५ कार्तिक २०८३, बिहिबार

युक्रेन प्रवेश गर्न सेनालाई रुसी राष्ट्रपतिको आदेश, राष्ट्रसंघले बोलायो आपतकालीन बैठक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा प्रवेश गर्न सेनालाई आदेश दिएका छन्। युक्रेनमा प्रवेश गर्न रुसी सेनाले आदेश पाएपछि संयुक्त राष्ट्रसंघले सम्भावित खतरालाई नियन्त्रण गर्ने विषयमा सुरक्षा परिषदको वैठक बोलाएको छ।

युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई पुटिनले स्वतन्त्र राज्यको रूपमा मान्यता दिने पनि बताएका छन्। यससँगै रुस र युक्रेनबीचको विवाद उत्कर्षमा पुगेको छ। पुटिनले रुसी सेनालाई पूर्वी युक्रेनमा पर्ने सोही क्षेत्रमा शान्ति स्थापनाका लागि परिचालन हुन आदेश दिएको हो। रुसी सेनाहरु अब त्यहाँ पुग्नेछन्।

स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्।

रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बताइएको छ। उक्त कदमले युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित छन्।

संकट निकै उत्कर्षमा पुगेका बेला न्युयोर्कमा मंगलबार बिहानै सुरक्षा परिषदको वैठक बोलाइएको हो। तर युक्रेन सुरक्षा परिषदको सदस्य राष्ट्र होइन। त्यसमाथि रुस सुरक्षा परिषदको स्थायी सदस्य हो र उसँग भिटो शक्ति छ।

जसकारण यो वैठकको परिणाम के आउँछ केही भन्न सकिन्न। –एजेन्सी