बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नुवाकोटमा केसी परिवारले कांग्रेसको ‘नाक’ सिध्याए, अमेरिकामा बबण्डर

दैनिक नेपाल २०७८ जेठ २८ गते १०:४२

नुवाकोट, २८ जेठ । नेपाली कांग्रेसका कन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नुवाकोट जिल्लामा अमेरिकाबाट पठाइएको स्वास्थ्य सामग्रीहरूलाई आफ्नो आमा–बुबाको नाम राखेर वितरण गरेपछि बबण्डर भएको छ ।

कांग्रेस नेता केसीले आफ्ना स्वर्गीय आमाबुबाको नाममा स्थापना गरेको ट्रस्टको नाममा वितरण गरेको सामग्री अर्कै संस्थाको रहेको तथ्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा हँगामा भएको छ ।

नेता केसीले बिहीबार नुवाकोटको तारकेश्वर गाउँपालिका र किस्माङ गाउँपालिकाका स्वास्थ्य चौकीलाई ३–३ वटा १० लिटरको अक्सिजन कन्सेनटेटर, मास्क र स्यानीटाइजर लगायत विभिन्न स्वास्थ्य सामग्री बितरण गरेका थिए ।

यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रस्टका नाममा ती स्वास्थ्य सामग्री बितरण गरिएको थियो । स्वास्थ्य सामग्री वितरण गरेको तस्बिर केसी परिवारहरूले राखेपछि आलोचना भएको छ ।

अमेरिकामा रहेका करीव दुई हजार नेपालीहरूले आफ्नो गास काटेर पठाएको स्वास्थ्य सामग्री केसी परिवारले आफ्नै आमा–बुबाको ट्रस्टमार्फत बितरण गरेपछि अमेरिकामा सहयोग गर्ने नेताहरूका बीचमा तनाव उत्पन्न भएको छ ।

अमेरिका नेपाल फाउण्डेसनले सहयोग स्वरूप पाठएको स्वास्थ्य सामग्री केन्द्रीय सदस्य केसी र उनका भाइहरूले बाँडेपछि नुवाकोट कांग्रेसको नाक भाँच्चिएको भनेर चर्चा शुरु भएको छ ।

अमेरिकामा स्वास्थ्य सामग्रीहरू नेपाल पठाउन सहयोग गर्ने डा.रमेश मरासिनीले केसी परिवारको प्रचारले आफू दुखित भएको बताएका छन् । मरासिनीले आफूहरूको सहयोगको दुरूपयोग भएको बताएका छन् ।

जोन हप्किङ विश्वविद्यालयमा रिसर्च गर्दै आएका मरासिनीले भने, ‘येस्तो कु–प्रचार देखेर हाम्रो सहयोग अवमूल्यन र राजनीतिकरण भएको देखेर मन दुखेको छ ।’

कांग्रेसका केन्द्रीय सदस्य केसीले ट्वीटमा स्वास्थ्य सामग्री बितरण गरेको जानकारी बाँडेपछि वरिष्ठ पत्रकार भुषण दाहालले पनि चिन्ता जनाएका छन् ।

दाहालले भनेका छन्, ‘राष्ट्रलाई आएको वैदेशिक सहयोग त कम से कम आफ्नो वैयक्तिक सम्पत्ति जस्तो गरेर नबाँड्नुस् । हे ! राजनीतिककर्मीहरू हो एक्काइसौं शताब्दीमा जनता पुरातन छैनन् सबै बुझ्ने भैसके ।’

स्वास्थ्य सामग्री वितरण कार्यक्रममा चिकित्सक संघका पूर्व अध्यक्ष डा.केदारनरसिंह केसी र नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वारनरसिंह केसीको पनि उपस्थिति रहेको थियो ।

यसअघि भूकम्पको बेलामा नुवाकोट जिल्लामा पूर्वअर्थमन्त्री डा.रामशरण महतका स्वकीय सचिव रमेश महतले पीडितको नाममा आएको जस्तापाता दुरूपयोग गरेर अन्त्यै लैजान लाग्दा नागरिकले समातेका थिए ।

त्यस बेला महतको त्यो कार्यको स्वयम् केसी परिवारले विरोध गरेका थिए । अहिले केसी परिवारले महतको भन्दा पनि तल्ले तहको राजनीति गरेको भन्दै नुवाकोट कांग्रेसका कार्यकर्ताहरू दिक्क भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित