
काठमाडौँ, १६ माघ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कलंकी कृषि तथा तरकारी बजारको उद्घाटन गरेकी छन् ।
आज कलंकीस्थित उक्त कृषि बजारमा आयोजीत औपचारिक कार्यक्रममा मन्त्री अर्यालले उक्त बजारको उद्घाटन गरेकी हुन् ।
सहिद दिवसको अवसरमा आयोजीत उक्त कार्यक्रममा मन्त्री अर्यालले जहानीय राणा शासनकालमा जनताको पक्षमा लड्नेक्रममा ज्यानको आहुती दिने सहिदको तस्विरमा माल्यार्पण गरेकी थिइन् ।
सहिदको तस्विरमा माल्यार्पण गर्दै उहाँले तत्कालिन समयमा जनताका पक्षमा आवाज उठाउने क्रममा बलिदानी दिने बीर सहिद तथा सम्पूर्ण सहिदहरुको योगदानकै कारण अहिलेको अवस्था सिर्जना भएको बताएकी थिइन् ।
‘सहिदहरुले परिवर्तनका निम्ती आफ्नो जीवनको आहुती दिनुभएको । तात्किालिन समयमा जनताका आवाज बोल्ने जनताका अगुवालाई तत्कालिन शासकहरुले निर्ममतापूर्वक हत्या गरेको थियो छ’, मन्त्री अर्यालले भनिन्, ‘उहाँहरुको बलिदानीपछि मूलुकले क्रमशः धेरै राज्यसत्ता परिवर्तन गर्दै जनताको जीवनको सुधार, मुलुकको समृद्धिको दिशामा अगाडी बढिरहेको छैन ।’
‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मूल नारासहित सरकारको दिर्घकालिन लक्ष्यलाई पुरा गर्नका निम्ती सरकार लागिरहेको बताउँदै उनले किसानले उत्पादन गरेको उत्पादित वस्तुको बजारको सुनिश्चितता गरिदिन यस्ता बजारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।
गरेर होइन ठगेर खाने मानसिकताबाट नेपाली समाज लामो समय प्रताडित बनेको बताउदै उनले समृद्ध जीवन बनाउनका निम्ती अब हरेक क्षेत्रमा गरेर खाने सोचको विकास गर्नुपर्ने बताइन् ।
‘यो जमाना श्रमलाई सम्मान गर्ने जमाना हो । श्रमसँग जोडिदै श्रमसँग जोडिएका उत्पादक किसानलाई सम्मान गर्ने जमाना हो । चौतारीमा बस्ने, टालटुल गर्ने, ठगठाग गर्ने जमाना गए’, मन्त्री अर्यालले भनिन्, ‘गरेर खाने प्रवृत्तिको विकास गर्नका निम्ती सबै युवाहरु लाग्न आवश्यक छ । तपाईहरुले सिधै उत्पादक किसानहरुसँग सम्बन्ध राख्नुस् ।’
अहिले उत्पादनको समस्या नभएको भन्दै उनले उत्पादित वस्तुले बजार पाउदैन की भन्ने समस्या रहेको उल्लेख गरिन् । बजारको समस्याको अन्त्य गर्नका निम्ती जमिनको चक्लाबन्दी गरी ठूलो परिमाणमा उत्पादन बढाउनुपर्ने उनको भनाई थियो ।
‘एकजनाले मात्रै उत्पादन गर्दा बजार खोज्दै हुनुपर्ने अवस्था हुन्छ । हामीले सामुहिकतामा चक्लाबन्दी मोडेलमा ठूल्ठूलो मोडेलमा तरकारी, फलफूल उत्पादन ग¥यौं भने यस्ता बजारहरु तपाईहरुको गाउँमा आफै खोज्दै आउछ’, उनले भनिन्, ‘तपाईहरुले उत्पादन गर्नुस्, कृषि मन्त्रालयले तपाईहरुको गाउँमा संकलन केन्द्र दिन्छ । त्यो गाउँमा संकलन गर्ने, त्यहाँ यस्तै बजारहरु पुग्छन् र बजारतिर पठाउने ।’ कम्तिमा पनि यस्ता सय वटा बजारलाई पुग्नेगरी ठूला परिणाममा उत्पादन गर्नुपर्ने उनको भनाई थियो ।
राजनीतिक दलहरुले पनि पार्टीहरुले विचार सँगै जनतालाई गरिखान सिकाउनुपर्ने भन्दै उनले यही बाटोबाट नै सरकारले लिएको लक्ष्य पुरा हुने बताइन् । त्यसका निम्ती यान्त्रिकीकरणलाई जोड दिदै अगाडी बढ्न समेत मन्त्री अर्यालले आग्रह गरिन् ।
उनले भनिन्, ‘ठूला परिमाणमा उत्पादन गर्न अब मानवश्रमले मात्रै सकिदैन । त्यसैले यान्त्रिकीकरणमा जानुपर्छ । औजारहरुको प्रयोग गरेर ठूल्ठूला स्केलमा उत्पादन गरी बजारको ग्यारेन्टी गर्नेगरी सरकार अगाडी बढेको छ ।’
कलंकी कृषि बजारमा हाल ११५ वटा स्टल रहेका छन् । आगामी दिनमा त्यसलाई अझ बिस्तार गर्दै जाने उनको भनाई थियो ।















प्रतिक्रिया