शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

धादिङ कांग्रेसको सभापतिमा क–कसको चर्चा ?

दैनिक नेपाल २०७८ भदौ २९ गते ११:५६

धादिङबेसी, २९ भदौ । नेपाली कांग्रेस धादिङको जिल्ला सभापतिका लागि चार जना नेताहरूको नाम चर्चामा आएको छ ।

पूर्वसांसद एवम् पूर्व सभापति रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, पूर्वमन्त्री दिलमान पाख्रिन र वर्तमान जिल्ला सभापति रमेश धमलाले सभापतिमा दाबी गरेका छन् ।

१३औँ महाधिवेशनमा धादिङमा महामन्त्री शशांक कोइराला निकट मानिने रमेश धमलाले झिनो मतअन्तरले जितेका थिए । धमलासँग ढुंगाना २६ मतले पराजित भएका थिए ।

यस पटक सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट ढुंगाना र पाख्रिनको नाम चर्चामा छ ।

ढुंगाना धादिङ कांग्रेसका नेता कार्यकर्ताका बीच अलिक धेरै लोकप्रिय मानिन्छन् । कार्यकर्ताहरूका अनुसार ढुंगानाले नेता कार्यकर्तालाई ठूलो स्वरले कहिल्यै पनि हप्कीदप्की नगर्ने नेतामा पर्छन् ।

नीकलण्ठ नगरपालिकाको मेयर भएका कारण ढुंगानामा कार्यकर्ता संरक्षण गर्नुपर्छ भन्ने भावना अलिक बढि रहेको चर्चा छ ।

जिल्ला अधिवेशनका बेला उम्मेदवारी दिने क्रममा ढुंगाना र पाख्रिनमध्ये एकजनाले सभापतिमा उम्मेदवारी दिनेछन् । ढुंगाना र पाख्रिन मिल्ने नेताहरू हुन् । एकले अर्कालाई राजनीतिमा सधैँ सहयोग गर्दै आएका छन् ।

नेता रामचन्द्र पौडेल समूहबाट पूर्व पार्टी सभापति अधिकारी र हालका सभापति धमलाले उम्मेदवारी दिने चर्चा छ । धमलाले पार्टी सभापतिमा दोहो¥याउन खोजेका छन् । पौडेल समूहबाटै अधिकारीले पनि पुनः सभापति पदमा लोभ देखाएका छन् ।

अधिकारीले दुई पटकसम्म पार्टी सभापति चलाइसकेका छन् । १७/१८ वर्षसम्म धादिङ कांग्रेसको नेतृत्व गरेका अधिकारी प्रतिनिधि सभाका पूर्वसांसद पनि हुन् ।

धादिङका १०४ वटामा वडामा वडा अधिवेशन सम्पन्न भएसँगै जिल्ला सभापतिमा चर्चा शुरु भएको हो । सभापतिमा उम्मेदवार बन्न चाहेकाहरूले प्रचार प्रसार समेत गर्न थालेका छन् ।

धादिङ कांग्रेसमा ढुंगानालाई युवाहरूले अलिक धेरै रुचाउँछन् । ढुंगानाले युवाका साथै गाउँका नेता कार्यकर्तालाई समस्या पर्दा संरक्षण गर्दै आएका छन् ।

वर्तमान सभापति धमला पर्यटन व्यवसायी हुन् । व्यवसायबाट राम्रो पैसा आर्जन गरेका धमला पनि युवाहरूलाई सहयोग गर्छन् । सानो चित्त भएका सभापति धमलाले नेपाल तरुण दल धादिङले गरेको कार्यक्रममा सानो मिस्टेक भएपछि बहिस्कार नै गरेर हिँडेको नमिठो उदाहरण पनि छ ।

पूर्व सांसद अधिकारी सबै पक्षलाई मिलाउन सक्ने क्षमता राख्छन् । गुटभन्दा माथि उठ्न नसक्ने बानी रहे पनि अधिकारी तुलनात्मक रुपमा राम्रो र असल नेतामा गनिन्छन् ।

पूर्वमन्त्री पाख्रिन पनि धादिङमा लोकप्रिय मानिन्छन् । उनले पनि नेता कार्यकर्तालाई संरक्षण गर्ने नेतामा गनिन्छन् । उनलाई जनजाती नेता कार्यकर्ताको अलिक धेरै समर्थन छ ।

धादिङ कांग्रेसलाई मिलाउन नसकेको भनेर हालका सभापति धमलाको बेलाबेला आलोचना हुने गरेको छ । धमलाले धादिङ कांग्रेसमा आफ्ना विरोधीहरूलाई ठेगान लगाउन हदैसम्मको हर्कतहरू गर्ने गरेको आरोप छ ।

महामन्त्री कोइराला निकट भएकै कारण धमलाले बेलाबेला सभापति देउवाविरुद्ध गतिविधि गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित