-रेखा ओझा
छोरोले सुत्ने बेलामा भन्छ– मामू कथा सुनाइसो न !
प्रत्येक पल्ट ऊ निदाउनुअघि एउटा काल्पनिक कथा बनाएर उसलाई सुनाउनुपर्छ र त्यों कथा सुन्दासुन्दै ऊ निदाउँछ । यो मैले छोरालाई हरेक दिन सुनाउने काल्पनिक कथा हैन, कसैको जीवनमा घटेको वास्तबिक घटना हो ।
ऊ विद्यार्र्थी भिसामा अमेरिका आउँछ । आमा बाबुको एक्लो छोरो, ईञ्जिनियर बनेर बाउ आमाको सपना साकार प‘र्न उसले अमेरिकामा जस्तो सुकै खालका दुःख गर्न पछि पर्दैन ।
हरेक ब्यक्तिको चाहना हुन्छ, पढ़ाई सकेपछि एउटा राम्रो केटी खोज्ने अनि घरबार बसाउने अनि जिन्दगी अगाडि बढाउने । सबैको एउटा सपना हुन्छ । यही सपनाको महल मनमनै बुन्दै अगाडि बढिरहेको उसको भेट एकजना चिनजानको ब्यक्तिसँग हुन्छ। उनले जिसकाउँदै भन्छिन्–
मैले एकजना चिनेको राम्रो केटी छ, बिबाह गर्छौ ?
उसले पनि उत्सुकता देखाउँदै भन्छ– को हो केटी ? कुरा गरेर हेरौं न त ।
मार्क जुकरबर्कÞको क्याफेले आजकल सबैलाई एक अर्कामा जोडिन सजिलो बनाइदिएको छ । पहिला जस्तो केटी हेर्न उनको घरसम्म धाएर पुग्न पनि पर्दैन । बाउ आमाको जमानामा जस्तो परिवारका सदस्य नै लिएर केटी हेर्न जाने अनि अपरिचित ऊनी हातमा चियाको कप बोकेर आउने अनि लुसुक्क आमाको छेउमा बसेर लजाई लजाई केटालाइ हेर्ने जमाना समयसँगै परिवर्तन भइसक्यो ।
उनले पठाइदिएको फेसबुक लिंकको भरमा उसले फ्रेंड रिक्वेस्ट पठायो उनले सजिलै एक्सेप्ट गरिन् ।
अब दुई जनाको वार्तालाप यहीँबाट शुरू भयो ।
उनी नेपालमा अनि केटा अमेरिकामा । सामान्य कुराकानीबाट शुरू भएको उनीहरुको सम्बन्धमा प्रेम कहिले भयो पत्तै भएन । केही महिनाको फेसबुक र फोनमा कुरा भएको भरमा उनीहरु बिबाह गरेर अबको बाँकी जिन्दगी सँगै बिताउने निर्णयमा पुगे ।
केटा बिबाहका लागि अमेरिकाबाट नेपाल पुग्यो । नेपाली ट्रेडीसनल पाराले धूमधामका साथ बिबाह गर्यो । बिबाह सकियो सबै आफन्त आ–आफ्नो घरतिर लागे । उनीहरु आफ्नो कोठातर्फ ।
कोठामा छिरेर एकछिन आराम गर्न नपाई उनकी नव दुलहिले भनिन्– तपाईसँग एउटा इम्पोर्टेन्ट कुरा गर्नुपर्ने थियो कहिले समय नै मिलेन ।
उनले भनिन्– म अस्ट्रेलिया स्टूडेंट भीसामा हैन, डिपेन्डेन्ट भिसामा गएकी थिएँ । अब बिबाह दर्ता गर्न र मेरो अमेरिकाको प्रोसेस गर्न तपाईले पहिला अस्ट्रेलिया गएर मेरो श्रीमानसँग सम्बन्धबिच्छेद गराउनुपर्छ ।
आजै मात्र बिबाह गरेर ल्याएकी नव दुलहीको मुखबाट यो कुरा सुन्दा ऊ एकचोटी छाँगाबाट खसेझैं भयो । आजसम्म ऊ प्रति गरेको बिस्वास माटोमा बिलाएर गयो । एक घन्टा अघिसम्म ऊ सँगै रमाएर जिन्दगी सँगै बिताउने सपना हुरीले उड़ाएर लग्यो ।
केहिछिनको बाद बिबादपछि ऊ रुँदै सुत्यो । भोलिपल्ट बिहान आफन्त र छरछिमेकको अगाडि आफू ु निकै नै खुशी भएको रुन्चे हाँसो देखायो ।
एक मनले उसलाई लाग्यो, आजै यो सबकुरा परिवारको अगाडि राखेर यसलाई यहाँबाट खेदाई दिऊँ । फेरि सोच्यो अहँ हुन्न, यत्रो आफन्त साथीभाईको अगाडि झ्याँइ झ्याँइ बाजा बजाएर ल्याएको छु परिवारको इज्जतको पनि त कुरा आउँछ ।
घर परिवार र समाजको डरले यो सम्बन्धलाई अगाडि बढाउन ऊ बिबश भयो । केटीको मास्टर प्लान अनुसार ऊ केही दिनको नेपाल बसाइ पश्चात श्रीमती भनौ या अर्काको श्रीमतीको साथमा अमेरिका हैन अस्ट्रेलियातर्फ लाग्यो । आफ्नी श्रीमतीलाई अर्कैले भगाइदिएको थाहा पाएर उसको श्रीमानले उसलाई फेसबुक र फोन मार्फÞत बिनाकसुर यती गाली दियो की अहिले सम्झिँदा पनि उसको रगत त्यसै तातेर आउँछ।
