शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

लमजुङको हाइप्रोफाइल बलत्कार काण्डका आरोपी तामझामका साथ छुटे, घटना दबाउन काण्डैकाण्ड

दैनिक नेपाल २०७८ भदौ २९ गते १०:१८

लमजुङ, २९ भदौ । लमजुङ जिल्लामा १४ वर्षीया किशोरी बलात्कार आरोपमा पक्राउ परेका अर्जुनविक्रम थापालाई जिल्ला अदालत लमजुङले धरौटीमा रिहा गरेको छ । बलत्कार अभियोगमा पक्राउ परेका थापा २३ दिन प्रहरी हिरासतमा बसेर अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् ।

विद्यालयमा पढ्ने बालिका बलात्कार जस्तो घटनामा यसअघि पनि पक्राउ पर्दा बालिकालाई विभिन्न प्रभाव र प्रलोभनमा पारेर बयान फेर्न लगाइएकोले फेरि धम्की र प्रभावमा पारेर घटनालाई तोडमोड गर्नसक्ने आशंका जन्मिएको छ ।

जिल्ला अदालत लमजुङमा न्यायाधीश नभएको र अभियुक्तले प्रहरी समक्षको बयान र अदालतको बयानमा समेत आफूले सो किसिमको अपराध गरेको स्वीकार नगरेको तथा मुद्धा पनि घटना घटेको ९ महिनापछि आएको कारण ३ लाख धरौटीमा रिहा गरिएको अदालतका श्रेस्तेदार उदयराज काफ्लेले जानकारी दिएका छन् ।

श्रेस्तेदार काफ्लेका अनुसार न्यायाधीश आएपछि हुने थुनछेक बहसमा यो निर्णय बदर भए थुनामा बस्ने र सदर भएमा अभियुक्तले धरौटीमा छुटेर नै मुद्दा लड्न सक्नेछन् ।

जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा घटनामा संलग्न आरोपितहरुविरुद्ध बलियो प्रमाण अदालतमा पेश गरिएको जनाएको छ । व्यक्तिले बोल्नुभन्दा पनि प्रमाणसहित पेश गरिएको प्रहरीको भनाई छ ।

जाहेरी परेको १४ दिनपछि पक्राउ परेका शिक्षक प्रकाश थापा भने प्रहरी हिरासतमा अनुसन्धानकै क्रममा रहेका छन् । प्रकाश थापा राईनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाका भाइ हुन् ।

यसअघि गत जेठ १९ गते आरोपित शिक्षक थापालाई प्रहरीले पक्राउ गरेर छोडेको थियो । प्रहरी समक्ष पीडित भनिएकी किशोरीले बयान फेरेपछि शिक्षकलाई केही घण्टामै प्रहरीले छोडेका थिए ।

सो समयमा पीडित किशोरीलाई विभिन्न लोभ र डर देखाएर बयान फेर्ने लगाएको पीडितपरिवारका एक सदस्यले बताएका छन् ।

आरोपित शिक्षक पक्राउको विषयलाई लिएर विरोधमा विद्यालयका प्रधानाध्यापक रामप्रसाद गुरुङसहित शिक्षकहरूले विद्यालयको लेटरप्याड प्रयोग गरी विज्ञप्ति निकालेर नै आपत्ति जनाएका थिए ।

विद्यार्थीका अभिभावहरूले जेठ २० गतेका दिन विद्यालय परिसरमा आरोपित शिक्षकविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

अघिल्लो वर्षको पुस–माघ महिनातिर पीडित बालिकाले आफूमाथि शिक्षक थापाले जबर्जस्ती करणी गरेको गत वैशाखमा आफ्ना साथीहरूलाई भनेकी थिइन् । साथीहरूसँग कुरा गरेको एक महिनापछि स्थानीय समूदायमा घटना सार्वजनिक भएको थियो ।

गाउँमा साथीहरुबाट कुरा फैलिंदै जाँदा पीडित भनिएकी बालिकाको परिवारले थाहा पाए लगत्तै प्रहरीलाई खबर गर्‍यो । प्रहरीले आरोपित शिक्षक, पीडित भनिएकी बालिका र उनले जोसँग कुरा गरिन् ती सवै साथीहरुलाई जिल्ला प्रहरी कार्यालयमा झिकायो ।

साथीहरू कै रोहबरमा ती बालिकाले मैले साथीहरूलाई ख्यालठट्टामा मजाक मात्र गरेको भनी बयान दिएको र जाहेरी नपरेको भन्दै थप अनुसन्धान नगरी अभियुक्तलाई कागज गराएर राईनास नगरपालिकाका मेयर सिंहबहादुर थापाको जिम्मामा प्रहरीले छाडेको थियो ।

