
काठमाडौँ, २८ चैत । नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको बताएका छन् ।
सोमबार काठमाडौँमा चैत २७ गतेबाट सुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौँ सम्मेलनमा सम्बोधन गर्दै भट्टराईले भने, ‘केही मानिसहरुको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन् । केही मानिसहरुको अर्ग्ल्याँइले हाम्रा नीतिहरु गलत ठाउँमा गएका छन् । आज हामीसँग विदेशी मुद्राहरुको सञ्चिति छैन, घटिरहेको छ । चिन्ता व्यक्त भइरहेको छ । किनभने हामीले ज्यादा भन्दा ज्यादा निर्यात गरिरहेका छौँ ।’
उनले स्वास्थ्यको आधाभूत सेवाबाट कुनै पनि उमेर समूहका मानिसहरु बञ्चित हुन नहुने बताए । उनले भने, ‘जनशक्ति उत्पादन गर्ने काममा कति ध्यान दिएका छौँ ? जनसंख्या र जनशक्तिको रेस्यूमा हामी ठिक ठाउँमा छौँ कि छैनौँ यो विषय पनि छलफलको विषय छ । कुनै पनि उमेर समूहका कुनैपनि मानिसहरु स्वास्थ्यको आधारभुत सेवाबाट बञ्चित हुनुहुँदैन।’
भट्टराईले नेपाललले अहिले विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको पनि बताए । उनले नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेको बताए ।
उनले भने, ‘आज शिक्षा, स्वास्थ्यमा भएको नियोजनले हाम्रा कतिपय विद्यार्थीहरु पढ्नको लागि विदेश पलायन भइरहेका छन् । त्यसले हाम्रो मुद्रा कति बाहिरिरहेको छ । के हामीले यसको कुनै आँकलन गरेका छौँ ?’
सचिव भट्टराईले जनशक्ति उत्पादन दिने कुरामा ध्यान दिँदै जनसंख्या र जनशक्ति उत्पादन गर्ने कुरालाई सन्तुलित बनाउन आवश्यक रहेको बताए ।















प्रतिक्रिया