बनेपा, २१ माघ । विभिन्न आपराधिक घटनामा प्रहरी कारबाहीमा परेका ‘गुण्डा नाइके’, ‘डन’को नामले कहलिएका दावा लामा पुनः सलबलाउन थालेका छन् ।
लामा नेपाली कांग्रेसको आन्दोलनमा बाक्लै देखिन थालेका हुन् । लकडाउनका बेला भारत हुँदै सुटुक्क काठमाडौं छिरेका लामा कांग्रेसको आन्दोलनको अग्रभागमा देखिन थालेको काभ्रे कांग्रेसले जनाएको छ । भुम्लु स्थायी घर भएका लामा काठमाडौंमा बस्छन् ।
लामा विभिन्न आपराधको घटनापछि ज्यान बचाउन लुकीछिपी भारतमा बसेका थिए । काठमाडौंमा विभिन्न व्यक्तिहरूको ज्यान लिन सांघातिक आक्रमण गरेको काण्डहरूमा लामा कारबाहीमा परिसकेका छन् ।
काठमाडौंको दरबारमार्ग क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा लामा पटक–पटक पक्राउ परिसकेका छन् । भारतमा पनि प्रहरीले लामालाई नक्कली भारु नोटको कारोबारको आशंकामा पक्राउ गरेको थियो ।
लामालाई प्रहरीले अहिले पनि उच्च निगरानीमा राखेको छ । लामाका हरेक गतिविधिलाई नजिकबाट हेरिरहेको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।
राम्रो छवि बनाउन नसकेका लामाले कांग्रेसका नेताहरूको फेर समातेर छवि सुधार गर्न खोजेको चर्चा काभ्रे कांग्रेसमा छ । लामालाई कांग्रेस नेता एवम् पूर्वमन्त्री शंकर भण्डारी, पूर्वसांसद तीर्थ लामालगायतका समूहले संरक्षण गरेको आरोप छ ।
नेपाल तरुण दल काभ्रेको अध्यक्ष पद कब्जा गरेर बसेका लामा युवाहरूलाई आन्दोलनका कार्यक्रममा सहभागी गराउने गरेका छन् ।
नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले सोमबार देशभरि प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिकको निर्णयविरुद्ध देशभरि विरोध प्रदर्शन गरेको थियो ।
बनेपामा पनि विरोध प्रदर्शन भएको थियो । बनेपाको विरोध प्रदर्शनमा गुण्डा नाइके र डनको उपनामले कहलिएका लामाको चुरीफुरी धेरै थियो । लामाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीलाई एक सयभन्दा धेरै मोटरसाइकलमार्फत स्कर्टिङ गरेर कार्यक्रम स्थलमा पुर्याएका थिए ।
तरुण विभागका प्रमुख समेत रहेका भण्डारीलाई गुण्डा नाइके लामाले दुई करोडभन्दा धेरै मूल्य पर्ने महँगो गाडीमा राखेर लगेको काभ्रे कांग्रेसका एक नेताले बताए ।
कार्यक्रममा गुण्डा, अपराधी, तस्कर, जुवाडे पृष्ठभूमि भएका नेता र कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । कांग्रेसका एकजना नेताले भने, ‘काभ्रे कांग्रेस गुण्डा, तस्कर, अपराधी, जुवाडेको पार्टी जस्तो भयो । मञ्चमै गुण्डा र तस्करहरू बसेपछि कांग्रेस कसको पार्टी हो भनेर प्रश्न उठेको छ ।’
निष्ठा र ईमान्दारिताको राजनीति गर्दै आएका काभ्रे कांग्रेसका नेताहरू एउटा कुनामा देखिएका थिए । गुण्डा पृष्ठभूमि भएका लामाले कार्यक्रमलाई आफ्नो कब्जामा बनाएपछि ईमान्दार कांग्रेसीहरू दिएक्क भएका थिए ।
लामा विगतमा आपराधिक घटनामा संलग्न रहेपछि आजित बनेको प्रहरीले इन्काउन्टर गर्न खोजेको चर्चा समेत चलेको थियो । त्यस बेला प्रहरी कारबाहीबाट लामा बालबाल बचेको उनी निकटका धुपौरेहरूले बताउने गरेका छन् ।












प्रतिक्रिया