काठमाडौं, १९ माघ । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ २३ गतेको कार्यक्रमले सर्वसाधारणहरूलाई समस्या नहोस् भनेर दरबारमार्गमा आमसभा गर्न लागेको जनाएको छ ।
ओली नेतृत्वको नेकपाले माघ २३ गतेको आमसभा स्थल दरबारमार्ग छनोट गरेपछि आलोचकहरूले विभिन्न खालका आक्षेपहरू लगाएका छन् ।
अघिल्लो पटक पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले भृकुटीमण्डपमा आयोजना गरेको आमसभाले विद्यार्थीको परीक्षा प्रभावित बनेको थियो । धेरै विद्यार्थीले परीक्षण छाड्नु परेको थियो ।
अनेरास्ववियुको अनुरोधमा ओली निकटको नेकपाले आफ्नो आमसभाको स्थान परिवर्तन गरेर दरबारमार्ग लगेको नेकपाले जनाएको छ । प्रदर्शनीमार्ग सबैभन्दा व्यस्त ठाउँ पनि हो ।
सो क्षेत्रमा पाँच वटा क्याम्पसहरू छन् । सर्वसाधारणको आवत जावत पनि धेरै हुन भएकाले सकेसम्म कम समस्या होस् भनेर दरबारमार्गमा आमसभा हुन लागेको छ ।
‘प्रदर्शनी मार्गका क्याम्पसहरूमा सञ्चालित परीक्षामा सहभागी हुने परिक्षार्थीको हितलाई मध्यनजर गरेर आमसभा दरबारमार्ग लगिएको छ’, नेकपाले जनाएको छ ।
‘आमसभामा उपस्थित हुने जनमासको सहज व्यवस्थापनको लागि उपयुक्त खुल्ला स्थानको खोजी गरेर दरबारमार्गमा पुगेका छौँ’, एक नेताले भनेका छन् ।
‘काठमाडौंको ट्राफिक ब्यवस्थापनको सहजता, जहाँबाट सार्वजनिक रुटका गाडीहरूको कम प्रवाह हुने गर्छ, जसले गर्दा सर्वसाधारण जनतालाई कम असर पर्छ सोही कारण दरबारमार्गमा आमसभा गर्न लागिएको छ’, नेकपाले भनेको छ ।
प्रचण्ड–माधव नेतृत्वको नेकपाले केही दिनअघि प्रदर्शनीमार्गमा गरेको प्रदर्शनबाट परीक्षार्थीमा परेको मार पुनः नदोहो¥याउन ओली समूहले आमसभा स्थल परिवर्तन गरेको छ ।
सोही ठाउँमा सभा नगर्न, सभास्थल परिवर्तन गर्न अनेरास्ववियुले नेकपाको नेतृत्वलाई गम्भीरता पूर्वक ध्यानाकर्षण गराएको थियो ।
अनेरास्ववियुको अनुरोधलाई स्वीकार गर्दै नयाँ ठाउँमा कार्यक्रम आयोजना गर्ने निर्णय भएको अनेरास्ववियुले जनाएको छ ।











प्रतिक्रिया