९ कार्तिक २०८३, सोमबार

एउटै विद्यालयका २८ जना शिक्षक–विद्यार्थीमा कोरोना संक्रमण भएपछि विद्यालय बन्द

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका–१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

८२ जनाको पीसीआर परीक्षण गर्दा २६ जना विद्यार्थी र दुई जना शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।

दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप विद्यार्थीको पीसीआर परीक्षण गरिएको थियो । विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बलेवा क्षेत्रका विद्यालय केही दिन बन्द गरेर एन्टिजिन परीक्षण गर्न नगर शिक्षा शाखालाई अनुरोध गरिएको खनालले बताए ।

बलेवा क्षेत्रमा बागलुङ नगरपालिका १२, १३ र १४ नम्बर वडा पर्छन् । बिहीबार थप तीन स्थानीय बासिन्दामा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

कोरोना संक्रमण पाइएपछि स्वास्थ्य कार्यालयको टोली आज जान लागेको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए ।

बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय संक्रमित रहेकामा बिहीबारमात्रै थप संक्रमित थपिएपछि संख्या ४१ पुगेको छ । दुई जना संक्रमित धौलागिरि अस्पतालको आइसोलेशनमा छन् ।