११ कार्तिक २०८३, बुधबार

गण्डकी प्रदेशमा लकडाउन गर्नुपर्ने अवस्था छैनः मुख्यमन्त्री गुरुङ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा, २८ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोरोना भाइरस सङ्क्रमण बढे पनि लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को २१ औँ स्थापना दिवसका अवसरमा आज फोनिज गण्डकीले आयोजना गरेको एक कार्यक्रममा उनले नागरिकस्तरबाट सचेतना अपनाउँदा धेरै हदसम्म सङ्क्रमण नियन्त्रण हुने बताए ।

प्रदेश सरकारले आफ्नै साधन स्रोतबाट कोरोना व्यवस्थापन गरेको बताउँदै मुख्यमन्त्रीले भने, ‘लकडाउन फेरि लगाउनुपर्दछ भन्ने अवाजसमेत उठेको छ तर अहिले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने समय होइन, खोलिसकेको कलकारखाना, निर्माण व्यवसायका काम बन्द गर्ने भनेर सोचेका छैनौँ, हतारो गर्र्नु पनि हुँदैन । हामी सचेत होऔँ त सङ्क्रमण धेरै कम हुन्छ ।’

सत्तारुढ नेकपाका स्थायी कमिटीका सदस्य समेत रहेका मुख्यमन्त्री गुरुङले कोरोना भाइरससँग लडिरहेको अवस्थामा अहिले पार्टीभित्रको भाइरसले दुःख दिएको टिप्पणी गरे । जनताको बीचमा स्थायित्वका लागि गरेको बाचा पूरा गर्न र हालसम्म कुनै पनि सरकारले पाँच वर्ष कार्यकाल पूरा गर्न नसकेको विगतबाट पाठ सिक्दै इतिहास निर्माणका लागिसमेत पाँच वर्ष दायाँ/बायाँ गर्न नहुने उनको भनाइ छ ।

कोभिड-१९ का कारण समस्यामा परेका पत्रकारलाई प्रदेश सरकारले कुनै पनि सहयोग गर्न नसकेको स्वीकार गर्दै मुख्यमन्त्री गुरुङले चालू वर्षमा पत्रकारको सशक्तीकरणका लागि रु ६५ लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।

गण्डकी प्रदेश पर्यटनको मात्र राजधानी नभई यहाँको पत्रकारितासमेत राम्रोसँग चलेको छ भन्ने सन्देश दिनुपर्ने खाँचो उनले औँल्याए ।