७ मंसिर २०८३, सोमबार

जब बेलायत निवासी नेपाली किशोर शुभाशिषले बनकरियाको अवस्था देखे… 

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । बेलायतमा जन्मिए पनि ओखलढुङ्गा पुख्र्याैली घर हो, शुभाशिष श्रेष्ठको । १६ बर्ष पुग्दै गरेका उनले भर्खरै जिसीएसी अध्ययन सकेका छन् ।

उनी नेपाल र नेपालीबारे अनेक जानकारी लिन्छन् । सोही क्रममा चेपाङको कथा बुझे, हेरे । सहयोग गरेको पनि पाए । हेर्दै जाँदा सानो संख्यामा रहेको बनकरिया जातीलाई खासै सहयोग गरेको पाएनन् ।

उनले राहत संकलन गरे र नेपाल पठाए । मकवानपुर मनोहरा–४ मुसेधापका २१ बनकरिया परिवारलाई उनले पठाएको राहत हस्तान्तरण गरिएको छ ।

‘युट्युवमा नेपाल हेर्दै जाँदा चेपाङ जातीको अबस्था देखें, त्यसपछि अंकल–आन्टीलगायतका सहयोगीहरुको साथ लिएर केही सहयोग गर्न खोज्दा चेपाङ जातीलाई त बरु केही सहयोग पुगेको देखें’, उनी भन्छन्,‘तर बर्षा अनि लकडाउनबीच अभावमा रहेका बनकरिया जातीलाई भने त्यस्तो पुगेको रहेनछ त्यसैले सानो सहयोग गरौ भन्ने लाग्यो ।’

बनकरिया जातीको जम्मा जनसंख्या ४९० मात्र छ ।

खाद्यलगायतका विविध सामग्रीसहितको राहत वितरण गरिएको छ । सो क्रममा शुभाशिस श्रेष्ठका काका जनक शिक्षा सामाग्री केन्द्र, बागमती प्रदेशका प्रमुख रामबिनय श्रेष्ठ र पत्रकार प्रताप बिष्टको संयोजनमा राहत वितरण गरिएको थियो ।

नेपाल प्रहरीका बागमती प्रदेश प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) बसन्त कुमार लामाको प्रमुख आतिथ्यतामा सहयोग सामाग्री हस्तान्तरण भएको हो ।

डिआईजी लामा भन्छन्,‘अरुलाई दिने मान्छेको झन् फलिफाप हुँदै जान्छ, नदिने मान्छे उल्टै सकिदै जान्छ ।’ सो क्रममा उनले आफूसँगै प्रहरी सेवामा प्रबेश गरेर बिचमै सेवा निवृत्त भई परदेशमा रहेका आफ्ना मित्रको छोराले गरेको यो राहत सहयोग हस्तान्तरण गर्न पाउदा एक खुशी लागेको बताए ।

स्थानीय मनोहरा गाउपालिका अध्यक्ष एकराज उप्रेतीले बनकरियाको अर्थ बनमा बसेर काम गर्ने जाती रहेको बताए । बिदेशमा जन्मिएर उतै हुर्किदै गरेका र जुन ठाउँ र व्यक्तिहरु देखेका पनि छैनन्, तैपनि ती नवयुवकको सेवाभाव देखेर आफु असाध्यै प्रभावित भएको पउप्रेतीले बताए ।

कार्यक्रमको संयोजन गरेका रामबिनय श्रेष्ठले भर्खरै स्कुलको पढाई सकेका आफ्ना भतिजले नेपाललाई असाध्यै माया गर्ने गरेको चर्चा गर्दै केही समय अगाडि पोखरामा पनि लक्डाउनको क्रममा काम र मामबाट बन्चित पोखराका परिवारलाई राहत वितरण गरेको स्मरण गरे ।

२ बर्ष अगाडि संस्कृत माबि पोखरामा इ–लाइब्रेरी स्थापना गरेको उल्लेख गर्दै उनले श्रेष्ठ परिवारको तर्फबाट बुवा–आमाको नाममा ठाउँ ठाउँमा इ–लाइब्रेरी स्थापना गरेको कुरा पनि स्मरण गरे ।

स्थानीय सञ्चमाया बनकरियाले यस्तो बाढी र पहिरोबीच पनि जंगलबीचको त्यस अनकन्टार ठाउँमा गएर सामाग्री हस्तान्तरण गर्ने कार्य गरेकामा डिआईजी लामा, एसएसपी सुदिप गिरी, जनक शिक्षा सामाग्री केन्द्रका प्रदेस प्रमुख रामबिनय श्रेष्ठ, पत्रकार प्रताप बिष्ट एबम सम्पूर्ण उपस्थित व्यक्तिहरुमा धन्यबाद ज्ञापन गरिन् ।

सो अवसरमा नेपाल प्रहरीका एसएसपी सुदिप गिरी, स्थानीय वडाध्यक्ष, पत्रकार अनि समाजसेवीहरुको समेत उपस्थिति थियो।

शुभाशिष श्रेष्ठ तिनै बिद्यार्थी हुन्, जसले केही महिना अगाडि भारतले नेपालको लिम्पियाधुरा लिपुलेकमा अतिक्रमण गरेको कुरालाई लिएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेर चर्चामा आएका थिए ।