–शंकर श्रेष्ठ
धादिङ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–४ बोराङ कलदाङमा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
गएराति करिब २ बजे बतासे फेदीबाट बोराङतर्फ उकालो चढ्दै गरेको बा. प्र. ०२०३३ च ७१६९ नम्बरको बोलेरो अनियन्त्रित भई करिब चार सय मिटर तल खसेको हो ।
दुर्घटनामा रुवीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए ।
प्रहरी नायब उपरीक्षक दाहालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका रुवीभ्याली–४ बोराङका ३५ वर्षीया कान्छीमाया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, ३३ वर्षीया मिजोङ तामाङ र ४० वर्षीय चेरोङ तामाङ तथा बोलेरो चालक खनियाँबास गाउँपालिका–१ का ४० वर्षीय डम्बर तामाङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका–११ का २५ वर्षीय ललित बोम्जन, १४ वर्षीय कमल घले र २० वर्षीय बिमल तामाङलाई धादिङ अस्पताल ल्याइँदै गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।
बतासे दोभानमा एकादशी मेलाको पूजा गरेर लापातर्फ फर्किने क्रममा दुर्घटना भएको हो । सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि धादिङ अस्पताल ल्याइँदैछ ।












प्रतिक्रिया