
काठमाडौँ, १० मंसिर । महोत्तरीको बर्दिबासमा ६ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर दुई दिनदेखि भएको आन्दोलन चार बुँदे सहमतिसँगैस्थगित भएको छ ।
बालिकाको न्यायका लागि गरिएको प्रदर्शनमा प्रहरीको गोली लागि मृत्यु भएका संजय भनिने बुद्धिराज न्यौपानेलाई शहीद घोषणा गर्ने सहित र्सवपक्षीय समितिसंग सहमति पश्चात आन्दोलन रोकिएको हो ।
वुधवार गठित सर्वदलीय समितिसँगको वार्तामा सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जनाएका छन् ।
वार्तामा बर्दिबासमा भएको ६ वर्षीय बालिकाको हत्याबारे सत्यतथ्य निष्पक्ष छानविन तथा अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारवाही गर्ने, प्रदर्शनको क्रममा घाइते भएकाहरूको उपचार सरकारले गर्ने तथा मृतक बालिकाको परिवारलाई उचित क्षतिपूर्ति लागि गृह मन्त्रालयबाट नेपाल सरकारलाई अनुरोध जिल्ला प्रशासन कार्यालय महोत्तरीले गर्ने सहमति भएको हो । यो सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित भएका हुन् ।
त्यस्तै, प्रहरीले गोली चलाएकाले मृत्यु भएका वा घाइते भएको प्रकरणबारे पनि छानबिन गर्ने सहमति भएको बताइएको छ ।
सहमति भएपनि आन्दोलन रोकिनेमा भने आशंका व्यक्त गरिएको छ ।
बर्दिबास वडा नम्बर १४ स्थित शुभम् वस्तीमा बस्ने शहिद खातुनका ६ वर्षीया छोरी गुलाबसा खातुनको बलात्कारपछि हत्या भएको आशंकामा दुई दिन देखि कडा आन्दोलन हुँदै आएको थियो ।
बालिकाको हत्याको विरोधमा मंगलवार बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा स्थानीय संजय न्यौपानेको मृत्यु भएको थियो । त्यसपछि स्थानीय झनै आक्रोशित बनेका थिए ।
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि पनि प्रदर्शन गरिएको थियो ।
हालसम्म बालिकाको पोस्टमार्टम रिपोर्ट आएको छैन । शव ढिलो गरी आएकाले रिपोर्ट आउन केही दिन लाग्ने चिकित्सिकले बताएका छन् ।















प्रतिक्रिया