
-शिशिर सिंखडा
चितवन, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १७ गते चितवनको जनसभालाई सम्बोधन गर्न चितवन आउने भएका छन् ।
भरतपुरको केन्द्रिय बस टर्मिनलमा हुने वृहत जनसभालाई सम्बोधन गर्न ओली चितवन आउन लागेका हुन् । आइतबार भरतपुरमा नेकपा सस्थापन पक्षद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत जनसभाको बारेमा जानकारी दिइएको हो । सभामा चितवनका विभिन्न पालिकाहरुबाट ५० हजार भन्दा बढीको सहभागी हुने बताइएको छ ।
सभालाई सम्बोधन गर्नुअघि ओलीले भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्रङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । दिउँसो १२ बजेबाट आमसभा सुरु हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सांसद दिलकुमारी रावल ‘पार्वती’ले पछिल्लो राजनीतिक घटनक्रमबारे प्रधानमन्त्री ओलीले आमसभामा सम्बोधन गर्ने बताइन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले संघिय मन्त्रालयको कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले सिटी हल र सडक विस्तारको शिलान्यास गर्न लागेको बताइन् ।
संघीय सरकारको बजेटमा सघन सहरी विकास आयोजना अन्तर्गत सिटी हल बन्न लागेको हो भने भौतिक योजना मन्त्रालय अन्तर्गत पुल्चोक–गोन्द्रङ सडक विस्तार हुन लागेको हो ।
रावलले केन्द्रिय सरकारबाट विनियोजन भएका आयोजनाको शिलान्यास प्रधानमन्त्रीले गर्नुलाई अन्यथा लिन आवश्यक नरहेको बताइन् ।
तीन वटै सरकारसँग समन्वयन गरेर सरकार अघि बढीरहेको बताउँदै उनले यसलाई कसैको प्रतिष्ठाको विषय बनाउन आवाश्यक नरहेको प्रष्ट पारिन् ।















प्रतिक्रिया