शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अविश्वासको प्रस्ताव पास गर्नुस्, मलाई हटाएर देखाउनुस्: प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ फागुन १६ गते १६:५९

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाएर देखाउन चुनौती दिएका छन् ।

आइतबार गृहजिल्ला झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले प्रचण्ड माधव समूहलाई संसदमा अविश्वासको प्रस्ताव पारित गरेर हटाउन चुनौती दिएका हुन् ।

संसद पुनर्स्थापनापछि प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न गरेको प्रस्तावबारे चर्चा गर्दै उनले भने, ‘प्रभु ! संसद पुनर्स्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन । प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्यो । विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ ।’

त्यस्तै, देश विकासको लागि आफूलाई कसैले पनि रोक्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । काँग्रेस र अन्य दलले समेत प्रचण्ड नेपाललाई साथ नदिएको ओलीको भनाइ छ ।

राजीनामा गरिदिनुस् भन्दै आफूसँग हात थाप्न थालेको बताउँदै ओलीले भने, ‘तपाईंहरुले मुद्दा लडेर (संसद) ल्याउनुभएको छ, केपी ओलीलाई हटाएर देखाउनुस् । अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् ।’

उनले अघि भने, ‘पहिले पनि अविश्वास राखेर हटाएको हो, म जनताबाट फर्किएर आएको हुँ । फेरि हटाउन सक्नुभएछ भने जनताबाट दुई तिहाई लिएर आइदिन्छु ।’

प्रतिक्रिया
सम्बन्धित