
काठमाडौँ, १६ माघ । नेकपाका केपी शर्मा ओली पक्षीका नेता सुवासचन्द्र नेम्वाङले नेकपाको आधिकारिता टुंगो लागिसकेको बताएका छन् ।
शुक्रबार निवार्चन आयोगले नेकपाका दुवै पक्षका नेताहरुलाई छलफलका लागि बोलाएको थियो । छलफलमा सहभागी भएर बाहिरिने क्रममा नेता नेम्बाङले आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको बताएका हुन् ।
कान्तिपथ आयोगको कार्यालय पुगेका नेम्वाङले बाहिरिने क्रममा ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको प्रतिक्रिया दिएका छन् ।
नेम्वाङले भने, ‘आधिकारिकताको सम्वन्धमा निर्वाचन आयोगले निर्णय गरिसकेको छ । त्यो कुरा हामी सबैलाई सम्झना हुनुपर्छ । त्यही आधिकारिकताको निर्णयको जगमा उभिएर यो सम्पूर्ण प्रकृया अगाडी बढिरहेको छ र बढ्छ ।’
उनले निर्वाचन आयोगको भनाइअनुसार निर्वाचन गर्न पर्याप्त समय समेत रहेको भन्दै ८४ दिन भए पुग्नेमा त्यो भन्दा धेरै दिन रहेकाले तोकिएकै मितिमा निर्वाचन हुने बताए ।
‘त्यही अनुसार दल दर्ता प्रक्रिया अघि बढ्छ । जहाँसम्म यहाँहरुले को कसरी जाने भन्नेमा उपयुक्त समयमा निर्णय गरेर जान्छौँ,’ नेम्वाङको भनाइ छ ।
त्यस्तै, उनले तोकिएको समय वैशाख १७ र २७ गतेमा नै निर्वाचन हुने पनि बताएका छन् । ‘प्रधानमन्त्री केपी ओलीको पनि यही भनाइ छ । हामीले सोही कुरा आयोगमा पनि राख्यौँ । अदालतमा मुद्दा परेकाले स्टे अर्डर जारिगरेको छैन । यो परिपेक्षमा हामी सबैको बुझाइ कुनै स्टे अर्डर जारी नभएको बेलामा निर्वाचनसम्बन्धी कार्यक्रम तदारुकताका साथ अघि बढाउनुपर्छ । अदालतले अन्यथा आदेश दिए बेग्लै कुरा हो,’ नेम्वाङले भने ।
आधिकारिकताबारे थप प्रष्ट पार्दै उनले भने, ‘हाम्रो बुझाइमा हामी आधिकारिक हौ भन्नेमा हामीलाई विश्वास छ । केही साथीहरुलाई हामी आधिकारिक हौँ भन्ने उहाँहरुको बुझाइ छ । यो प्रक्रियाबाट टुंगिसकेको विषय भएकाले त्यही जगमा उभिएर हामी अगाडि बढ्दैछौँ । अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै कुरा टुंगो लाग्छ ।’















प्रतिक्रिया