
काठमाडौं, २२ माघ । आज बिहीबार नेकपाका प्रचण्ड–माधव समूहले देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।
हड्तालका कारण सर्वसाधारणले निजी तथा भाडाका सवारी पर्याप्त चलाउन पाउका छैनन् भने आम सर्वसाधारण हिँडेरै आफ्नो गन्तव्य यात्रा तय गर्न बाध्य बनेका छन् । तर, जुन समूहले बन्द घोषणा गर्यो त्यो समूहका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल भने आफ्नै घोषणाको उल्लंघन गर्दै कार र स्कुटरमा उपत्यका घुमिरहेका छन् ।
आमहड्तालको अनुगमन गर्न निस्किएका दाहाल र नेपालले पैदल हिँड्ने चेष्टा समेत गरेनन् । र, गाडी चढेरै राजधानीका विभिन्न स्थानमा जम्मा भएका कार्यकर्तामाझ ठाँटले पुगिरहेका छन् ।
उनीहरुको बन्दका कारण सर्वसाधारण हिँडेरै आफ्नो गन्तव्यतिर लागिरहेका छन्, कति मानिस घरमै बस्न बाध्य भएका छन् भने हजारौं मानिसहरुले चलिरहेको परीक्षामा समेत सामेल हुन पाइरहेका छैनन् । तर, जनताको नाममा जनविरोधी काम गर्ने प्रचण्ड–माधव भने नेपाल बन्दमा पनि सवारीसाधानमै सयर गरिरहेका हुन् ।
खुमलटारबाट गाडीमा निस्केका प्रचण्ड सातदोबाटो, कोटेश्वर, पुल्चोक हुँदै विभिन्न ठाउँमा आफ्नै गाडीमा गएका छन् । बा. १७ च ३० ७१ को ल्याण्डक्रुजर गाडीमा चढेर प्रचण्डले आम हड्ताल सफल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।
माधव नेपाल भने केही ठाउँमा गाडी र केही ठाउँमा कार्यकर्ताको स्कुटरमा सवार भएर आम हड्तालको अनुमगन तथा धर्नामा सहभागी भएका छन् ।
तर, उनीहरुको यो शैलीलाई आफैंले गरेको बन्दको अवज्ञा गरेको भन्दै आम मानिसले आलोचना गरिरहेका छन् ।
प्रचण्ड–माधव समूहको बन्द अवज्ञा गरेको भन्दै उनीहरुका कार्यकर्ताले बिहीबार बिहानै काठमाडौंको गोंगबुमा सर्वसाधारणको एउटा ट्याक्सीमा आगजनी गरेका छन् अन्य ठाउँमा तोडफोड गरेका छन् ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया