शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कुनैपनि हालतमा म पार्टी फुट्न दिन्नँ : नेता नेपाल

दैनिक नेपाल २०७७ मंसिर ११ गते १६:१८

बारा, ११ मंसिर । नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई फुट्न नदिने बताएका छन् ।

उनले भने, ‘नेकपा फुट्दैन, कसैले फुटाउन सक्दैन र म कुनै पनी हालतमा पार्टी फुट्न दिन्नँ ।’

पुष्पलाल स्मृति प्रतिष्ठान बारा शाखाको सिमरामा आयोजित घोषणा कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले भने, ‘नेकपालाई कसैले पनि फुटाउन सक्दैन र म फुटाउन पनि दिन्नँ तर कसैले दम्भ गर्छ भने त्यो स्वीकार्य पनि छैन ।’

उनले पार्टीभित्र विधि र पद्धतिको संस्कार स्थापित गर्न आफू लागिपरेको उल्लेख गर्दै कसैले दिएको धम्कीले नडराउने बताए । पार्टी विधि र पद्धतिमा चल्नुपर्छ भन्ने मेरो मान्यता हो त्यसै अनुरुप सबै अगाडि बढ्नुपर्छ भन्ने उनको भनाइ थियो ।

पार्टी भित्र देखिएका समस्याहरु विधिवत रुपमा छलफलको माध्यमबाट समाधान गरिनुपर्ने उनको भनाइ छ । तर कसैले पार्टी फुटाउने धम्की दिन्छ भने त्यो स्वीकार्य छैन पार्टीमा सबै नेताको समान अधिकार र योगदान छ ।

सबैले एकअर्काको योगदानको कदर गर्नुपर्छ नेता नेपालको कथन थियो । नेता नेपालले बारा, पर्सा र रौतहटमा पार्टी निर्माणमा स्वर्गीय पुष्पलालको ठूलो योगदान रहेको चर्चा गरेका थिए ।

बारा शाखाका संयोजक पलट चौधरीको अध्यक्षतामा र मनोज पौडेलको सहजीकरणमा सम्पन्न बैठकमा नेकपा प्रदेश नम्बर २ का सह इन्चार्ज नागेन्द्र चौधरी, पूर्व मन्त्री पुरुषोत्तम पौडेल, नेकपा केन्द्रीय सदस्य दिनेश राई, नेकपा बाराका सचिव सुन्दर बहादुर विश्वकर्मा, पुष्पलाल स्मृति प्रतिष्ठान प्रदेश नम्बर २ का सचिव कमलेश झा लगायतको उपस्थिति रहेको थियो । पलट चौधरीको संयोजकत्वमा गठन गरिएको ४१ सदस्यीय जिल्ला शाखाको घोषणा गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित