शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

स्पन्दनको त्यो क्रमिकता

वीवी श्रेष्ठ २०७७ भदौ २७ गते ९:१४

वीवी श्रेष्ठ

सुस्केराको गति निरन्तर बढीरहेपनि यसको क्रम रोकिन सकेन । लाग्दथ्यो, जीवन आफैमा बोझ शिवाय केहि होइन, सोँचको खण्डीकरणलाई चिर्न नसक्दा त्यसले दिने मानसिक तनाव रोगभन्दा खतरनाक बन्ने रहेछ । स्पन्दनको परिदृश्यमा देखिने सपना र कल्पनाले पूर्णताका आशमा गरिने परिणाम विहीन कर्म सधै धमलिएर गइदियो । यहि पेरिफेरिमा जीवनका उर्वर उमेरले नेटो काटेको पत्तै भएन ।

अत्यास र छटपटिएको पलले लाग्दथ्यो, सुःख र सन्तोषका सास त केवल धर्तीबाट सासविहीन भएपछि मात्र प्राप्त हुनेछ । आखिर किन यति धेरै सोँचको दरिद्रता ? मस्तिष्कमा घोत्लिने शिराहरू किन मानवको वंशमा हुँदैन कि वंशमा राख्ने प्रयत्न आम मान्छेले गर्न सक्र्दैन ? वाह्य अंगहरू नै परिचालन गर्ने अदृश्य शक्ति बोकेको मानसपटल किन यति धेरै तरल रहन्छ ? वर्षे भेलको त्यो डरलाग्दो आँधी जस्तो चेतनशून्य परिधिले किन मानवजातिलाई सधै बन्धक बनाइरहन्छ ? धर्तीको चक्र निरन्तर चलिरहयो, त्यसैगरि नकारात्मक तत्वको निरन्तरता पनि सधै बनिदियो । यहि निरन्तरताको वर्षामा छोपिएको पलहरू त्यसमा नै समाहित बनिदियो । लाग्दछ, मानव जाति यति धेरै अशान्ति र स्वार्थतामा किन बहकिन्छ होला ? मानव जातिको मुख्य उद्येश्य के हो ? सारमा यसको अर्थविहीनतामा जीवन घिस्रिरहँदासम्म पृथक जीवनको कल्पना भनेको सम्भव नहुने रहेछ ।

पलपलमा सोँचमा आउने तरलता, समयको गति सँगै विलिन भएर कृष्ठामात्र राज गर्ने रहेछ । यहि नै आम जीवनको मूलमन्त्र रहेछ, जुन आमाले अंगालेको हुन्छ । यति धेरै तरलतामा प्रकृतिको त्यो अनुपमताको महत्व बुझन नसक्नु भनेको जीवनप्रतिको धोका मात्र रहेछ । साधनमा मात्र रम्ने प्रवृत्तिमा हुर्किएको मानव जाति संसारका अन्य जीव जन्तुको जीवनप्रति किन सम्वेदनशील बन्न सक्दैन । प्रकृतिको आयामलाई किन नियाल्न सक्दैन ? साध्य विनाको जीवनमा लतारिने अभिप्रायलाई किन आत्मासात गर्ने प्रयत्न गरिहनेछ ?

आवश्यकताको चरम आपूर्तिलाई जीवन ठान्नेहरूको भीडमा जब व्यक्ति हराउन थाल्दछ, तब जीवनमा अशान्तिको विजारोपण हुने रहेछ । सारमा जीवन र प्रकृतिको व्याख्यातामा सामिप्यता ल्याउने प्रयत्न गर्न सकिदैन, त्यसले दिने नतिजा पनि कुष्ठायुक्त जीवन मात्र रहेछ, जुन आम व्यक्तिहरूले व्यतित गरिरहेका छन् ।

न कसैले रोक्न सक्यो, न छेक्न नै । यति धेरै सत्यता प्रकृतिको छटामा रहिरहँदा पनि हामी मानव जातिहरू सृष्टिको निरन्तरताको साध्यतामा अभ्यस्त बन्न किन सकेन ? स्वार्थता त केवल जीवनको परिभाषा नै होइन, भन्ने चेतनाको विकास हुँदैन, तबसम्म मस्तिष्कको यो शिरमा असामान्य रक्तसंचार भइरहन्छ, त्यहि असमान्यताको कडीमा हामी भाग्यलाई दोष दिएर उम्कने असफल प्रयत्न गरिरहेका छौँ । आवश्यकताको कुनै सीमा हुँदैन भन्ने भाव आत्मासात गर्न नसक्दा समेत जीवन कदापि सार्थक र पृथक हुन सक्दोरहेनछ । असंख्यको भीडमा बाँच्ने धर्तीका पात्रहरूमध्ये मानव जाति वाहेक अन्य जीव जन्तुहरू पनि प्रकृतिको अनुपमता शीतलता ग्रहण गरिरहँदा हामी किन यति धेरै कुष्ठित मानसिकताले ग्रसित बनिरहेका छौँ ? अहं प्रश्न यहि बनिरहेको छ । वातावरण परिवर्तन भएता पनि प्रकृति सधै आफनै गतिमा बहिरहेको सन्र्दभमा प्रकृतिलाई नै चुनौती र अब्बल सोँच्ने सोँच नै जीवनका घातक पक्ष रहेछ, त्यसलाई नै हामीहरू अंगिकार गर्न प्रतिष्पर्धा गरिरहेका छौँ । क्रियाप्रतिक्रिया समान्य नै भएता पनि त्यो पनि स्वाभाविक हुनपर्ने रहेछ ।

जीवनको विविधताको आयामभित्र स्वाभाविक क्रिया मात्र पाच्य हुन्छ, जुन प्रकृतिसम्मत सहज हुन्छ, त्यो सकारात्मक पक्ष बन्दछ । जुन त्यो विपरित प्रक्रियाबाट अगाडि बढ्दछ, त्यो नकारात्मक पक्ष बन्दछ । मानवग्रन्थीमा सकारात्मक पक्षभन्दा नकारात्मक ग्रन्थीले राज गरेको सन्र्दभमा त्यसलाई चिर्न नसकेको अवस्था नै सोँचको स्वखलित रुप रहेछ । कोण प्रतिकोण र सूत्रको सहि प्रयोग गरेता पनि त्यसको निचोड भनेको त्यसको सार नै हो । जुन हामीहरूले बुझन सकेका हुँदैन, यहि कारण स्पन्दनको त्यो नरमतामा जर्जरताको प्रवेश अवश्यभावी बन्दै गइरहेको छ ।

रातको त्यो निष्पट अन्धकारमा शान्तिको खोजी गर्नेहरू सफल कदापि हुन सक्दैन, त्यो असंख्य भीडमा हराउनु आम भएता पनि खास हुन सक्दैन । यहि शीतलता खोज्नेहरूको कमी नभएको सन्र्दभमा जीवनको सार खोज्ने मुर्खता कमैले गर्लान, यहि प्रक्रियामा संसार चलिरहेको छ र चलिरहनेछ ।

रातको अन्धकारमा होस वा बिहानीको मिर्मिरेमा, घामको निष्पठ तापमा होस वा दिनको अन्त्यमा । प्रक्रियाको त्यो निरन्तरता भनेको प्रकृतिको नियम नै सर्वोपरि हो । प्रकृतिको त्यो सत्यतालाई बुझने प्रयत्न नगर्नु नै मानव जातिको कमजोरी हो, जुन कमजोरी हामीले अनादिकालसम्म गरिरहनेछौँ ।

प्रतिक्रिया
सम्बन्धित