बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

समलिङ्गी पुरुषलाई राख्ने संसारको एकमात्र जेल

दैनिक नेपाल २०७९ वैशाख १५ गते १०:३९

काठमाडौँ, १५ वैशाख । अष्ट्रेलियाको सबैभन्दा चिसो र हावा चल्ने शहरमध्ये एकमा बनेको कूमा जेलमा थुप्रै गम्भीर राज कैद छन् ।

सन् १९५७ मा यसलाई ‘समलिङ्गी अपराध’ गर्ने पुरुषलाई कैद गर्ने विशेष उद्देश्यले पुनः खोलिएको थियो । यसको अन्तिम लक्ष्य समाजबाट समलैङ्गिकतालाई समाप्त गर्नु थियो । यसका लागि यो जेलको उद्देश्य मानिसमाथि परीक्षण गर्नु थियो ।

एक नयाँ पोडकास्टका अनुसार कूमाको जेल संसारको एक्लो ज्ञात समलैङ्गिक जेल हो । समलिङ्गी बन्दीलाई यो जेलमा छुट्टै राख्नुको वास्तविक कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । यहाँसम्म कि जेलका थुप्रै कर्मचारीलाई पनि यसबारे थाहा छैन ।

हाल ६६ वर्ष पुगेका ले स्ट्रेजेलेकीले सन् १९७९ मा यो जेलमा एक कस्टोडियल सेवाका अधिकारीको रुपमा काम गर्न सुरु गरेका थिए । पछि उनलाई कूमामा ‘करेक्टिभ सर्भिसेज म्युजियम’ को स्थापना पनि गरे । सुरक्षालाई ध्यानमा राखेर बन्दीलाई त्यहाँ राखिएको उनको विश्वास छ ।

उनी बीबीसीसँग भन्छन्, ‘कूमा सुरक्षा गर्ने एउटा संस्था हो । हामी समलिङ्गी बन्दीमाथि । लेखिएको लालमोहर लगाउँथ्यौँ । यसको अर्थ यो थियो कि उनीहरुलाई साधारण जेलमा राख्न सकिँदैनथ्यो ।’ उनी भन्छन्, ‘सिड्नीको लङ बे जस्तो ठूलो जेलमा उनीहरुमाथि हिंसाको खतरा थियो ।’

यस्तै, यही जेलमा कर्मचारीको रुपमा काम गरेका क्लिफ न्यूले यहाँ बन्दीहरुमाथि कठोर व्यवहार गर्ने उद्देश्यले यहाँ राख्ने गरेको दाबी गरे । उनले पोडकास्ट सिरिज ‘द ग्रेटेस्ट मेनेस’ लाई दिएको जानकारी अनुसार सन् १९५७ मा पुनः जेल खोलिएपछि यहाँ मनोवैज्ञानिक र मनोचिकित्सक सधैँ आइरहन्थे ।

यस्तो बन्दीलाई परिवर्तन गर्ने हिसाबले गर्ने गरिएको हुनसक्ने उनको बुझाई छ । उनी भन्छन्, ‘तिनीहरुले उनीहरुलाई ‘सही’ बाटोमा ल्याउने कोसिस गर्दथे । तिनीहरुले उनीहरुलाई ठिक पार्न सक्छन् जस्तो उनीहरुलाई लाग्थ्यो ।’

उनका अनुसार यसैकारण बन्दीलाई सिंगल सेलमा राखिन्थ्यो । ९४ वर्षका मिस्टर न्यू भन्छन्, ‘तपाईंले दुईजनालाई सँगै राख्न पाउनु हुँदैनथ्यो । हाम्रो सबैभन्दा ठूलो समस्या भनेको उनीहरुमाथि निगरानी गर्ने हुन्थ्यो ।’

न्यू साउथ वेल्समा समलैङ्गिकता अपराध थियोः

ऐतिहासिक दस्तावेजका अनुसार न्यू साउथ वेल्सका न्यायमन्त्री रेग डाउनिङले यो जेलको स्थापनाको श्रेय लिएका थिए ।

उनले सन् १९५७ मा सिड्नी मर्निङ हेराल्ससँग आफ्नो यो प्रिय परियोजनामाथि गर्व जताएको बताइन्छ । उनले भनेका थिए, ‘युरोप वा अमेरिका कतै पनि मैले यस्तो जेल पाइनँ जहाँ समलिङ्गीलाई अन्य बन्दीभन्दा भिन्न राख्ने गरिन्थ्यो ।’

रेड डाउनिङले सन् १९५८ मा प्रेसलाई दिएको वक्तव्यमा कूमाको जेललाई संसारको एक्लो ज्ञात जेल बताइएको थियो । यसलाई विशेषगरी समलिङ्गी बन्दीलाई बन्द गरेर राख्नका लागि बनाइएको थियो ।

न्यू साउथ वेल्समा सन् १९८४ सम्म समलैङ्गिकता एउटा अपराध थियो । यस्तोमा कूमाको यो जेलमा समलिङ्गी हुँदा वा समलैङ्गिकतासँग जोडिएको अपराधको मामिलामा बन्दी बनाएर राखिन्थ्यो ।

सन् १९५५ मा राज्यको नयाँ र कठोर कानुनले समलिङ्गीहरुमाथि कडा प्रहार गर्यो । राज्यका प्रहरी आयुक्त कलिन डेलानेले यो मामिलामा कडा नीति अघि सारे । तत्कालीन अटोर्नी जनरलका अनुसार ‘यो खराब प्रवृत्तिसँग जुध्नका लागि सुधार गर्ने कानुन थियो जसको तुरुन्त आवश्यकता पनि थियो ।’

इतिहासकार गैरी वोदरस्पूनले बीबीसीसँगको कुराकानीमा भने, ‘नयाँ प्रावधान अन्तर्गत कुनै पुरुषले अर्को पुरुषसँग कुरा गर्दा पनि पक्राउ गर्न सकिन्थ्यो । यो कानुनी परिवर्तनले समलिङ्गी सम्बन्ध स्थापित गर्ने इच्छा राख्ने पुरुषको स्वतन्त्रतामाथि व्यापक रुपमा प्रहार गर्दथ्यो ।’

समलिङ्गी सम्बन्ध स्थापित गरेको अपराधमा १४ वर्षको सजायको प्रावधान राखिएको थियो । यस्तो प्रयास गरेको खण्डमा पाँच वर्षको सजाय दिइने प्रावधान थियो । यो कानुनमा भनिएको थियो, ‘सहमति वा असहमतिमा समलिङ्गी सम्बन्ध बनाउनु अपराध थियो ।’

यौन सम्बन्धको लोभ देखाएर पक्राउः

प्रमाणलाई उद्धृत गर्र्दै वोदरस्पुन र पोडकास्ट दुबै भन्छन् कि समलिङ्गी क्रियाकलापमा पुरुषलाई पक्राउ गर्नका लागि प्रहरीका एजेन्ट उत्तेजकको रुपमा काम गर्ने गर्दथे ।

वोदरस्पून दाबी गर्दै भन्छन्, ‘उनीहरु धेरैजसो सार्वजनिक शौचालयमा यौन सम्बन्ध स्थापित गर्ने प्रलोभन दिएर समलिङ्गी पुरुषलाई फसाउँथे ।’

सन् १९५८ मा न्यू साउथ वेल्स सरकारले ‘समलैङ्गिकताको कारण र उपचार’ को अनुसन्धानका लागि एक समितिको घोषणा गरेको थियो । उक्त समितिमा ‘औषधी, मनोचिकित्सा, दण्डशास्त्र र सामाजिक र नैतिक कल्याण क्षेत्रका विशेषज्ञ’ पनि समावेश थिए ।

यसमा दुई पादरी, दण्ड प्रणालीका दुई वरिष्ठ कर्मचारी र सिड्नी विश्वविद्यालयका दुई शिक्षाविद पनि समावेश थिए ।

उक्त समितिले कूमा जेललाई ‘दोषी समलैङ्गिक अपराधीका लागि विशेष संस्थान’ बनाउने सिफारिस गर्यो ।

‘समस्याको वैज्ञानिक मूल्याङ्कन र सम्भावित समाधान’ फेला परेपछि डाउनिङले यस्तो भनेको सुनियो, ‘यो समस्यालाई कडा प्रहार गर्नुपर्छ भन्ने सरकारको मान्यता छ ।’

यो जेलमाथि अनुसन्धान गर्न वर्षौं बिताउने पोडकास्ट निर्माता तथा पत्रकार पेट्रिक अब्बूद भन्छन्, ‘हामीलाई थाहा छ कि मनोचिकित्सकले ‘तपाईंकी आमाको नियन्त्रणले गर्दा तपाईंले अन्य महिलालाई मन पराउन पाउनुभएन रु’ जस्ता प्रश्न सोधियो । त्यसपछिको निष्कर्षले भन्छ – आमाको अत्यधिक नियन्त्रण नै समलैङ्गिकताको प्रमुख कारण हो ।’

उनी भन्छन्, ‘हामीलाई थाहा छ कि उनीहरु समलैङ्गिकतालाई जरैबाट मेटाउने आफ्नो मिसनमा बिफल रहे किनभने हामीले पोडकास्टमार्फत् थाहा पायौँ कि समलिङ्गी पुरुषले उक्त जेलमा पनि सम्बन्ध स्थापित गरे । केहीले त जेलमा आफ्ना प्रेमीलाई भेट्नका लागि पुनः अपराध गरे ।’

र ती रिपोर्ट कहिल्यै खोज्न सकिएन । अब्बूदका अनुसार यसको अर्थ त्यसलाई जानीजानी लुकाइएको हो । वोदरस्पून पनि यस्तै मान्छन् । यद्यपि, अहिले यो स्पष्ट छैन कि समलिङ्गी कैदीलाई कूमा पठाउने सिलसिला कहिले रोकियो । वोदरस्पून भन्छन्, ‘धेरैभन्दा धेरै रेकर्ड या त हटाइए वा नष्ट गरिए ।’

न्यू साउथ वेल्सकी करेक्टिव सर्भिसेज र त्यहाँकै कम्युनिटिज र जस्टिस विभागले ऐतिहासिक प्रकृतिलाई उद्धृत गर्दै यी आरोपमाथि बोल्न अस्वीकार गरिदियो ।

अब्बूदका अनुसार ८० को दशकको सुरुसम्म त्यहाँ समलिङ्गी कैदीलाई पठाइएको होला किनभने यो मामिलाका मन्त्रीले सन् १९८२ मा उक्त नीति त्यो समयमा जारी गरिएको भन्ने बयान दिएका थिए ।

अब्बूदका अनुसार यौन अपराधीलाई पनि कूमा पठाइयो र त्यसपछि समलिङ्गी कैदी थप बदनाम भए । वोदरस्पून भन्छन्, ‘धार्मिक भेदभावसम्बन्धि विधेयकमाथि संसदमा हालै भएको बहसमा यौन रुचीका आधारमा भेदभावलाई अनुमति दिने कुरा भएको छ ।’ यस्तो नहोस् भनेर हामी धेरै सचेत हुनुपर्ने उनको भनाई छ ।-बीबीसी

प्रतिक्रिया
सम्बन्धित