७ मंसिर २०८३, सोमबार

को हो गगन थापा ? म त चिन्दा पनि चिन्दिनँ : शंशाक कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा । नेपाली कांग्रेसका नेता डा. शंशाक कोइरालाले कांग्रेस एकजुट भएर लडे कसैले हराउन नसक्ने दाबी गरेका छन् ।

उनले कांग्रेसलाई कांग्रेसकै साथीले हराउने गरेको बताए ।

देउवा समूहको रुपन्देही जिल्ला अधिवेशनको आइतबार भैरहवामा उद्घाटन गर्दै डा. कोइरालाले राष्ट्रलाई अगाडि लैजाने पार्टी कांग्रेस नै भएको जिकिर गरे ।

‘लोकतन्त्र आइसक्यो । प्रतिस्पर्धा हुन्छ । अब त राष्ट्रको लागि हामीले सोच्नुपर्‍यो । यो राष्ट्रलाई कसरी अगाडि लिएर लैजाने ? त्यतातिर हाम्रो ध्यान जाँदैन । हाम्रो ध्यान के मा जान्छ कि पैसा कमाउने नत्रभने कुनै ठूलो पदमा जाने । त्यो होइन । पद भनेको विपी कोइराला भन्नुहुन्थ्यो– ‘प्रधानमन्त्रीको पद फाटेको जुत्ता हो । कहिले एउटाले लगाउँछ, फेरि अर्कोले लगाउँछ, मतलब हुँदैन ।‘ प्रधानमन्त्री भएर के गर्‍यो, त्यो महत्वपूर्ण हो’ उनले भने ।

उनले गिरिजाप्रसाद कोइरालाको पालोमा धेरै परिवर्तन भएको बताए । ‘एउटा मेडिकल कलेज थियो, २० वटा मेडिकल कलेज भयो । एउटा युनिर्भसिटी थियो, २० वटा भयो । आकाशमा हवाइजहाजहरु उडे । बाटो बने । ३ वर्षमात्र बस्नुभयो । बीचमा चुनाव भयो उहाँ हट्नुभयो,’ डा. कोइराले भने ।

कांग्रेसको इतिहास र सिद्धान्त बलियो भएको उनको भनाइ थियो ।

‘जति गगन थापाको नाम लिनुहुन्छ, त्यति उहाँको महत्व बढ्छ । त्यसैले नामै नलिनुस् । को हो गगन थापा ? म त चिन्दा पनि चिन्दिनँ, ’ उनले भने ।

उनले धर्म निरपेक्ष हुन्छ र सापेक्ष नहुने बताउँदै धर्म स्वतन्त्र हुने धाणा राखे । ‘यो मेरो बटमलाईन हो । धार्मिक स्वतन्त्रता चाहिन्छ, ’ उनले भने ।

त्यस्तै, कांग्रेसका पूर्वउपसभापति तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले संविधानको रक्षा, सफल कार्यान्यवन र यसलाई दीर्घायू बनाउनुपर्नेमा जोड दिए ।

‘नेपालको इतिहासमा नेपालको संविधान नेपालीले आफै बनाएको यो पहिलोपटक हो । संविधानमा अनेकौं कमीकमजोरी भएका होलान् । संविधान बनाएकोमा हामीले गर्व गर्नुपर्छ । त्यतिबेला संविधान नबनाएको भए के हुन्थ्यो, नेपाललाई दुनियामा असफल राज्य भनिन्थ्यो, ’ उनले भने ।

सुुशील कोइराला प्रधानमन्त्री बनेको बेला र कांग्रेसको सुझबुझले नै संविधान बनेको उनले बताए । ‘संविधानलाई संशोधन गर्नुपर्छ तर, पछाडि फर्कनुहुँदैन, ’ निधिले भने ।

पूर्वमन्त्री तथा नेता एनपी साउदले नेता मुद्दा, परिस्थिति र आवश्यकताले बनाउने बताए । ‘महाधिवेशन चुनौतिपूर्ण अवस्थामा छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टी एकता गर्न चाहँदैन,’ उनले भने ।

पूर्वमन्त्री उमाकान्त चौधरीले कांग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु भएको बताए ।

‘भदौ २४ गते कांग्रेसका नेताको घर छानीछानी आगजनी तथा तोडफोड भयो । हाम्रो नेताको गल्ती के थियो ? त्यतिबेला तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो पद र निजी स्वार्थका लागि हस्ताक्षर अभियान सुरु गर्नुभयो । कांग्रेसको विधानभन्दा अरु ठूलो कोही होइन । विधानअनुसार कांग्रेसको कुनै पदाधिकारीले विशेष महाधिवेशन गर्न पाउँदैन, ’ उनले भने ।