९ कार्तिक २०८३, सोमबार

दार्चुलामा भारतको सहयोगमा निर्मित दुईवटा विद्यालय भवन उद्घाटन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । दार्चुलामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको दुईवटा विद्यालय भवन उद्घाटन गरिएको छ ।

जिल्लाको श्री मोती महिला संघ प्राथमिक विद्यालय र श्री मालिकार्जुन नमूना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनहरुको हिजो आइतबार उद्घाटन गरिएको हो ।

भारत सरकारको १ करोड २७ लाख रुपैयाँ आर्थिक सहयोगमा दार्चुलाको खलंगास्थित तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको नयाँ विद्यालय भवनको भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पा, जिल्ला समन्वय सिमिति, दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले उद्घाटन गरे ।

सन् १९६० मा स्थापना भएको सो विद्यालयले लामो समयदेखि गुणस्तरीय प्राथमिक तहको शिक्षा प्रदान गर्दै आएको छ । उक्त विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू दार्जुला जिल्लाका सीमान्तकृत तिंकरी र भुटिया समुदायका रहेका छन् ।

हाल उक्त विद्यालयमा अध्ययनरत ३९१ विद्यार्थी मध्ये ५० प्रतिशत छात्रा छन् । नवनिर्मित भवनले ग्रामीण क्षेत्रको सिकाई वातावरणलाई सुधार गर्नुका साथै सो जिल्लाको शैक्षिक विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ ।

सोही दिन भारत–नेपाल विकास सहकार्य अन्तर्गत भारत सरकारको २ करोड ३३ लाख रुपैयाँ आर्थिक सहयोगमा दार्चुला जिल्लाको महाकाली–७ धापस्थित श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको पनि भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पा, महाकाली नगरपालिका, दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुद्वारा उद्घाटन गरिएको छ ।

सन् १९६६ मा स्थापना भएको यो विद्यालय सन् १९८४ मा माध्यमिक तहमा स्तरोन्नति भएको हो । यो विद्यालय सुदूरपश्चिम क्षेत्रमा अवस्थित छ । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुलाई राख्न यसअघिको पूर्वाधार अपर्याप्त थियो ।

भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण भएको यस दुई तल्ले नवनिर्मित विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सृजना गर्नाका साथै जिल्लाको शैक्षिक विकासमा समेत योगदान पुर्याउने विश्वास लिइएको छ ।