११ कार्तिक २०८३, बुधबार

नर्भिकमा क्याल्सियम भरिएको मुटुको नशाको बिना शल्यक्रिया उपचार, नेपालकै पहिलो घटना

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ । मुटुको नशामा अधिक क्याल्सियम भरिएर समस्यामा परेका बिरामीहरुको बिनाचिरफार उपचार हुने अत्याधुनिक प्रविधि नेपालमै सुरु भएको  छ ।

मुटु रोगको उपचारमा विशेष ख्याति कमाएको देशको अग्रणी र अन्तराष्ट्रिय स्तरको अस्पताल, नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले  यूरोप/अमेरिकामा मात्र संभव प्रविधि प्रयोग गरी एक बिरामीको सफल उपचार  गरेका हुन् ।

नर्भिक अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ यादवकुमार भट्ट नेतृत्वको  टिमले अधिक क्याल्सियमका कारण बन्द भएको मुटुको नशा बिनाचिरफार खुलाउने विशेष खालको शल्यक्रिया गरेको हो । यस्तो शल्यक्रिया नेपालमै पहिलोपटक भएको हो ।

एक ८० वर्षीय बिरामीलाई डा. भट्ट नेतृत्वको टिमले अल्ट्रासाउण्डिङ वेभको  साहाराबाट नशामा भरिएको क्याल्सिम फुटाएर सफल उपचार गरेको हो । ‘मेडिकल भाषामा यो विधिलाई हामी इन्ट्राभास्कुलर लिथोट्रिस्पी अर्थात आइभिएल  भन्छौं ।’ डा. भट्टले भने–‘जसरी किड्नी वा पिसाब थैलीमा बनेको ढुंगालाई बिनाचिरफार वेभको मद्धतले फुटाएर बाहिर निकाल्ने काम गरिन्छ, मुटुको  एन्जियोप्लाष्टीमा पनि हामीले यस्तै खालको प्रविधि अपनाएर सफल उपचार  गरेका हौं ।’

यो प्रविधिमा सानो बेलुनको सहायताले च्यापिएको नशालाई खोल्ने र वेभको  माध्यमबाट त्यहाँको क्याल्सियम चकनाचुर पार्ने काम गरिन्छ । ‘यो प्रविधिबाट स्वदेशमा उपचार संभव नहुँदा धेरै बिरामी विदेश जानुपर्ने  बाध्यता थियो, तर अब त्यो बाध्यताको हामीले अन्त गरेका छौं ।’

नर्भिकको  कार्डियोलोजी विभागका डाइरेक्टर समेत रहेका डा. भट्ट भन्छन्, ‘यो  प्रविधिको उपचार मुटुको नशामा क्याल्यिसम भरिएका बिरामीलाई मात्र काम  लाग्छ ।’

नेपालमा मुटुको नशा च्यापिँदा त्यसलाई खोलेर स्टेन राख्ने प्रविधि अर्थात एन्जियोप्लाष्टीको उपचार समेत डा. भट्टले नै सुरुवात गरेका थिए । संयोग  नै मान्नुपर्छ, निकै अत्याधुनिक उपचार विधि मानिने आइभिएल पनि उनैले सुरु  गरेका छन् ।

यो प्राविधिक रुपमा निकै जटिल खालको उपचार विधि पनि हो । भट्ट नेतृत्वको  ५ डाक्टरसहित १० जनाको टिमले डेढ घण्टा लगाएर नेपालमै पहिलोपटक आइभिएल प्रविधिबाट एन्जियोप्लाष्टीको काम गरेको हो ।

यो प्रविधि नहुँदा  क्याल्सियम भरिएको मुटुको नशा खुलाउन पनि बाइपास सर्जरी गर्नुपर्ने  बाध्यता हुन्थ्यो, आधुनिक प्रविधिको सफलतमा प्रयोगबाट अब नेपालमा पनि  बिनाचिरफार उपचार संभव भएको हो ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले मुटुको अत्याधुनिक शल्यक्रियामा अस्पतालले निकै महत्वपूर्ण सफलता हासिल गरेको  उल्लेख गर्दै यसबाट विदेश जानुपर्ने बाध्यता अन्त भएको बताए ।

‘अन्तर्राष्ट्रिय स्तरका अस्पतालका डाक्टर झै हाम्रा चिकित्सकहरु पनि उत्तिकै सक्षम छन् भन्ने उदाहरण पनि हो यो ।’ उनले भने –‘मुटु रोगको उपचारमा विशेष योगदान गर्दै आएको नर्भिकले भविष्यमा अन्य यस्ता आधुनिक  प्रविधि समेत भित्र्याउँदै जानेछ ।’