
काठमाडौँ, १५ चैत । सुनसरीको बराहक्षेत्रमा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणीको मुद्दाको आजलाई पेशी तोकिएको छ ।
उनीविरुद्धको मुद्दामा उच्च अदालत विराटनगरमा आज पेशी तोकिएको भए पनि सुनुवाइ हुने सम्भावना कम छ । यसअघि फागुन २५ गतेको गोलाप्रथामा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इजलासमा परेको थियो । मुख्य न्यायाधीश श्रेष्ठले ‘म रहितको इजलाशमा पेश गर्नु’ भन्ने आशयको आदेश दिएर आजका लागि पेशी तोकेका थिए ।
यसअघि श्रेष्ठले जिल्ला अदालत सुनसरीमा ३ लाख धरौटीमा उनलाई रिहा गर्ने आदेश दिएका थिए ।
हाल उच्चमा भएका ९ जना न्यायाधीशमध्ये ४ जनाले सो मुद्दा हेर्न नमिल्ने भएको छ ।
करणीको आरोपमा गत २०७६ पुस १० गते सिद्धबाबाविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो । सुनसरी बराहक्षेत्र नगरपालिका–१ चतरा हनुमान मन्दिरस्थित जगत गुरु आश्रममा बस्ने सिद्धबाबा धर्मगुरु हुन् ।














प्रतिक्रिया