पहिलाको श्रीमानसँग सम्बन्धबिच्छेद गराएर अस्ट्रेलियामै फेरि बिबाह गरी श्रीमती अमेरिका त लिएर आयो तर उनीहरुको सम्बन्ध कहिले राम्रो हुन सकेन ।
एकतर्फी कथा सुन्दा मलाई लाग्यो बिचरा ऊ साँच्चिकै पीडित रहेछ यो संसारमा महिला मात्र हैन पुरुष पनि कुनै न कुनै रुपमा पीति हुने रहेछन् । मलाई उसको जीवनको वास्तबिक कहानी सुन्दा कुनै लेखकले कल्पना गरेर लेखेको उपन्यास पढ़े झैं लाग्यो
धोकाबाट शुरू भएको उनीहरुको सम्बन्धमा कहिले घाम लागेन । सँधैको कीच कीच झगड़ा किचलोले गर्दा कहिलेकाँही त पुलिस कल गर्नुपर्ने अवस्थासम्म आयो ।
दुई जनाले पटक–पटक छुटीने डिसीजन गरे तर पारिवारिक दबाबका कारण छुट्टिन गाह्रो भयो । साथीभाई र आफन्तले भबिष्यबाणी गरे– एउटा बच्चा भएपछि तिमीहरुको सम्बन्ध राम्रो बन्नेछ एक अर्कामा बिश्वास र माया पलाउनेछ ।
सबैको सल्लाह मुताबिक उनीहरुले बेबी प्लान गरे । नभन्दै उनीहरुको छोरा जन्मियो तर जन्मिदै बच्चामा पनि मुटुको समस्या देखियो । सँधै अंधेरी रातमा गुज्रीरहेको उनीहरुको जिन्दगी झन् औंसीको रात झैं भयो ।
अब त्यही बच्चाको स्वास्थ्य स्थितिको कारणले झन् झगड़ा दिन दिनै चर्किन थाल्यो अन्ततः उनीहरुको सम्बन्धमा पूर्णबिराम लाग्यो ।
आफ्नो सानो छोरोलाइ चेपेर उनी अमेरिकामा रहेका आफ्नो माइतीको सहारा लिन पुगीन् भने ऊ कहिले यो साथी कहिले त्यों आफन्त भन्दै यताउता छोरोको यादमा भौतारिदै एक्लो जीवन बिताई रहेको छ ।
कÞानुनी रुपमा बैबाहिक सम्बन्धबाट अलग रहे पनि छोरोको कारणले उनीहरु एक अर्काको सम्पर्कबाट टाढा हुन सकेका छैनन् ।
अमेरिकाको कानुनअनुसार बच्चा १८ बर्षको नहुन्जेलसम्म उसका बाबु आमा बच्चाको कारणले गर्दा उनीहरु सँधै एक अर्काको सम्पर्कमा रहीरहनु पर्छ । भलै दुई जनाको सम्बन्ध नराम्रो होस तर बच्चाको लागि बाबु आमाले गर्ने माया र कर्तब्यमा पचास–पचास प्रतिशत अधिकार रहन आउँछ । दुई जना अलग–अलग घरमा बसेता पनि आपसी सहमतिमा डिभोर्स डिग्रीमा लेखिएअनुसार कुन हप्ता बच्चा को सँग बस्ने, बाबुसँग बस्ने या आमासँग बस्ने, कति बजे बच्चा पिकअप गर्ने र कति बजे बच्चा ड्रप गर्दिने त्यों कानुनअनुसार चल्नुपर्छ ।
आफ्नै बच्चा त हो नि आज नभ्याए भोलि लागिदिउँला या केही घण्टापछि लागिदिउँला भनेर आफ्नो मनखुशी चलन यहाँको कानूनले दिँदैन।
आफ्नो हप्ता फलो गर्दै पछिल्लो हप्ता ऊ छोरो लिन गयो ।
आफ्नो बाबालाई परैबाट देखेर खुशी हुँदै, दौडँदै आएको छोराले भन्यो– ला बाबा आईप्याड बिर्सेछु ।
उसले आफ्नो ‘एक्स वाइफ’लाई कल गरेर भन्यो– बाबुले आइप्याड बिर्सेछ ल्याईदेऊ ।
बच्चाको आमाले आइप्याड हातमा ल्याएर दिनको साटो रिसले परैबाट फालीदिइन् छोरालाई लाग्यो, हुरुक्कै भएर रोयो । बाउलाई सही नसक्नु भयो केही नराम्रा गालिका शब्द मुखबाट निस्किए ।
उसको गाली सुन्न नसकी ‘एक्सवाइफ उनीमाथि झम्टिन्, त्यही रिसमा उसले पुलिस बोलाइदियो । पुलिस आएर लिएर गयो फेरि उसलाई बच्चाको मुख हेरेर बच्चाकी आमाको माया लाग्यो केही पेपरवर्क गरेर उसलाई छोड़ीदिन आग्रह गर्यो ।
केही दिन अघि फेसबुकमा चोट नै चोटले भरिएका तस्बीर सहित उसले मेसेज पठायो । मैले आत्तिदै सोधें के भयो ? उसले आफ्नो वास्तबिक कथा सुनायो ।
एकतर्फी कथा सुन्दा मलाई लाग्यो बिचरा ऊ साँच्चिकै पीडित रहेछ यो संसारमा महिला मात्र हैन पुरुष पनि कुनै न कुनै रुपमा पीति हुने रहेछन् । मलाई उसको जीवनको वास्तबिक कहानी सुन्दा कुनै लेखकले कल्पना गरेर लेखेको उपन्यास पढ़े झैं लाग्यो ।