६ कार्तिक २०८३, शुक्रबार

पराजय क्षणिक परिघटना हो, जितेको ठाउँमा अब्बल जनसेवा प्रदान गरौँ : पोलिटब्युरो सदस्य रिजाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले निर्वाचनमा हुने पराजय क्षणिक परिघटना भएको बताएका छन् ।

स्थानीय तह निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको परिणामलाई दृष्टिगत गर्दै उनले निर्वाचन जितेको ठाउँमा अब्बल जनसेवा प्रदान गर्दै हारेको ठाउँमा जनताको पक्षमा प्रतिपक्षीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । त्यस्तै जायज र न्यायोचित संघर्ष गर्नुपर्नेमा जोड दिँदै उनले भनेका छन्, जितेको ठाउँमा अब्बल जनसेवा प्रदान गरौं, हारेको ठाउँमा प्रतिपक्षीय भूमिकाकासाथ जनताको पक्षमा जायज र न्यायोचित संघर्ष गरौं, तत्पश्चात् पराजय क्षणिक परिघटनामा सीमित रहन पुग्छ ।’

व्यक्तिमा हुने तीव्र महत्वकांक्षाले प्रकट गर्ने अराजकताको वरीपरी जित र हारलाई नियाल्नुपर्ने तर्क उनको छ । ‘राजनीतिक स्वार्थ केवल दलगत स्वार्थ हुँदै व्यक्तिगत स्वार्थमा सीमित रहन पुग्छ । तत्पश्चात् राजनीतिमा आवद्ध व्यक्तिहरूमा अनावश्यक महत्वकांक्षा पलाउन थाल्दछ र ती महत्वकांक्षाहरूले अराजकता पैदा गर्ने गर्दछ,’ रिजालले भने, ‘निर्वाचनमा हुने बिजय र पराजय यसैको सेरोफेरोमा खोज्नु पर्दछ । तसर्थ अब वैचारिक कामलाई सघन बनाउँदै सङ्गठनलाई सबल र सुदृढ पारौं ।’

विचार, संगठन तथा सेवा र संघर्षबाट राजनीतिक दल बन्ने र दलमा अन्तर्निहित वैचारिक तत्वले राजनीतिको लक्ष्य, उद्देश्य, बाटो र गन्तव्य निर्धारण गर्ने उनको भनाइ छ । ‘दलभित्रको वैचारिक तत्वले राजनीतिमा संलग्न व्यक्तिहरूको चरित्र, आदर्श, आचरण, शैली र अनुशासनलाई पनि निर्धारण गर्ने गर्दछ भने सांगठनिक तत्वले वैचारिक तत्वद्वारा निर्धारित लक्ष्य र गन्तव्यमा पुग्नका लागि तदनुरूपको चरित्र, आचरण, आदर्श, शैली र अनुशासन भएका जनशक्तिहरूको निर्माण र परिचालन गर्ने गर्दछ,’ उनले भने ।

संगठित जनशक्तिद्वारा सत्तामा रहँदा जनसेवा र सत्ताबाहिर रहँदा जनविरोधी क्रियाकलापकोविरूद्ध संघर्ष सृष्टि गर्ने काम गर्ने बताउँदै उनले विचार, संगठन तथा सेवा र संघर्ष हाराहारीमा सन्तुलित ढङ्गले अगाडि बढ्दा राजनीतिक स्वार्थ सामाजिक स्वार्थमा बदलिन पुगी राजनीति सफलताको दिशामा अगाडि बढ्ने स्पष्ट पारेका छन् ।