११ कार्तिक २०८३, बुधबार

वैशाखसम्म मेलम्चीको पानी काठमाडौँमा आउँछ : मन्त्री चौधरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । खानेपानीमन्त्री उमाकान्त चौधरीले नयाँ वर्षको वैशाखसम्ममा काठमाडौँको धारामा पानी पुग्ने बताउनुभएको छ । मन्त्री चौधरीले सरकारी लक्ष्यअनुसार चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न पाएकोमा खुसी व्यक्त गर्दै सरोकारवालामा आभार प्रकट गर्नुभयो ।

आज मेलम्ची नदीको पानी पुनः पथान्तरण उद्घाटन गर्नुहुँदै मन्त्री चौधरीले सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना, त्याग, तपस्याको स्मरण गर्नुभयो । उहाँले स्थायीरूपमा पानी पठाउन एसियाली विकास बैंकको टोलीले गरेको भौगर्भिक अध्ययनको रिपोट प्रतिवेदन पेस भएपछि कार्ययोजना बनाइने बताउनुभयो ।

मन्त्री चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गर्नुभयो । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो ।

सोही अवसरमा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै खानेपानीमन्त्री उमाकान्त चौधरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउनुभयो ।

एघार बुँदे ज्ञापनपत्र बुझाउँदै अध्यक्ष शेर्पाले हेलम्बुका बाढीपीडितलाई सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध गराउने रकम प्रतिपरिवार पाँच लाख तोकिएकामा उक्त रकम बढाएर प्रतिपरिवार कम्तीमा रु १५ देखि २० लाख रकम उपलब्ध गराउने व्यवस्था मिलाइदिन अनुरोध गर्नुभयो ।

उहाँले मेलम्चीको पानी काठमाडौँ लगेबापत रोयल्टीको र बिक्री मूल्यको प्रतिशतमा मुनाफा बाँडफाँटबापतको २५ प्रतिशत सम्बन्धित गाउँपालिकालाई उपलब्ध गराउने व्यवस्थाका लागि ठोस पहल गर्न आग्रह गर्नुभयो ।

सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पु¥याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्न सक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।

परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यही दिन मेलम्ची नदीमा बाढी आएसँगै मेलम्चीको पानी वितरण प्रक्रिया अवरुद्ध बनेको थियो । सुरुङमा प्रतिसेकेण्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, मन्त्रालयका सहसचिव तिरेसप्रसाद तिवारी, प्रमुख जिल्ला अधिकारी बेद निधि खनाल, गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालगायतको उपस्थिति रहेको थियो ।–रासस