
काठमाडौं, १३ मंसिर । काठमाडौं, बर्दिया, महोत्तरी, कपिलवस्तु, नवलपरासी(पूर्व) र कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका-१५ डल्लु नयाँपुल नजिक सडकमा बा.२ ख ४७४९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । टिपरलाई नियन्त्रणमा लिनुको साथै हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बर्दियाको मधुवन नगरपालिका-६ गाउँ नम्बर ४ स्थित सडकमा भे.६ प ७६४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सोही ठाउँस्थित सिरगैडा बस्ने ५० वर्षीय धनीराम चौधरीको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरीको बर्दिवास नगरपालिका-४ बिश्वकर्मा चोकमा आइतबार साँझ भएको सवारी दुर्घटनामा प्र.२ -०२-००१ प ५०११ नम्बरको मोटरसाइकल चालक गौशला नगरपालिका-१ रामनगर बस्ने ३६ वर्षीय अरबिन्द साह शंकरको मृत्यु भएको छ । उक्त चोकमा सोही मोटरसाइकल र बा.७७ प ४२४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई प्र.२ -०२-००१ प ५०११ नम्बरको मोटरसाइकल पुन: ना.६ ख १०३६ नम्बरको ट्रकमा ठक्कर खाइ भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका बा.७७ प ४२४३ नम्बरको मोटरसाइकल चालक बर्दिवास नगरपालिका-४ बस्ने २० वर्षीय सुरेश गजमेर र सोही मोटरसाइकलमा सवार सोही नगरपालिका-१ बस्ने २० वर्षीय सबिन हायूको सोही अस्पतालमा उपचार भइरहेकोमा हायुलाई थप उपचारको लागि जनकपुरतर्फ पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका-७ बनगाईस्थित सकडमा लु.२ ख ५८२२ नम्बरको बसले लु.७८ प ६१४८ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ बस्ने २१ वर्षीय मनोज थारूको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको एडमन्ट सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय संजय थारूको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी(पूर्व)को कावासोती नगरपालिका-११ लौघाईस्थित सडकमा लु.१ ह १०३३ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४९ वर्षीय गोपाल चापागाईको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका उनकै श्रीमती र छोरालाई सोही अस्पताल हुँदै थप उपचारका लागि भरतपुरतर्फ पठाइएको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कैलालीको गोदावरी नगरपालिका-८ स्याउले चोकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । अनुसन्धानका लागि ना.६ ख ५२६६ नम्बरको ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया