
काठमाडौँ, १३ माघ । सामाजिक सञ्जालमा भाइरल अर्जुन बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बिकलाई माघ ८ गते काठमाडौँको तीनकुनेबाट पक्राउ गरेको हो ।
बिकलाई अपहरण र जबरजस्ती करणी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोली र महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
बिकमाथि उनले १३ वर्षीया किशोरीलाई ४ वर्षसम्म अपहरण गरेको जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
बिकले किशोरीलाई २०७३ जेठ ३० गतेदेखि अपहरण गरेर ०७७ साउन १५ सम्म काठमाडौँ महानगरपालीका वडा नं १० देविनगरस्थित डेरामा नै बन्धक बनाई करणी गरेको अभियोग रहेको प्रहरीले जनाएको छ ।
२४ वर्षीय बिक घोडाघोडी नगरपालिका–२ साँडेपानीका हुन् । केही समय अगाडी छोरोलाई बोकेर आफैँले संघर्ष गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
बिकले छोरो जन्मिएको ४ महिनापछि श्रीमतीले छाडेर गएको बताउँदै आएका थिए । उनको जीवन कथालाई समेटेर म्युजिक भिडियो समेत बनेको छ ।















प्रतिक्रिया