शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

विचरा गठबन्धन शून्य, एमाले सगौरव शतप्रतिशत !

सूर्य थापा २०७९ वैशाख २१ गते ८:३५

सूर्य थापा

पालिका प्रमुख र उपप्रमुखमा महिला उम्मेद्वारी दिने अभ्यासमा प्युठानमा पाँच दलीय गठबन्धन ९ वटै पालिकामा शून्य भएको छ ।

सबै ठाउँमा काले–काले मिलेर खाउँ भाले भनेजस्तो गरी महिलाको अधिकार खोसेर पुरूषहरूले नै उम्मेद्वारीमा भागबण्डा गरेको पाइएको छ ।

सरूमारानी, माण्डवी, ऐरावती, मल्लरानी, झिमरूक, गौमुखी र नौ बहिनी गाउँपालिका तथा स्वर्गद्वारी र प्युठान नगरपालिकामा कहीँकतै प्रमुख र उपप्रमुखमध्ये एकमा महिला हुनैपर्ने कानुनी व्यवस्था, समावेशिताको मर्म र महिला–पुरूष समानता र साझेदारीको मान्यताविपरीत गठबन्धनले महिलाहरूलाई ठगेर आफूलाई ठगबन्धन सावित गरेका छन् ।

पुरूषै पुरूष उम्मेद्वार त २००८ सालमा भएको नेपालको पहिलो नगर निर्वाचनमा पनि थिए ! पञ्चायतमा समेत दलित देखाउनुपर्दा हिरालाल र टीआर विश्वकर्मा तथा महिलाको रूपमा सरस्वती राई र सुशीला थापाहरू माननीय र मन्त्री बनाइन्थे । प्युठानमा ठगबन्धनले प्रमुख नेतृत्वमा एकजना पनि दलित, जनजाति तथा उपप्रमुखमा सम्म एक मात्र महिलाको पनि उम्मेद्वारी दिन जरूरी ठानेन । यो लज्जास्पद र घृणित कार्यअभ्यास हो । यसमा निर्वाचन आयोग र काठमाडौंमा वक्तव्यबाजी गर्ने नक्कली महिला अधिकारकर्मीहरू (!) को मौनता अझै उदेकलाग्दो देखिएको छ ।

डा. आरजु राणा देउवा

नेकपा (एमाले)ले चाहिँ प्रमुख तहमै दोस्रो कार्यकालका लागि सरूमारानीमा झगबहादुर विश्वकर्मालाई उम्मेद्वार बनाएको छ । उहाँ पार्टीको जिल्ला उपाध्यक्ष समेत निर्वाचित रहेको तथ्य जगजाहेर छ । माण्डवीमा श्रीधर रोका मगर, स्वर्गद्वारीमा रामप्रसाद श्रेष्ठ, मल्लरानीमा शिवराज श्रेष्ठ र नौबहिनीमा डिलाराम थापा मगरलाई पालिका प्रमुखमा जनजाति समुदायबाट उम्मेद्वार बनाएको छ । उपाध्यक्ष मात्रै उम्मेद्वारी दिनुपर्दासमेत झिमरूकमा विष्णु जीएमलाई उठाएको छ भने जनजाति समुदायबाट माण्डवीमा सम्झना घर्ती र गौमुखीमा मगर समुदायकी छोरी ज्ञानुमायालाई उपाध्यक्षमा उम्मेद्वार बनाएको तथ्य स्पष्टै छ ।

जेण्डरको नाममा करोडौं डलर खेलाउने र मस्तीपूर्ण जीवन जिउने देउवापत्नी डा. आरजु, महिला समानताको भाषण गरेर नथाक्ने मोहनविक्रमपत्नी दुर्गा, लीलामणिपत्नी शशी, कृष्णध्वजपत्नी रेखा र वाइवीपत्नी उर्मिलाहरू यस्तो अभ्यासमा एक शब्द नबोली विगतमा महिला सशक्तिकरण तथा जागरणका खातिर आ–आफ्ना अनेमसंघको नेतृत्व गरी बसेको सकारात्मक इतिहाससमेत खरानी बनाउने कार्य गरेको देखिनु झन् खेदजनक छ । देउवापत्नीबाहेक बाँकी चारै जना महाशयाहरू प्युठानकै बुहारी नेतृहरू भइकन यस्तो अवस्थामा मौनब्रत बस्नु अझ मजाकको उदाहरण भएको छ ।

पिताजी कृष्णप्रसादका श्रीमती तथा बीपी–मातृका कोइराला र मनमोहन–भरतमोहन अधिकारीका आमाहरूले यस्तै पुरूषप्रधान हैकम र हालीमुहालीलाई थाहा दिन वि.स. १९७४ सालमा सिरहामा ‘महिला समिति’ गठन गरी चन्द्रशम्शेरका ‘रानी’हरूलाई फाटेका लुगा र चुराआदि पार्सल गरी पठाएको गौरवशाली इतिहास रहेको छ ।

जुद्दशम्शेरकी नातिनीपनाती (?) फस्ट लेडी रहेको आजको नेपालमा महिला अधिकार र उम्मेद्वारीविरोधी सरकार र पाँच दलीय ठगबन्धनलाई चुरापोते, लुंगी र डोरीरिबन पार्सल गरेर पठाइदिने अभियान नै सञ्चालन गर्नुपर्ने हो त ? जबकि राणाका रानी र महाराजका महारानीले त ती व्यवस्था र कालमा अहिले हाकाहाकी महिलाको हकअधिकार खोसिंदा मौन र बेखबर नेतृहरूले भन्दा बढी सम्मान, मर्यादा र सुखको उपभोग गरेका थिएनन् र ? महिला मन्त्रीका श्रीमानलाई ‘मन्त्रो’ भनेर सम्बोधन गर्न भन्ने परमादेश सरकारका मन्त्रीले यस्तो नकारात्मक अभ्यासमा मौनता साँध्नुलाई त एकदम स्वाभाविक नै मानिएको होला !

खासमा पाँचदलीय गठबन्धन देशव्यापी रूपमा महिलाविरोधी सावित भएको छ र महिलाहरूलाई देशैभरी र प्युठानमा पनि केबल भोट खसाल्नमा सीमित गरेको छ । यो सरासर महिलाको अपमान, तिरस्कार, तेजोबध, संवैधानिक र कानुनी व्यवस्था तथा समानुपातिक समावेशिताको अभ्यासविपरीत पश्चगमन नै रहेको स्पष्ट छ ।

प्रतिक्रिया
सम्बन्धित