शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सभामुख सापकोटा र अस्ट्रेलियाका राजदूतबीच शिष्टाचार भेट

दैनिक नेपाल २०७७ फागुन १७ गते २०:५८

काठमाडौँ, १७ फागुन । सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हालेका नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जेन वोकबीच सोमबार शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत वोकलाई सफल कार्यकालको शुभकामना दिए ।

सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच छ दशक लामो कुटनीतिक सम्बन्ध हार्दिक, सुमधुर, बहुआयामिक र नमुनायोग्य रहेको चर्चा गर्दै अस्ट्रेलियाले कोभिड–१९ नियन्त्रणमा हासिल गरेको उपलब्धिप्रति खुसी व्यक्त गरे । उनले अस्ट्रेलियाको १ सय २० वर्ष लामो संघीयता सम्बन्धी असल अभ्यासहरु नेपालका लागि सिकाई हुनसक्ने बताए ।

संघीय संसदमा नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूह रहेको बताउँदै सभामुख सापकोटाले कोभिड नियन्त्रण पछि संसदीय मैत्री समूह थप सक्रिय भई संसद–संसदबीचको सहकार्य थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली विद्यार्थीहरुको ठूलो संख्या अस्ट्रेलियामा उच्च शिक्षाका लागि अध्ययन र रोजगारीमा समेत रहेको बताउँदै उनले यो अवसरका लागि अस्ट्रेलियाली सरकारलाई धन्यवाद ज्ञापन गरे ।

राजदूत वोकले आफ्नो कार्यकालमा नेपालमा व्यापार, लगानी प्रवद्र्धन र संघीयता कार्यान्वयनका लागि सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले आफ्नो देशमा संघीयताको लामो इतिहास भएपनि सिक्ने क्रम जारी रहेको चर्चा गर्दै नेपाल र अस्ट्रेलियाले एक अर्काबाट सिक्नु पर्ने धेरै विषय रहेको बताइन् ।

उनले आफू २० बर्षको उमेरमा नेपाल आएको, त्यसपछि पनि तीन पटक नेपाल घुम्न आएको स्मरण गर्दै अहिले राजदूतका रुपमा आउन पाउँदा खुसी लागेको बताइन् ।

प्रतिक्रिया
सम्बन्धित