
–प्रेम रौले
बाजुरा, १३ असार । स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा खाद्यान्न सङ्कट देखिएको छ ।
लामो समयसम्म खडेरी तथा कोरोना कहरले सो गाउँमा चरम खाद्यन्न समस्या देखिएको हो । स्थानीयवासी बलबहादुर विकले गाउँमा खाद्यन्न सकिएको जानकारी दिए ।
उनका अनुसार सो गाउँमा करिव चारसय दलित परिवार बसोबास गर्दछन् । उनले भने, “लकडाउनले दैनिक ज्यालमजदुरी गर्न जान सकिएको छैन । गाउँमा रोजगारी पनि छैन । घरमा खाद्यन्न भएको खाद्यन्न पनि सकियो ।”
लामो खडेरीले गहुँ तथा जौ लगायत अन्नबाली सुकेर गएपछि खाद्यान्नको अभाव भएको स्थानीय रामबहादुर विकले जानकारी दिए ।
ती गाउँका अधिकांश युवा कामका लागि भारत जाने गर्दछन् । कोरोना कहरका कारण पछिल्लो समय अधिकांश युवा गाउँ फर्किदा खाद्यन्न समस्या आएको बताइएको छ ।
स्थानीय उत्पादनले एक महिना पछि छाक नटर्ने मुश्किल पर्ने स्थानीयवासी औजनी विकले बताए । अधिकांश परिवार १२ महिना बजारका खाद्यान्नमा निर्भर हुनुपर्ने बाध्यता रहेको उनले जानकारी दिए ।
मुक्तिकोट गाँउमा चरम खाद्य सङ्कट र बालबालिका कुपोषणका चपेटामा रहेको स्वामीकार्तिक गाउँपालिकाका सुचना अधिकारी कुबेर शाहीले बताए । उनले यसबाट बालबालिका, गर्भवती र ज्येष्ठ नागरिक कुपोषणको शिकार बनेको जानकारी दिए ।
बालबालिकाको कुपोषणबाट मृत्यु हुुने गरेको बताइएको छ । गाउँमा चरम खाद्य सङ्कट हुँदा सङ्घीय तथा प्रादेशिक सरकारबाट सहयोग नभएको बताइएको छ । गाउँपालिकाले भने गाउँमा केही खाद्यान्न सहयोग गर्दै आएको जनाएको छ ।
गरिब घर परिवार पहिचान बोर्डले विसं २०७२ मा निकालेको प्रतिवेदनमा सो गाउँपालिकामा ७५ प्रतिशत घरपरिवार गरिबीको रेखामुनि रहेको उल्लेख छ ।
प्रतिवेदनमा गाउँपालिकामा दुई हजार एक सय ८५ परिवार मध्ये एकहजार आठ सय ३८ परिवार चरम गरिबीको रेखामुनि रहेको जनाइएको छ । –रासस















प्रतिक्रिया