
काठमाडौं, १७ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढिरहेको दाबी गरेका छन् ।
राजधानीमा बिहीबार भएको साक्षात्कारमा बोल्दै उनले एमाले नै आगामी निर्वाचनपछि पनि पहिलो दल बन्ने र बहुमत ल्याउने दाबी समेत गरेका छन् । उनले भने, ‘नेपालको इतिहासमा यति धेरै जनसहभागिता कुनै पनि पार्टीको कार्यक्रममा भएको थिएन । मैले सबै दलका महाधिवेशन, अधिवेशन, आमसभा हेरेको छु, यसपटकको हाम्रो महाधिवेशनमा पाँच लाख जनता उतार्ने योजना थियो । तर, त्योभन्दा पनि धेरै जनसमुदायको उपस्थितिमा हाम्रो उद्घान सम्पन्न भयो ।’
यसले एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो अवस्थामा रहेको पुष्टि गर्ने उनको भनाइ छ । ‘जनहसहभागिताका हिसाबले १०औं राष्ट्रिय महाधिवेशन ऐतिहासिक भयो । इतिहासमै कुनै एउटा पार्टीले यत्रो जनसमुदायको उपस्थितिमा कार्यक्रम गरेको थिएन । अहिले पनि एमाले संसदमा सबैभन्दा ठूलो पार्टी छ । आउने दिनमा पनि यो पार्टीले बुहमत ल्याउने कुरा स्थापित भइसकेको छ । यो कुरा चितवनको जनसभाले पुष्टि भयो,’ उनले भने ।
साथै उपाध्यक्ष ज्ञवालीले फेरि पनि वामपन्थीहरूबीच एकताको आवश्यकता रहेको औंल्याएका छन् । ‘एमालेसामू चूनौती छन्, एउटा पार्टी फुटेर तीन टुक्रा भयो । एमाले पनि फुटेको छ । हामीले सरकार ५ वर्ष चलाउन सकेनौं । अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । हामीले कमीकमजोरी कहाँ रह्यो भनेर समीक्षा गर्नुपर्छ । हामीले विचार, प्रवृत्ति, सोच, दृष्टिकोणलाई समीक्षा गर्न जरुरी छ,’ उनले भने, ‘पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । मैले आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्छु । फेरि पनि वामपन्थीबीच एकता आवश्यक छ ।’
नेकपाको एकता बचाउन नसकेकोमा दुःख व्यक्त गर्दै ज्ञवालीले अब एकले अर्कालाई आरोपित गरेर मात्रै समस्याको समाधान नहुने धारणा व्यक्त गरेका छन् । ‘अब एउटा नेतालाई मात्रै दोष दिएर हुँदैन् । एकता बचाउन नसक्नुमा सबैको दोष छ । जनमत किन टिकाउन सकेनौं ? भनेर आत्मसमीक्षा गर्नुपर्छ । विगतका कुरामा आरोपित गर्नुहुँदैन् । फेरि पनि वामपन्थीहरू र कम्युनिष्टहरूको बीचको एकता आवश्यकत्ता छ । सबै पार्टीका नेता तथा कार्यकर्ताहरूले सकारात्मक रूपले सोच्नुपर्छ ।’















प्रतिक्रिया