यसमा बालिकालाई जवर्जस्ती विभिन्न प्रलोभन देखाएर बयान फेर्न लगाएको स्वयं बालिकाका अभिभावबले बताएका थिए । तर राजनैतिक डर र धम्की दिएपछि उनीहरु थप बोल्न नसकि पिल्सिएर बसीरहेको पारिबारीक श्रोतले बताएको थियो ।

विद्यालयका प्राधानाध्यापक गुरुङसहितका शिक्षकहरूले शिक्षक थापाको गल्तीको ढाकछोप गर्न अनेक रणनीति अपनाएका थिए ।

निर्दाेष इमान्दार रहेको र विद्यालयलाई समेत बदनाम गर्ने खोजेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पाण्डेको राजीनामा माग गर्दै शिक्षकहरूले विद्यालय तालाबन्दी समेत गरेका थिए ।

बालिका बलत्कारको घटना सार्वजनिक भएपछि बाल अधिकारका लागि राष्ट्रिय अभियान केन्द्रीय समन्वय समितिले काठमाडौंबाट विज्ञप्ति निकाल्यो । लगत्तै जेठ २२ गते विद्यालय ब्यवस्थापन समिति, राइनास बाल क्लव सञ्जाल, राइनास बाल संरक्षण समितिले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न प्रहरी प्रशासनमा निवेदनसमेत दिए । तत्कालीन प्रहरी प्रमुखले राजनीतिक दवावमा त्यस्तो जघन्य अपराधको घटनाको अनुसन्धान अघि नबढाएको गुनासो स्थानीयको रहँदै आएको थियो ।

घटनालाई ढाकछोप गर्नका लागि सार्वजानिक पद धारण गरेकै व्यक्ति लागि परेको भन्दै स्थानीयले अपराध ढाकछोप गर्ने मतियारलाई पनि कानुनको कठघरामा ल्याउनु पर्ने बताउँदै आएका थिए ।

घटनालाई ढाकछोप गरी धम्कीको भरमा दबाउनको लागि एमालेका उच्च तहका नेतासमेत सामाजिक सञ्जालमा सक्रिय रहेका थिए । उनीहरुले घटनालाई बाहिर ल्याउने सञ्चारकर्मी समेतलाई विभिन्न लान्छना लगाई धम्की दिइरहेका थिए ।

सत्यतथ्य बुझ्न गाउँमा पुगेका सञ्चारकर्मीलाई समेत राईनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले ‘कुरा सकियो, केही थिएन’ भनेर उत्तर दिएका थिए । सञ्चारकर्मीहरू आरोपित शिक्षकसँग कुराकानी गर्न खोज्दा उनले आफूले प्रयोग गर्ने गरेको मोबाइलसमेत श्रीमतीलाई दिएर बाहिर गएको उनकी श्रीमतीले बताएकी थिइन् ।

गाउँमा घटनाको जानकारी कसरी भयो भनेर बुझ्न खोज्दा नगर प्रमुखले कुरा मिलिसक्यो कसैलाई केहि नभन्न धम्की दिएका कारण आफूहरूले कुनै कुरा नगर्ने गाउँलेहरुले बताएका थिए ।

घटनापछि बाल मनोपरामर्शदाताको सहयोग र परामर्शपछि बालिकाले भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा आफूमाथि बलत्कार भएको भन्दै किटानी जाहेरी दिएपछि लगत्तै अर्जुन विक्रम थापा पक्राउ परेका थिए । घटनाका अर्का आरोपी राईनास नगरपालिकास्थित भैरव माविका शिक्षक प्रकास थापा भने भूमिगत भएका थिए ।

विद्यालयका शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कन बुझाउन काठमाडौं गएका भनिएका उनी आफू बिरूद्ध केस परेको थाह पाएपछि लुकेर बसेका थिए । उनको खोजीमा लमजुङ प्रहरीले काठमाडौं, पोखरा, चितवन देखि लमजुङकै विभिन्न स्थानमा प्रहरी खटिएकोमा लमजुङमा लुकीछिपी बसेको अवस्थामा केहि दिनपछि उनी पक्राउ परेका थिए ।

नगरपालिकाका प्रमुखको भाइ भएको र अघिल्लो पटक पक्राउ पर्दा नगर प्रमुख आफ्नै रोहबरमा आवश्यक परे बुझाउने भन्ने कागर गरेर छुटाएर गएका कारण उनैलाई पक्राउ गर्नुपर्ने पिडित र स्थानीयले प्रहरीलाई बताएका थिए । नगर प्रमुख थापा भाइलाई बचाउन विभिन्न शक्तिकेन्द्रसम्म धाए । तर, प्रहरीले उनैलाई समात्न सक्ने भनेपछि मात्र भाइलाई बुझाउन ल्याएका थिए ।

गत जेठ १८ मा बालिका बलत्कारको विषय सार्वजनिक भएको थियो । सो कुरा बाहिर आएपछि गाउँमा खैलाबैला मच्चिएको थियो । लगत्तै ती बालिकाका अभिभावकको ठाडो उजुरीमा प्रहरीले भैरव माविका शिक्षक प्रकास थापालाइ जेठ २० गते पक्राउ गरी सोही दिन सामान्य सोधपुछ गरी छोडेको थियो । पीडित भनिएकी बिद्यार्थीले इन्कारी बयान दिएकाले छोडिएको तत्कालीन लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापाले बताएका थिए ।

त्यतिबेला तत्कालीन प्रहरी प्रमुख गंगाबहादुर थापाले पत्रकारहरूकै रोहबरमा पीडित बालिका वा उनका अभिभावकको उजुरी आए मात्रै कारबाही अघि बढाउन सकिने बताएका थिए । तर बालिका र उनका अभिभावकको तर्फबाट कुनै उजुरी परेको थिएन । पछि ती बालिकालाई मनोसामाजिक परामर्श दिएपछि उनी उजुरी गर्न तयार भएकी हुन् ।

अहिले लमजुङमा प्रहरी प्रमुख पनि फेरिएर कृष्णबहादुर कार्की नयाँ प्रहरी प्रमुख भएर आए लगत्तै ती बालिकाको उजुरी पनि प्रहरीमा आए पछि प्रहरीले कारबाही अघि बढाएको हो ।

अघिल्लोपटक पक्राउ पर्दा सोही घटनालाइ लिएर राइनासको भैरव माविमा ब्यवस्थापन समिति र शिक्षकहरूबीच पानी बाराबारको अवस्था उत्पन्न भएको थियो । घटना बाहिर आएपछि ब्यवस्थापन समितिले घटनाको यथार्थ अनुसन्धान गरी दोषीलाइ कारबाही गर्न प्रहरी प्रशासनलाइ अनुरोध गर्ने निर्णय गरेपछि बिद्यालयका शिक्षकहरूले ब्यवस्थापन समितिको निर्णयका बिरूद्ध विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद गुरूङको अध्यक्षतामा बसेको शिक्षकहरूको बैठकले ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार पाण्डेको राजीनामा नआएसम्म बिद्यालय नखोल्ने भन्दै आन्दोलन गरेका थिए । उनीहरूले निर्दाेष शिक्षकलाइ झुटो मुद्दामा फसाएर आफू अनुकूलको अर्काे शिक्षक भर्ना गर्ने प्रपञ्च रचेको आरोप लगाएका थिए । यो पनि राजनैतिक घटनासँगै पक्ष विपक्षमा विभाजन भएको अवस्था थियो ।

जेठ २० गते गाउँले तथा विद्यालयका अभिभावकहरू विद्यालयमा गइ नाराबाजी गर्दै आरोपी शिक्षकलाइ बर्खास्त गरी कानुनी कारबाहीको माग गरेका थिए । यस्ता घटनाले आफ्ना कलिला नानीहरुलाई बिधालय पठाउन पनि डर भएको भन्दै अभिभावकहरूले विद्यालय पुगरै ती आरोपित शिक्षक र बिद्यालय प्रशासनको बिरुद्ध नारावाजी गरेका थिए ।

दोश्रोपटक किटानी जाहेरी दिएपछि अभियुक्तहरू प्रक्राउ परेपछि पीडितले न्याय पाउने आशा स्थानीय अभिभावकले गरेका थिए । तर, यतिखेर अदालतले धरौटीमा अभियुक्तलाई छोडिदिएपछि फेरी बालिकालाई प्रलोभन, डर, धम्की दिएर बयान फेर्न लगाउने त हैनन् ? भन्ने आशंका गाउँमा उब्जिएको अभिभावकहरुले बताएका छन् । राजनैतिक तहको व्यक्तिले नै घटनाको ढाकछोप गर्दै हिंडेकाले अव विभिन्न प्रपञ्च रचेर बालिकालाई थप तनाव दिन सक्ने डर गाउँलेहरूको छ ।

प्रतिक्रिया
सम्बन्धित