मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा यसरी हुँदैछ निर्वाचनको तयारी

दैनिक नेपाल २०७७ माघ ११ गते २१:५०

काठमाडौँ, ११ माघ । जिल्ला निर्वाचन कार्यालय झापाले आजदेखि स्थानीय तहबाट सहायक नाम दर्ता अधिकारी नियुक्ति गरी अभिमुखीकरण तालीम शुरु गरेको छ ।

सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचन तोकेसँगै कार्यालयले मतदाताको नामावली सङ्कलन तथा अद्यावधिक गर्न र सोका लागि आवश्यक अन्य सबै काम गर्नका लागि प्रत्येक पालिकाबाट तोकिएका नाम दर्ता अधिकारीहरुलाई व्यवस्थित र मर्यादित तरिकाले काम गराउन एक दिवसीय अभिमुखीकरण तालीम प्रदान गरेको हो ।

तालीमको उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण शाहीले उनीहरुलाई काम, कर्तव्य र अधिकारभित्र रहेर आयोगको निर्देशनमा काम गर्न आग्रह गर्दै ऐन र नियमावलीबमोजिम काम भए/नभएको निरीक्षण तथा अनुगमन गरिने बताए

जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसीकुमार नेपालले उनीहरुलाई तालीममा मतदाता नामावलीमा नाम समावेश हुन योग्यता पुगेका व्यक्तिको फोटोसहितको मतदाता नामावली प्रारम्भ, मुत्यु भएका मतदाताहरुको नामावली सूचीबाट हटाउनेलगायत कार्य सिकाइने बताए ।

जिल्लाका १५ वटै पालिकाबाट एक÷एक गरी १५ जनाको उपस्थिति रहेको तालीममा निर्वाचन अधिकारी नेपाल, सहायक प्रजिअ शाही र प्राविधिक विषयमा प्रेम न्यौपाने, मोहन भट्टराईलगायतले सहजीकरण गरेका छन्

विगतमा झापामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र रहेकामा यसपालि तीनवटा मतदानस्थल र दुई मतदानस्थललाई गाभेर एक बनाउनका लागि स्थानीय तह, राजनीतिक दलहरुको आग्रहमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले केन्द्रमा सिफारिस गरेको निर्वाचन अधिकारी नेपालले बताए । –रासस

प्रतिक्रिया
सम्बन्धित