
काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समस्यामा परेका बेला सरकारले क्षमता र दक्षता हेर्नुपर्ने बताएका छन् ।
बालुवाटारबाट बिहिबार उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ को समस्यामा परेका निजी क्षेत्रले सरकारको क्षमता हेर्नुपर्ने बताएका हुन् । उनले यस्तो बेला सरकारबाट ठूलो आर्थिक सहयोगको अपेक्षा गर्ने भन्दा पनि सरकारको क्षमता हेर्नुपर्ने बताए ।
‘कोभिड–१९ को समस्यामा परेका उद्योग व्यवसायी साथीहरुलाई लाग्ला समस्यामा सरकारले सहयोग गरेन, ठूलो आर्थिक सहयोग गरेन । तर यहाँ सरकारकै अवस्था नाजुक छ । भए त सहयोग गर्ने हो, नभए के गर्ने ? कसले कति गर्यो र के गर्यो भन्ने भन्दा पनि आफ्नो क्षमता र दक्षता अनुसार सहयोग गर्ने हो । जे गरेको छ सरकारले आफ्नो गछेअनुसार गरेको छ । यसबाट सन्तुष्टि मान्नुपर्छ’ प्रधानमन्त्री ओली भने ।
‘उद्योग क्षेत्रलाई सरकारले किन सपोर्ट गर्न सकेन ? पैसा किन दिन सकेन ? भनेर प्रश्न गर्न सकिन्छ । तर हामीले गछेअनुसार सहयोग गर्ने हो । हामीसँग सेभिङ्ग कति र योग्यता क्षमता कति छ त्यो हेर्नुपर्छ । हामीसँग प्रयाप्त स्रोतहरु छैनन्, त्यसैले ठूलो आर्थिक सहयोग गर्न सकेनौं । तर जेजति छ, त्यसबाट सरकारले सकेको सहयोग गरेको छ । यसबाट सन्तुष्टि मान्नुस् ।
हामी भन्दा ठूलठूला अर्थतन्त्र भएका मुलुकहरुसमेत कोभिडका कारण खस्केका छन् । ठूलो आर्थिक सामाजिकसहित मानवीय क्षति समेत व्यहोरेका छन् । भलै तुलनात्मक रुपमा हामीले कम क्षति व्यहोरेका छौं । यो मानेमा कोभिड १९ नियन्त्रण तथा क्षति न्यूनिकरणमा सरकार सफल छ । समयमै हामीले कोभिड नियन्त्रण तथा व्यवस्थापनमा नलागेका भए नसोचेको परिणाम व्यहोर्नुपथ्र्यो । तर त्यस्तै अवस्था आएन’ प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै, प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पनासहित सरकार तिव्र आर्थिक वृद्धिको गतिमा अघि बढेकोमा कोभिडले केही समस्यामा पारेको बताए ।
८ं.५ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखिएकोमा कोभिडका कारण शून्यमा झर्ने स्थिगित आएको बताउँदै प्रधानमन्त्री ओलीले खस्केको मुलुकको अर्थतन्त्र उठाउन सरकार, निजी क्षेत्र, व्यक्ति विशेष तथा प्रादेशिक तथा स्थानीय तहहरुसमेत मिलिर अघि बढ्नुपर्ने बताए ।















प्रतिक्रिया