काठमाडौँ, १५ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
आयोगले छलफलमा सहभागी हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल पक्षलाई छुट्टाछुट्टै पत्र लेखेको छ ।
आयोगले दुवै पक्षलाई माघ १६ शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाइएको छ ।
उनीहरुलाई मुख्यत २ विषयमा छलफल गर्न बोलाइएको बताइएको छ ।
आयोगले निर्वाचनका लागि दल दर्ताका विषयमा र निर्वाचनको तयारीका सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई बोलाएको हो ।
सरकारले पुस ५ गते संसद विघटन गरेसँगै नेकपामा राजनीतिक विभाजन भएको छ । ओली र प्रचण्ड माधव पक्षले आआफ्नै पक्ष आधिकारिक भएको दावी गर्दै आएकोमा निर्वाचन आयोगले दुवैको दावी अस्वीकार गरेको छ ।
त्यस्तै, नेकपा उपाध्यक्ष वामदेव गौतमले भने पार्टी एकताका लागि अभियान घोषणा गरेका छन् । यस्तो बेलामा आयोगले दुवै पक्षलाई छलफलमा बोलाउनुलाई महत्वका साथ हेरिएको छ ।