११ कार्तिक २०८३, बुधबार

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कोन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानीय तह तथा विभिन्न सङ्घ संस्थासँगको समन्वयमा सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमा टल्कने ट्राफिक कोन राखेको छ ।

महाशाखाले काठमाडौँ उपत्यकाको चक्रपथभित्र आठ तथा चक्रपथ बाहिरका २६ स्थान गरी बढी दुर्घटना हुने ३३ स्थानसमेत पहिचान गरेको छ ।

ती स्थानका सडकमा विशेष गरी रातको समयमा सडकबत्ती नहुँदा अँध्यारोका कारण जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्ने पैदलयात्री र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले तीव्र गतिका कारण हुने दुर्घटना न्यूनीकरण गर्न बढी दुर्घटना हुने स्थानमा रातको समयमा समेत टल्कने कोनद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस्ता कोन उपत्यकाको विभिन्न सडकखण्डमा ४३० थान राखिएको छ ।

एयरपोर्ट गेट, कार्गो, तिलगङ्गा, बालकुमारी, भाटभटेनी ओराला, बल्खु चोक, सीतापम्प, खसीबजार, सीतापाइला उकालो, बाफल, सानो भ¥याङ, वनस्थली, बबरमहललगायतको सडकखण्डमा ट्राफिक कोन राखिएको र यसलाई पछिसम्म निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

यसअघि पनि महाशाखाले ललितपुर महानगरपालिकासँग समन्वय गरी यही पुस १३ गते बालकुमारीदेखि सानेपासम्मका विभिन्न १३ स्थानमा २०० थान ट्राफिक कोन राखेको थियो । –रासस