काठमाडौं, २२ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव रहँदा करोडौँको स्वाथ्य सामग्री खरिदमा ‘ओम्नी काण्ड’मार्फत सरकारको बद्नाम गरेर गुन लगाएका सचिव यादव कोइरालाले गृह मन्त्रालयको सचिव ताकेपछि एमालेभित्र खैलाबैला भएको छ ।
तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई असफल बनाउन कोइरालाको ठूलो हात थियो । सचिव कोइरालाले सहयोग नगरेको तथा उचित सल्लाह दिन नसकेकै कारण कोरोना महामारीको पहिलो चरणका बेला मन्त्री ढकाल र सरकार विवादमा परेको थियो ।
कोइरालाको असक्षमताका कारण करोडौँको ओम्नी काण्ड भएको भन्दै एमालेका इमान्दार नेता कार्यकर्ताहरू त्यस बेला ठूलो आक्षेप भोग्नु परेको थियो ।
ओम्नी काण्डले गर्दा प्रधानमन्त्री केपी ओलीको विपक्षी दलहरूले आलोचना गरेका थिए । सरकारविरुद्ध सार्वजनिक रुपमा ओम्नी काण्डमार्फत विभिन्न लाञ्छना र आरोपहरू लागेपछि प्रधानमन्त्री ओलीले नै सरकारको बचाउ गर्दै दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका थिए । सरकारले राम्रो काम गर्दा पनि सचिव कोइराला जस्ता उच्च प्रशासकहरूका कारण बद्नाम हुनु परेको चर्चा छ ।
सचिव कोइरालाले ओम्नी काण्डमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बयान समेत दिएका थिए । उनीविरुद्धको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखा समितिले पठाएको छ । अख्तियारले जुनसुकै बेला सचिव कोइरालालाई बोलाएर बयान लिन सक्ने सार्वजनिक लेखा समितिका तत्कालीन सदस्य एवम् सांसद राजन केसीले बताएका छन् ।
केसीले भने, ‘हामीले अख्तियारलाई लेखेर पठाएका छौँ । अनुसन्धान गर्ने काम अख्तियारको हो । तत्कालीन समयका मन्त्री, सचिव र जिम्मेवार व्यक्तिहरूलाई बोलाएर बयान लिनुपर्छ । कारबाही गर्नुपर्छ । दोषी पाइए भ्रष्टारविरुद्धको मुद्धा चलाउनुपर्छ ।’
कोइराला अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव छन् । दोस्रो चरणको कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानहरू बन्द थिए । त्यस बेला उद्धारको बहानमा ४० हजार पर्ने टिकटलाई सचिव कोइरालाले दुई लाखसम्म मूल्य बढाएर विदेशबाट स्वदेश आउन चाहने नेपालीलाई ‘चुसे’को आरोप छ ।
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको सरुवा हुने चर्चासँगै सबैभन्दा धेरै सलबलाउनेमा कोइराला छन् । गृह सचिव बन्न कोइरालाले एमालेका नेतादेखि नेपाली कांग्रेसका नेताहरूसम्मलाई गुहार्न पुगेको चर्चा सिंहदरबारभित्र छ ।
एमालेका नेता बामदेव गौतमलाई भेटेर कोइरालाले गृह सचिवमा लबिङ गरिदिन अनुरोध गरेको आरोप पनि छ । गौतम गृह मन्त्री बनेका बेला कोइराला ललितपुरका प्रमुख जिल्ला अधिकारी थिए । गौतम र कोइरालाको राम्रो सम्बन्ध छ ।















प्रतिक्रिया