
काठमाडौँ, २९ चैत । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन गैरजिम्मेवारपन भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु सरकारको गैर जिम्मेवारपन भएको बताएका हुन् ।
४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा राष्ट बैंकले छानबिन गर्न पाउने बताउँदै नेता कोइरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरु राष्ट्र बैंकले रोक्ने भएकाले अधिकांश लोकतान्त्रिक देशहरुमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने बताए ।
विदेशी मुद्रा सिञ्चिति कम भइरहेका बेला विलासिताका सामग्रीहरुको आयात रोक्ने निर्णय मन नपरेको भन्दैमा गभर्नर अधिकारीको निलम्बन गर्नु गलत भएको कोइरालाले बताए ।
नेता कोइरालाले देशको आर्थिक स्थिति कमजोर भइरहेको बेलामा विलासिताका सामान, मरिच, सुपारी, मटर दाना लगायतका सामग्रीहरु आयात गर्नैपर्ने आवश्यक्ता किन छ भन्ने प्रश्नको उत्तर सरकारले दिनुपर्ने बताए । त्यस्तै, उनले सरकारले गरेका राजदूत नियुक्तिहरु प्रति पनि आपत्ति जनाएका छन् ।
उनले सरकारले राजदूतहरुमा गरेको नियुक्ति संविधानविरुद्ध भएको र त्यसमा समावेशी नभएको बताएका छन् ।
उनले काँग्रेस पार्टी लोकतन्त्रवादी भएकोले कम्युनिष्ट पार्टीहरू जस्तो मनलाग्दी भन्न र गर्न नमिल्ने बताए ।















प्रतिक्रिया