
पोखरा, १० जेठ । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ विजय हुने सुनिश्चित भएको छ ।
गन्न बाँकी मतभन्दा अग्रता लिएको मत धेरै भएपछि आचार्य र गुरूङको जित सुनिश्चित भएको हो ।
गएको वैशाख ३० गते भएको पालिका तहको चुनावमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २२६ मत खसेको थियो । जसमा मंगलबार बिहानसम्म १ लाख ३८ हजार २११ मत गणना भइसकेको छ ।
५ हजार १५ मत गणना गर्न बाँकी छ । तर मेयरमा धनराज ५ हजार २८६ मतान्तरसहित अगाडि छन् भने उपमेयरमा मञ्जु गुरुङ ४ हजार ३५ मतान्तरले अगाडि छिन् । पोखरा महानगरपालिका वडा नम्बर २२, ३२ र ३३ को आंशिक मत गणना गर्न बाँकी रहेको छ ।
अहिलेसम्म नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ५६ हजार ४ सय ७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार १८५ मत प्राप्त गरेका छन् ।
उपमेयर पदमा एमालेकी मञ्जुदेवि गुरुङ ५८ हजार ५८२ मत ल्याएर विजय नजिक पुगेकी छिन् । उनीले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ४ हजार ३५ मतान्तरले पछि पारेकी छिन् ।















प्रतिक्रिया