शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रचण्ड-माधवका सांसदहरु ओलीतिर फर्कँदै

दैनिक नेपाल २०७७ फागुन १४ गते १५:०५


काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड नेपाल पक्षका नेकपा सांसदहरुले पुष्पकमल दाहाल र माधवकुमार नेपालको साथ छाड्न थालेका छन् ।

प्रचण्ड माधव पक्षको नेकपाको विकल्पमा अन्य दलहरुको नेतृत्वमा सरकार गठन गर्न लागेपछि नेकपाको एकताका लागि भन्दै सांसदहरुले साथ छोड्न थालेका हुन् ।

प्रचण्ड माधवको कसरत चित्त नबुझेर ओली पक्षमा सांसद माया ज्ञवाली उभिएकी छन् । ‘हस्ताक्षरको प्रयोग अविश्वास प्रस्तावमा गरियो तर म अहिले ओली पक्षमा छु’, ज्ञवाली भन्छिन्, ‘नेकपा विभाजन र नेकपाको विकल्पमा सरकार खोज्ने नेताको साथ लाग्न सकिएन ।’

मदन भण्डारीसँगै दासढुंगा दुर्घटनामा निधन भएका जीवराज आश्रित पत्नी ज्ञवाली भन्छिन्, ‘यो एकताले नै कम्युनिस्टको सरकार बलियो जनमतमा आएको थियो । तर पार्टीको विकल्पमा सरकार खोज्ने र विभाजनतिर जाने विषय स्वीकार्य छैन ।’

त्यस्तै, यसअघि प्रचण्ड–नेपाल खेमामा रहेका शेरबहादुर तामाङ पनि ओली पक्षमा खुलेका छन् । उनले जनताको बहुदलीय जनवाद, पूर्वएमालेको पक्षमा रहेकाले आफू प्रचण्डको समूहमा जान नसकेको बताए ।

उनले भनेका छन्, ‘विस्तारै पूर्वएमाले एउटा कित्तामा उभिनेछ ।’ त्यतिमात्र होइन नेपाल पक्ष मानिएका लालबाबु पण्डित पनि ओली पक्षमा समेटिने बुझिएको छ ।

नेकपाकै बहुमत हुँदाहुँदै पनि अन्य पार्टीको सरकार बनाउन लागेको भन्दै नेताहरु प्रचण्ड माधवसँग असन्तुष्ट हुन थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित