत जोगाउन सक्ने देखिएन ।

स्थानीय निर्वाचनको नतिजामा फ्लप भएपछि माधव कोटरीका केही नेताले एमाले सम्झन थालेका छन् । र, कथित कार्यगत एकताको कुरा गर्न थालेका छन् । अर्थात् आफूले छुट्टै बनाएको ओछ्यान भिजेपछि पुरानो न्यानो ओछ्यान खोज्न थालेका छन् ।

ज्ञातव्य छ-स्थानीय तहको निर्वाचनमा एमालेले पाएको सीट सङ्‌ख्या र जनमत आफ्नै बलबुतामा आएको हो । नेपाली काङ्‌ग्रेसलगायतका गठबन्धन दलले पाएको सीट सङ्ख्या र जनमत वैशाकीमा प्राप्त भएको हो । अर्थात् गठबन्धनले पाएको मत प्राविधिक हो, एमालेले पाएको मत वास्तविक हो ।

तत्कालीन नेकपामा प्रचण्डले माधव नेपालसंग मिलेर ओलीको उचाइ र लोकप्रियता समाप्त पार्ने र एमाले निल्ने प्रयत्न असफल भएकोमा अझै छुकछुक गर्दैछन् । ‘अग्रगामी छलाङ’ मारिरहने स्वभाव भएका प्रचण्डलाई निरन्तर देउबाको सहयोगी बन्न असहज भएको सङ्‌केत गर्दैछन् ।

‘ओलीले आत्मा आलोचना गरे बाम एकता हुने’ ‘ओलीबाहेक एमालेका सबै नेतासंग मिल्न सकिने’ अभिव्यक्ति दिन थालेका छन् । विगतमा बाम गठबन्धन गरेर धेरै सीट पोल्टामा पारेका प्रचण्ड फेरि पनि एमालेको काँध चढ्ने दाउ हेरेर बसेका छन् । एमालेको काँधमा चडेर प्रधानमन्त्री बन्न लालायित छन् ।

तर उनले बुझे हुन्छ-आगामी आम चुनाव ओलीलाई प्रधानमन्त्री बनाउने कि देउबालाई भन्नेमा जनमत सङ्‌ग्रह हुने हुँदा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्रीको उम्मेद्वार हुने छैनन्, बरू देउबाको सारथीमात्र हुनेछन् ।

तर नेकपा(एमाले) देशको बाम आन्दोलनलाई धोका दिने, विना कुनै हिच्किचाहट नेपाली काङ्‌ग्रेसको पुच्छर बन्न पुग्ने, भारतीय इशारामा नेपालको कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत बनाउन उद्दत हुने नेता र पार्टीसंग कार्यगत एकता वा चुनावी तालमेल गर्ने पक्षमा देखिदैन ।

बरू आफ्नो सङ्‌गठन सुदृढ बनाउने, जनतालाई थप गोलबन्द गर्ने, देशको सार्वभौमिकताको रक्षाको खातिर चट्टानी अडानसहित सबै देशभक्त शक्तिसंग सहकार्य गर्ने, आर्थिक समृद्धि र समाजवादको प्रष्ट खाका बनाउनेजस्ता काममार्फत् जनमत बढाउने अभियानमा लाग्नेछ ।

साथै चटकी ‘बाम’ नेताले छरेको भ्रममा परेका देशभर छरिएर रहेका बामपन्थी, देशभक्त र प्रगतिशील नेता कार्यकर्तालाई एमालेको छातामुनि गोलबन्द गर्ने अभियानमा लाग्नेछ ।

संसदमा वा बाहिर गठबन्धन दलका नेता एमालेविरूद्ध जति बर्बराउँछन् त्यति नै एमालेलाई फाइदा पुग्ने निश्चित छ । ‘कुकुर भुक्दै गर्छ, हात्ती हिंड्दै गर्छ’ भन्ने नेपाली उखान एमालेले चरितार्थ गराएरै छाड्छ ।

प्रतिक्रिया
सम्बन्धित