दार्चुला, १४ भदौ । लगातारको वर्षाका कारण निजाङ्ग खोलामा आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरू बगाएको छ ।
महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका –३ को सीमाना भएर बग्ने खोलामा आइतबार राति आएको बाढीले श्रीबगडस्थित खोला किनारका थप तीन पसल र एक घर बगाएको स्थानीय लोकेन्द्रबहादुर बमले जानकारी दिएका छन् ।
खोलाले स्थानीय दीपकबहादुर बमको घर तथा सुन्दरबहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको उनले बताए । खोलामा बाढी आउँदा सो क्षेत्रका स्थानीयहरू सुरक्षित स्थानमा गएका छन् ।
श्रीबगडका अन्य घरहरु समेत बाढी पहिरोको उच्च जोखिममा रहेको बताइएको छ । लगातार भइरहेको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेर भारततर्फको तपोवन क्षेत्रमा रहेको एनएचपिसी डुबानमा परेको छ ।
निजाङ्ग खोलामा आएको बाढीले केही बेर महाकाली थुनिएपछि एनएचपिसी डुबानमा परेको स्थानीयको भनाइ छ ।
एनएचपिसी डुबानमा परेपछि केही कर्मचारीभित्रै फसेपछि उनीहरूको सकुशल उद्धार गरेको बुझिएको छ । बाढीले पुर्याएको क्षति र स्थानीयको अवस्था बारे बुझ्न प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।











प्रतिक्रिया