शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

मलको अभावमा किसानहरु छटपटाउनुपर्दैन: मन्त्री अर्याल

दैनिक नेपाल २०७७ फागुन १४ गते १७:३२

काठमाडौँ, १४ फागुन । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान सेन्टर एकद्वार प्रणली स्थापना गर्ने तयारी गरिएको बताएकी छन् ।

कृषि तथा पशुपंक्षी बिटमा समाचार रिपोर्टिङ गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुसँग आज (शुक्रबार) भेटघाट गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

कृषिको सूचना व्यवस्थित गर्ने सन्दर्भमा किसान सेन्टरमार्फत एकद्वार प्रणाली स्थापना गर्ने तयारीमा रहेको मन्त्री अर्यालले बताएकी हुन् ।

‘प्रविधि प्रशारण र प्रविधि हस्तान्तरण महत्वपूर्ण कुरा हो । अहिले जम्मा २० प्रतिशत किसानले मात्र प्रविधिको प्रयोग गर्ने रहेछन्’, मन्त्री अर्यालले भनिन्, ‘प्रविधिको प्रयोग गर्ने किसानहरुको संख्या बढाउँदै जानुपर्छ । हामीले किसान सेन्टर एकद्वार प्रणालीको स्थापना गरेर कृषिको सूचना व्यवस्थापन गर्छौँ ।’

कृषिभित्र रहेको मिलिजुली ठेकेदारी प्रथा, अनुदानमा बेथिती जस्ता बिकृत्तिलाई तोडेर जाने मन्त्री अर्यालले बताइन् । उनले भनिन्, ‘तपाईहरुले बारम्बार उठाउँदै आउनुभएको छ । कृषिमा मिलिजुली, ठेकेदारी प्रथा, अनुदानमा बेथिती जस्ता समस्या रहेका छन् । यति पैसा लगेपछी यति मलाई भन्ने बिकृत्ति तोडेरै छाड्छौ । यसलाई तोडेरै हामी जान्छौ ।’

कालिमाटी फलफूल तथा तरकारी बजारमा देखिएको बेथिती तोड्नका निम्ती कार्यविधि बनाइसकेको भन्दै उनले त्यहाँ देखिएको फोहोर व्यवस्थापन, स्टल व्यवस्थापन र सवारीसाधन व्यवस्थापनमा देखिएका समस्यालाई सिस्टममा ल्याएरै छाड्ने बताइन् । उनले हिजोको कालिमाटी नभएर फरक खालको कालिमाटी देख्न पाउने समेत बताइन् ।

आफूले पदभार ग्रहण गर्दैगर्दा उखु किसानहरुको चर्को समस्या रहेको भन्दै समस्या समाधानका निम्ती के गर्न सकिन्छ भनेर उपायहरु खोज्दै जाँदा सम्बन्धित मन्त्रालय नभएपनि किसानहरुको मर्का समाधान गर्न ३ दिनभित्र निकास निकालेको बताइन् । अहिले धेरै उखु किसानहरुले भुक्तानी पाइसकेको भन्दै यो क्रम बढिरहेको बताइन् ।

मलको समस्या समाधान गर्न दिर्घकालिन रुपमा मलको समस्या समाधान हुनेगरी अगाडी बढेको मन्त्री अर्यालले बताइन् । ‘मलको समस्या आजको समस्याको समाधानसँगै दिर्घकालिन रुपमा के समाधान दिन सकिन्छ भनेर हामी अगाडी बढेका छौ’, मन्त्री अर्यालले भनिन्, ‘अब रासायनिक मलको अभावमा किसानहरु छटपटाउनुपर्दैन । हामी त्यही समस्या समाधान गर्नका निम्ती लागिरहेका छौ ।’

तर खुला सिमानाका कारण भारतबाट मल आउने र त्यसबाट उत्पन्न हुने विकृत्तिलाई तत्काल रोक्न सक्ने अवस्था नभएपनि व्यवस्थित भने गरिने मन्त्री अर्यालको भनाई थियो । मलको समस्या समाधान गर्न सातै प्रदेशमा रासायनिक मलको भण्डार स्थापना गर्नेगरी मन्त्रालय अगाडी बढेको बताइन् ।

इजरायली प्रविधिको कृषि प्रणाली भित्राउन इजरायल सरकारसँग सम्झौता भएर प्राविधिक समिति गठन भइसकेको भन्दै उनले यो वर्ष एक प्रदेशमा यो कार्यक्रम लागु गरिने र बिस्तारै सातै प्रदेशमा बिस्ता गरिने बताइन् । मन्त्रालय किसान सूचिकृत गर्ने तयारी अवस्थामा रहेको समेत उनले बताइन् ।

पशुपंक्षीको क्षेत्रमा नीतिगत रुपमै व्यवस्थित गर्ने बताउदै मन्त्री अर्यालले अण्डा र मासुमा नेपाल आत्मनिभर भयो भनेर छिट्टै घोषणा गर्ने चरणमा रहेको बताइन् । दुधमा पनि नेपालले धेरै राम्रो प्रगती गरेको बताइन् ।

त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव पेमनारायण कँडेलले मन्त्री अर्यालले पदभार ग्रहण गरिसकेपछी मन्त्रालयले गरेका ३ महिनाको उपलब्धी सार्वजनिक गर्ने तयारीमा रहेको बताइन् ।

त्यस अवसरमा बोल्दै एसोसएिशन अफ नेपाली एग्रीकल्चर जर्नलिष्ट (अनाज)का अध्यक्ष किरण आचार्य, पत्रकारहरु मनोज श्रेष्ठ, सुरेश यादव, हरी जोशी, सरला सुवेदी, निर्मला घिमिरे, प्रशान्त खड्का, नविन ढुंगाना लगायतले मन्त्रालयबाट वितरण हुने अनुदान कार्यक्रम व्यवस्थित गर्न, सूचना प्रणाली व्यवस्थित बनाउन, कृषि क्षेत्रमा काम गर्ने पत्रकार तथा सञ्चारमाध्यमका निम्ती क्षमता अभिवृद्धि लगायतका कार्यक्रम बनाउन सुझाब दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित