शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

भारत तथा अन्य मुलुकतर्फको निर्यात बढे पनि चीनतर्फको घट्यो

दैनिक नेपाल २०७८ पुष ३० गते १०:३८

काठमाडौं, ३० पुस । नेपालबाट विदेशमा हुने निर्यातमा केही सुधार आएको छ ।

चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा कुल वस्तु निर्यात १०५ दशमलव ६ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका आधारमा वैदेशिक व्यापारतर्फ आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल वस्तु निर्यात १०५ दशमलव ६ प्रतिशतले वृद्धि भई रू. १०२ अर्ब ९२ करोड पुगेको उल्लेख छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १३८ दशमलव ० प्रतिशत र २८ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १ दशमलव ४ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जस्तापाता, तार, तामाको तार लगायत वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल वस्तु आयात ५९ दशमलव ५ प्रतिशतले वृद्धि भई रू. ८३८ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९ दशमलव ६ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४ दशमलव ६ प्रतिशत, ५७ दशमलव ८ प्रतिशत र १११ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधि, यातायातका साधन तथा पार्टपूर्जा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित