शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सिन्धुपाल्चोकमा सहयोग बाँड्दा अग्निजीले मुद्धा लगाएर फसाउन खोज्नुभयो : नेता बस्नेत

दैनिक नेपाल २०७८ भदौ २९ गते ९:०५

मेलम्ची बजार, २९ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले विपतमा परेका जनताको पक्षमा सधैँ कांग्रेस साथी बनेर सहयोग गर्ने बताएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले जनताको जीवन रक्षाका लागि कांग्रेस जहिले पनि अग्रपंक्तिमा रहने बताए ।

उनले बाढीपहिरोबाट मेलम्ची, हेलम्बु र पाँचपोखरी प्रभावित भएको भन्दै समस्यामा परेका जनतालाई आफू र कांग्रेसका साथीहरूले आर्थिक, खाद्यान्न लगायतका सहयोग गरेको बताए ।

उनले भने, ‘कम्युनिस्ट नेताले पुल हामी बनाउँछौं भनेर बोल्न सकेनन् । बाढीपहिरोले भत्काएको पुल मैले बनाउन पहल गर्छु भने । मेलम्चीको रातोपुल बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणसँग कुरा भयो । पुल कांग्रेसले बनाउँछ ।’

सिन्धुपाल्चोकको प्राकृतिक विपत्ती हेर्न हेलिकप्टर चार्टर गरेर आउनेहरूप्रति कांग्रेस नेता बस्नेतले असन्तुष्टि जनाए । उनले भने, ‘हेलिकप्टरमा आएर हेर्ने र भिडियो खिचेर राख्नेले सहयोग गर्दैनन् भने ती हाम्रा मान्छे होइन । मेलम्ची, हेलम्बु, पाँचपोखरी प्राकृतिक विपत्तीमा छन् । सहयोग गर्नुपर्छ ।’

‘विपत्तीमा परेका जनतालाई कांग्रेसले साथ दिनुपर्छ । जनताको पक्षमा उभिन नसक्ने मान्छे नेता हुन सक्दैन । पार्टी हुन सक्दैन’, उनले भने, ‘कांग्रेसले साथ दिन्छ । पहिला जनता बचाऔँ । त्यसपछि राजनीति गरौँ । जनता नै रहेनन् भने कहाँ राजनीति गर्ने ?’

कोरोना महामारीका बेला स्वास्थ्य सामग्री वितरण गर्दा माओवादी नेता एवम् सभामुख अग्निप्रसाद सापकोटाले आफूहरूलाई मुद्धा लगाएर फसाउन खोजेको नेता बस्नेतले तितो अनुभव सुनाए ।

‘जनताको सेवा गर्दा मुद्धा लगाउन धेरै प्रयास गरेका छन् । हामी डराएनौँ’, उनले भने, ‘म र कांग्रेसको पहिलमा अक्सिजनका सिलिण्डर विदेशबाट पहिलो पटक ल्याएर वितरण गरिएको छ ।’

‘सिन्धुपाल्चोकका जनतालाई रगत कहिले कहाँ आवश्यक पर्छ त्यहाँ कांग्रेसको रगत जान्छ’, नेता बस्नेतले भने, ‘कम्युनिस्ट साथीहरू तपाईलाई रगत चाहिन्छ भने कांग्रेसले दिन चाहन्छ । तपाईहरू गाउँ–गाउँमा संगठनको नाममा कांग्रेसको रगत नखानुस् ।’

‘तपाईका पार्टीका मान्छेलाई चाहिएका बेला कसलाई रगत चाहिन्छ हामी दिन्छौँ’, नेता बस्नेतले भनेका छन् ।

कम्युनिस्टले सिन्धुपाल्चोकका जनतालाई राहत दिन नसकेको बताएका नेता बस्नेतले कांग्रेसका नेता कार्यकर्ताहरूले एकल महिलाको भत्तासमेत दिएर समाज सेवा गर्न खाजेको बताए । एक महिलाले आफ्नो भत्ता कांग्रेसमार्फत दिएर बाढीपहिरो पीडितलाई दिन खोज्दा आफूले रकम फिर्ता गरेर धन्यावाद दिएको नेता बस्नेतले बताएका छन् ।

‘जुरेको पहिरोका लागि एकद्वारको नाममा जिल्ला दैविक प्रकोप कोषमा जम्मा भएको २ करोड २४ लाख रुपियाँ कम्युनिस्टले बाँड्न दिएका छैनन्’, उनले भने, ‘हामीले व्यक्तिगत रुपमा आर्थिक सहायता बाँडेका छौँ ।’

उनले भने, ‘सिन्धुपाल्चोकमा आएको प्राकृतिक प्रकोपमा सहयोग गरेका छौँ । खाद्यान्न, लत्ताकपडासहितका सहयोग गरेका छौँ । आर्थिक सहयोग गरेका छौँ । अभिभावक गुमाएका र अति विपन्न परिवारका बालबच्चालाई काठमाडौं लगेर राम्रो स्कुल र कलेजमा भर्ना गरेर पढाइदिएका छौँ ।’

उनले भने, ‘बाढीपहिरोबाट मृत्यु भएका मृतकका परिवारलाई ५० हजारको दरले हामीले आर्थिक सहयोग बाँड्यौँ । कांग्रेसका साथीहरूले पैसा उठाएर बाँड्यौँ ।’

‘बाह्रबिसे र चौताराको अस्पतालमा रगत अभाव नहोस् भनेर रेफ्रिजेरेटर दिएका छौँ’, बस्नेतले भने, ‘हामीले भनेर मध्यपुर थिमि नगरपालिकाले दिएको ११ लाख रुपियाँ कहाँ गयो ? कम्युनिस्टले त्यो ११ लाख रुपियाँको हिसाव देखाउनुपर्छ ।’

‘मेलम्ची, हेलम्बु, पाँचपोखरीका पीडितलाई केपी ओलीले ५० हजारका दरले पैसा बाँड्छु भन्नुभयो । एक पैसा दिनुभएन’, उनले भने, ‘कम्युनिस्ट भनेका झुठको खेती गर्ने हुन् ।’

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य विष्णुविक्रम थापा, बागमती प्रदेशका सांसद एवम् कांग्रेसका नेता नीमा लामा, सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, सिन्धुपाल्चोक क्षेत्र नं. २ प्रदेश ‘क’का सभापति रामबाबु लुइँटेल, प्रेमध्वज लामा, भोला बोहरा, आशिष खड्कालगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित